मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
निबन्ध

भुइँकुहिरो र कान्छी तामाङको एक्लो यात्रा

शनिबार, ०६ वैशाख २०८२, १३ : ००
शनिबार, ०६ वैशाख २०८२

अस्पतालको भुइँमा मौन सुस्केरा हालिरहेछ, रातो चाइनिज थर्मस । दस किलोजति सामान अटाउने ठुलो प्लास्टिक झोला उँघिरहेछ छेउमै । झोलामा कोचिएको छ, नयाँ नीलो प्लास्टिकको चप्पल । बाह्रहाते फुस्रो पटुका, ट्याग नै झुन्डिरहेको ऊनको चौबन्दी र अस्पतालको कागजपत्रको फाइल पनि त्यहीँ छ । खाटमा लडिरहेको छ, एक वृद्धा शरीर । 

किरिङमिरिङ रेखाहरूको अतिक्रमणले नछोएको हँसिलो अनुहार । छपक्क बसेको काँससरी कपाल । न्यानोपना हराइनसकेको मुलायम हात । बन्द छन् आँखाहरू । हल्का उघ्रिएका छन् ओठहरू । मनमोहन अस्पतालको तेस्रो तला सुनसान छ । करिडोरको एक कुनामा सलङबलङ गर्दै छन्, केही आफन्त । हरियो पर्दाले छेलिएर उभिएको छ गुड्ने खाट र त्यहीँ ढलेको छ, कान्छी तामाङको चिसो ज्यान । 

मेरा आँखाहरू ससर्ती टिपिरहेछन् यत्रतत्र छरिएका यी र यस्तै विवरण । लाग्छ, केही समयअघि मात्र टुटेको हो उनको श्वासको लय । अनि यो पनि लाग्छ कि मेरो उपस्थिति आफन्त गुमाउँदाको उद्विग्नतारहित एक चिसो औपचारिकता सिवाय केही होइन । त्यसैले त म मृत्युशोकको यस घडीमा पनि झिनामसिना वस्तुस्थितिको दृश्यटिपोटमा व्यस्त छु । 

मान्छेभन्दा नालायक प्राणी त कोही छैन होला यो संसारमा ! जस्तो कि म । म यतिखेर मेरै फुपूको अन्तिम अवस्थाको बेलिविस्तार लगाएर एक लेखक हुनुको अहं प्रदर्शन गर्दै छु । 

खैर, मैले आत्मसात् गर्नैपर्छ, मान्छे हुनुको नितान्त निजीपना । मानवजनित केही विशेषताभित्र पर्ने अकाट्य सत्य म नकार्न सक्दिनँ । तिनै गुणहरूको भारी बोक्ने भरिया जीवन लतार्नु मेरो धर्म हो र बाध्यता पनि । अस्पतालको हरियो पर्दाले हामीबिच सिमाना तोकिदिएको छ । उनी पर्दापछाडि लडेकी छन्, म पर्दाबाहिर ठिङ्ग उभिएकी छु । श्वासको लय छुटेपछि त जिउँदाहरूको माझबाट अलग पर्ने रहेछ मान्छे । बिलकुल अलग बाटाहरू— जीवन र मृत्युको । 

कान्छी तामाङ उर्फ नानदिदीले आफ्नो बाटो समाइन् र भइन् धेरै टाढा, बाँचेकाहरूबाट । उनको श्वासको अन्तिम टुक्राहरूको साक्षी कोही भएनन् सिवाय उनकै खाटछेउ उँघिरहेका थर्मस र झिटिमिटीसहितको एउटा प्लास्टिकको पोका । यतिखेर पनि ती सबै उनकै छेउमा छन्, मानाँै शोकग्रस्त र क्लान्त छन् ती । मान्छे भने अब उनीबाट टाढा छरिइसकेका छन् । 

अचानकै फुस्किजाने श्वासको लय पछ्याउनुपर्ने मान्छेको जिन्दगी उखुमै त के रहेछ र !

नानदिदी हिजो मात्र पनि आफू घरमा नहँुदा बाख्रा, कुखुराको बिजोग भो भनेर सुर्ताउँदै थिइन् । रोगले चापेर अस्पतालको शय्यामा लडिरहँदा पनि उनी भुट्भुटिरहेकी थिइन् खेत, बारी र वस्तुभाउ सम्झेर । हिजै मात्र पनि भदालाई भन्दै थिइन्, ‘फुन गर्, कुमारेको आमालाई । बाख्रा, कुखुरालाई हेरेको छ कि छैन ?’

लय छुट्यो कि, खत्तम । 

लाने नै पो के रहेछ र मान्छेले आफ्नो साथमा ? 

नानदिदी हिजो मात्र पनि आफू घरमा नहँुदा बाख्रा, कुखुराको बिजोग भो भनेर सुर्ताउँदै थिइन् । रोगले चापेर अस्पतालको शय्यामा लडिरहँदा पनि उनी भुट्भुटिरहेकी थिइन् खेत, बारी र वस्तुभाउ सम्झेर । हिजै मात्र पनि भदालाई भन्दै थिइन्, ‘फुन गर्, कुमारेको आमालाई । बाख्रा, कुखुरालाई हेरेको छ कि छैन ?’ 

ओहो जिजीविषा !

००

गाउँभरिकै सिपालु सिकर्मी, ठुलो कान्छा तामाङ । उनले आफ्नै हातको मिहिनेत र कलाले सुन्दर बुट्टा कुँदेका थिए, नयाँ घरको निदाल, झ्याल र खाँबोहरूमा । उनकै सीपले बनेको थियो, वारपार बार्दलीसहितको ठुलो घर । कामको दुःखले उनलाई कहिल्यै खियाएन । बरु बनायो सतिसाल । सानातिना हुरीले उनी कहिल्यै हल्लिएनन् । बेलैमा बाटो लागेकी पत्नीको नाममा माछामासु छाडिदिए । तर अहँ, मन कतै बरालेनन् । घर–गाउँलेको आँखामा उनी एक सीपदार कर्मी भए । वारिपारिको गाउँ–समाजको नजरमा उनी एक सोझा आख्खे भए । तर यस राज्यको दृष्टिमा भने उनी एक ‘मासिन्या मतवाली’ र ‘मुर्मी भोटिया’को परिभाषामा सीमित भए, लामो समय । 

जीवनभरमा काँध र ढाडको छाला कति पत्र पत्रियो, उनलाई पत्तै भएन । सहोदर दाजुभाइले भीमफेदीको उकालै उकालो राणाजीको सवारी बोकी उक्लँदै गर्दा उनले पनि बोकी रहे याम्बुका सोखिन मालिकगणका निम्ति ताजाताजा अम्बा र तरकारीको भारी । राज्यको कुदृष्टिमाझ पनि उनी जलुकाझैँ शिर ठाडो पारी आफ्नै पसिनामा मौलिए, रमाए । जीवनभर जे जे भए–भनिए, बने या बनाइए पनि उनी एक सादा मन थिए । एक सीपदार हात थिए र थिए, एक परिश्रमी किसान । सकुन्जेल खेतबारी र काठपातको काम गरिरहे । खालीखुट्टे जीवन बिताए । फिलफिले कछाडकै भरमा सारा हिउँद बर्खा झेल्दै बिताइदिए एक चोला । 

उमेरले असी काटिन्जेल बसिलोले काठ ताछ्दै बसे उनी । बाँसभन्दा बढी नुहिएको ज्यानलाई आफ्नै खुट्टाको बलले तानिरहे । आफैँले ठड्याएको पसिना र परिश्रमको महलमा सानसाथ बसे । एक डबका जाँड र तमाखुको गुडगुडसँगै सुरु हुने उनको दिन त्यही नियममा चलिरह्यो । अनि एक दिन कसैलाई नबिथोलीकन चुपचाप हिँडे, एक्लो यात्रामा । 

त्यसयता मूलघर र जीवनभरका जोरजाम झिटीमिटी उनलाई स्याहारेर बसेकी छोरी नानदिदीको जिम्मा भयो । लगभग ६ दशकभन्दा बढी सानले घामपानी धानी अडिएको थियो त्यस घर र त्यसभन्दा निकै बढी समय टिकेका थिए आख्खे (बाजे) ठुलोकान्छा । अन्ततः त्यस सुन्दर घरबाट उनको अस्तु निस्कियो । त्यसपछि उनी ज्यो–ज्योमो (कुलदेवता) मा रूपान्तरित भई देउरालीमा बसेका छन् (तामाङ समुदायको विश्वासअनुसार) । उनले सोखले बनाएको ठुलो घर भने २०७२ सालको भूकम्पले नराम्ररी चिराधाँजा पारिछाड्यो । के रहने रहेछ र चिरकाल ?

००

भूकम्पको बेला त्यस घरको धुरी जेनतेन अडे पनि ढुङ्गा माटोको जोड भएको घरको एक पाखा पूरै भत्केर बिजोग भयो । तीनतले घरको छिँडीदेखि बुइँगलसम्म थन्किएका सरसामान भुस्कुट भए । बुइँगलको कुलकुलायन, डम्फु र कोकोम्हेन्दो (टटोला फूल) खोइ कता उछिट्टियो, कता भास्सियो । कतै भेटिएन । जिर्मा (रक्सी पार्ने कोदोको जाँड) राख्ने बडा–बडा घ्याम्पो, मामको पुरानो सन्दुक, तामा र पित्तले गाग्रीहरू, झर्के थाल र बुइँगलभरि राखेका मकै, धान सबै, कता हो कता । 

आफ्नै ज्यान सम्हाल्न नसक्ने बेला घरको सरसामान कता सम्हाल्नु ? डरले सबै गाउँले बारीतिर डल्लो परेको बेला कसले हेर्नु कुखुरा माऊ ? कसले तान्नु गाईबाख्रा ? घरजति सबै भुइँ चाटेर थचारिएपछि गाउँले कसैको होस ठेगानमा रहेन । नानदिदीको पनि होस–ध्यान सबै उड्यो । एकोहोरो र अलमल परिरहिन् अलिक बार । देख्दादेख्दै ढल्यो आप्पाको सीप । आँखा झिम्म गर्दा अलप भइगयो जीवनभरि सँगालेको सम्झनाका थाक । 

नानदिदीलाई तात्तातै सहयोग गर्नु गाउँलेको वशमा थिएन । सबैको होस–चेत उडेको थियो । केही दिनपछि भने गाउँलेहरू मिलेर सक्नेजति अन्नपात र सामान निकालिदिए । तथापि उनले जिन्दगीभरि छ्याम्बा (ढिँडो) मस्काएको मूलचुलो, मासु झुन्ड्याउने सराङ, तेल मसला राख्ने काठे दराज सबै त्यही घरमै पुरियो । चाहेर पनि निकाल्न सम्भव भएन ती सबै । सायद त्यसै दिन नानदिदीको आँतको एक टुक्रा त्यतै चोइटी झर्‍यो । त्यसयता उनको खस्केको आँत पटक्कै उठ्न मानेन । 

००

गाउँभर कडा स्वभावकी भनेर चिनिएकी नानदिदीलाई पत्तै थिएन, आफ्नै रफ्तारमा बेगिँदै गरेको समय । समय, कता बेगिन्छ हँ ? दौडिने त मान्छे र उसको उमेर न हो । खेतीबारी, गाई, बाख्रा, कटहर, अम्बा र लिची हेर्दाहेर्दै भदाभदै, भाइबुहारी सबैले आ–आफ्नो घरगुँडको जोरजाम गरिभ्याए । त्यतिन्जेल आफू एक्लै भएको पनि छ्यान परेन उनलाई । भुइँचालोले हल्लाउँदा जब कोही भएनन् हात समाउने अनि पो च्वास्स घोच्यो उनको मन, ‘को रहेछर मेरो ?’ हल्लिएको मन र मस्तिष्क यसो थुमथुमाउँदा झन् मिचियो मन । 

बढ्दो उमेरसँगै उम्रेको दम अनि एक्लो जीवन । उनी भित्रभित्रै गलेको कसैले सुइँकोसम्म पाएनन् । सायद उनी आफैँलाई पनि खास भेउ भएन । तथापि जिन्दगीको लय त पक्डनै पर्‍यो । उनले पनि कोसिस गरिन् समयसँगै आफूलाई जीवन लयमा हिँडाउन । भूकम्पपछि लामो समय त्रिपालमा बसेपछि बल्लतल्ल उभ्याइन्, एउटा सानो कटेरो । तर उनको मन रमेन । उनलाई पीडा र विरक्ति सिवाय केही दिएन, गोठजस्तो कटेरोले । नव–ओतले आप्पाको मायाले ठडिएको घरको न्यानोपनाको तिर्सना कहिल्यै मेटेन । त्यसै समयबाट न हो, उनको बोलीको सान खिँइदै खिँइदै गएको । 

जन्मी हुर्केको ठाउँ । हातको नङ्ग्रा खियाएर सम्भार गरेको घर । जीवनको महत्त्वपूर्ण बैँसालु उमेरदेखि त्रिहत्तर वर्षे वृद्धावयले साथ पाएको घर । एकपलमै धूलिसात् । भुइँकम्पको एकै धक्काले गल्र्यामगुर्लुम पारिदिएपछि जीवनभरको जोरजाम, उनको निद र चैन पूरै गायब भइदियो । त्यस भुइँचालोले छत्रेदेउराली–४, धादिङका घरहरू मात्र भत्काएनन्, नामेट पारिदिए नानदिदीजस्ता धेरै वृद्धवृद्धाहरूको सुन्दर स्मृतिस्तम्भहरू पनि । मुखले नबोले पनि प्राकृतिक प्रकोपको त्रासद अवस्थाले उनीहरू भित्रैबाट नराम्ररी हल्लिए । नानदिदीको एक्लोपन र शारीरिक अस्वस्थता बढिरह्यो । 

भूकम्पपछिको दुई वर्ष जेनतेन कटेरोमा बसिन् उनी । अन्ततः उनले आफ्नै आँट र पौरखले ठड्याइन जस्ताको छानो र काठपातको भित्तो भएको एउटा निर्वाह गर्न सकिने ठिक्कको टहरेघर । उज्यालो अनुहार लिई ठडियो, बारीको पाटामा उनको मिहिनेतको महल । त्यसअघि दुई हिउँद र बर्खा साह्रै सकस गरी काटेकी थिइन् । हुनलाई त अस्थायी कटेरोमा पनि मूलघरमा जस्तै गाडेकी थिइन्, तीन ढुङ्गा र बनाएकी थिइन् चुलो । गाडेकी थिइन् चुलोमा ओदान । अगेनामाथि तेर्साएकी थिइन् पहिलेको जस्तै बाँसको सराङ । पुराना पित्तले झ्यागा (ढिँडो ओडाल्ने भाँडो), गाग्री, र अम्खोराहरू भने बेवारिसे भई छरपस्टिएका थिए, कटेरोको छेउकुनामा । दुई माउ बाख्रा, एक माउ पोथी र भर्खरै कोरलेका चल्लाहरू पनि उनीसँगै बसे केही समय । अलिक पछि भने टहरो छेउमै उभ्याइन्, बाख्राको सानो खोर । त्यसपछि मात्र हो, उनले बड्क्यौला बेगरको ओछ्यानमा सुबिस्ताले सुत्न पाएको । 

म फर्कन्छु आफ्नै एकान्तमा । ढोकामै आमाले सुनपानी छर्किदिनुहुन्छ । म चोखिन्छु र बन्छु, मलामीबाट उही सदाकै कामकाजी महिला । यद्यपि म सदाकै जस्तो हुन सकिरहेकी छैन । आमाको सुनपानीले हटाइदिन सकेको छैन, अझै आलो रहेको घाटको धुवाँगन्ध । केही अवशेष अझै रङमगिँदै छ मेरो ज्याकेटमा ।

पुरानो घरको चुहिने टायल फेर्ने सपना गुन्दागन्दै भुइँचालोले गल्र्यामगुर्लुम पारिदिएको थियो, उनका रहरहरू । सपनाहरू टुट्छन्, फुट्छन् । तर फेरि पनि मुन्टो उठाइजान्छ हामीभित्र । सपनाले टाउको उठाएपछि कहाँ दिन्छ र कसैलाई चैनले निदाउन ! नानदिदी पनि पटक्कै निदाउन सकिनन् । दमले अँचेट्दाको लामो सकसपूर्ण रात अनि सधैँको बाख्रा–कुखुराको साराकसुरुकको साथ । चलिरह्यो उनको जीवन, जेनतेन र सम्झौतासहित । तथापि तमाम सपनाहरू जिउँदै थिए अझै ।

००

दम र फोक्सोको बिमारीले गाल्दै लगेको झिनो शरीर घिसार्दै भए पनि नानदिदी अझै बुन्दै थिइन् सपना । पहिलेको जस्तै मटान छापेको राम्रो घर बनाएर नाति (भदाको छोरो) को बुहारी भिœयाउने ठुलो रहर थियो । केटीको कुरो पनि चल्दै थियो । घर बनाउने सुरसार पनि । सबै सर्दाम जोहो गर्दै थिइन् । रक्सी पार्ने कोदो, भतेर पकाउने दाउरा र आवश्यक खिच्रिमिच्री पनि बटुल्दै थिइन् । पर्खिरहेकी थिइन्, अरब छिरेको नातिको बाटो । तर अनायासै सारा सपनाहरू अधुरै रहे । भुइँकुहिरो र कान्छी तामाङको एक्लो यात्रा अघि बढ्यो । 

स्यागोल रिम्पोचेले भनेझैँ जीवनकालमै मृत्युका लागि आफूलाई तयार पार्न भ्याइन्, भ्याइनन् होला उनले ?

म घोत्लिबस्छु जीवन र मृत्युसम्बन्धी अनेकन् पुस्तकहरूमा । तर मैले कहिल्यै पढ्न भ्याइनँ नजिकैकी जीवन्त पुस्तक, नानदिदीलाई । चाडपर्वमा गाउँ पुग्दा पनि प्रायःजसो मलाई उनको घरसम्म पुग्ने फुर्सद हुन्थेन । स्वास्थ्य जाँचका लागि सहर आउँदा उनी केहीपटक मेरो कोठामा बसेकी थिइन् । तर त्यसबखत पनि मलाई उनीसँग राम्ररी भलाकुसारी गर्ने समय मिलेन । सामान्य सन्चो–बिसन्चोको सोधपुछमा नै टुङ्गिन्थ्यो हाम्रो संवाद । मेरो बेफुर्सद भनुम् या बेवास्ता । अनेक कामको बोझले थकित भएको बखत उनीसँग बोलिरहने धैर्यता नै भएन । दमले च्यापेर श्वास फेर्न गाह्रो हुँदाको उनको घ्यारघ्यारले मलाई राति निकै झन्झट लाग्थ्यो । अनुहारमा नदेखाए पनि भित्रभित्र दिक्क हुन्थँे । झर्को लाग्थ्यो, एकतमासको स्याँस्याँ गर्ने श्वासको लय । राति निद्रा नलाग्ने रहेछ उनलाई, अनेक कुरा निकालेर बोलिरहन्थिन् । म भने निद्राले च्यापेर हैरान भइसकेको हुन्थँे । निदाएजस्तो गरिदिन्थे । केही बेरपछि उनी पनि चुप लाग्थिन् । त्यसपछि म मनमनै खित्खिताउँदै मस्त निदाउँथेँ । उनीसँग बिताएको स्मृतिपाना खाली खाली छ । मसँग छन् त केवल केही टुक्राटुक्री सम्झनाका केस्राहरू । 

यतिखेर बेडमा लडिरहेको उनको शान्त अनुहारले मलाई एकपटक जीवनको वास्तविकता अघिल्तिर पछारिदिएको छ । म ग्लानिजस्तै केही भावले भरिएकी छु । एकपटक ठोकौँ आफ्नै टाउको, चिच्याउँm र आफैँलाई बेस्सरी गाली गरेर मन शान्त पारुँ ! अब त मैले गर्न सक्ने भनेको यत्ति नै हो । हातबाट छुटिसकेपछि मात्र अनमोल लाग्ने रहेछ, समय । नफर्किने गरी गएपछि मात्र महत्त्वपूर्ण लाग्ने रहेछन्, सम्बन्धहरू । प्यारो लाग्ने रहेछन्, नजिकका आफन्तहरू । 

अस्पतालमा जम्मा भएका आफन्त साथीभाइ । हँुइकिएको शववाहन । स्वयम्भूघाटको चहलपहल । लामाहरूको मन्त्रोच्चारण, खादाहरूले पुरिएको उनको निर्जीव शरीर । उड्दै गरेको चिताको धुवाँ । आफन्तका आँखाबाट झरेका केही थोपा अश्रुलहर । हेर्दाहेर्दै सकियो, कान्छी तामाङको जीवन । अन्तिममा अस्तु बोकी फर्कियो, मलामी टोली उनकै जन्मठाउँ । एकैछिनमा जलिसक्ने रहेछ, एउटा सिङ्गो शरीर । मिल्ने रहेछ धुवाँ भई हावामा ।

००

म फर्कन्छु आफ्नै एकान्तमा । ढोकामै आमाले सुनपानी छर्किदिनुहुन्छ । म चोखिन्छु र बन्छु, मलामीबाट उही सदाकै कामकाजी महिला । यद्यपि म सदाकै जस्तो हुन सकिरहेकी छैन । आमाको सुनपानीले हटाइदिन सकेको छैन, अझै आलो रहेको घाटको धुवाँगन्ध । केही अवशेष अझै रङमगिँदै छ मेरो ज्याकेटमा । फुकालेर ह्याङ्गरमा झुन्ड्याउँछु र एकटक हेरिबस्छु आफैँले लगाएको ज्याकेट । मन निकै अमिलिन्छ । 

भर्खर एउटा जीवन आगोमा पग्लिएको साक्षी भई आएकी छु । आमाले दिनुभएको उसिनेको आलु खान पटक्क जाँगर चल्दैन । झझल्को आइबस्छ, घाटकै दृश्यहरूको । जल्ने क्रममा ठाडो परेको उनको खुट्टालाई एकजना मलामीले लामो लट्ठीले बेस्सरी ठटाए । मुटु फुत्तै निस्केलाजस्तो गरी म तर्सिएँ । पलभरमै मेरो आङभरि हजारौँ काँडा सरर उम्रियो । ज्या ! मान्छेको जीवन ! श्वासको धागो चुँडिएपछि त हुने रहेछ, केवल ढुङ्गामाटो । 

नानदिदीको घेवाका लागि आमा गाउँतिर लाग्नुभो । म भने काठमाडौँको व्यस्ततामा अल्झिएँ । नुन बार्नुपर्ने बाध्यता थिएन । बारिनँ । पहिलेकै रफ्तार पक्डियो मेरो समयले । घेवामा जाने सुरमा थिएँ । तर अफसोस दुर्घटनामा परी मेरो खुट्टामा चोट लाग्यो । खुट्टा सार्न सक्ने स्थिति नै रहेन । चाहेर पनि म फुपूदिदीको अन्तिम बिदाइमा सामेल हुन सकिनँ । केले छेक्यो मेरो बाटो त्यसरी ? आज पनि म त्यही विषयमा बेलाबखत घोरिन्छु । जवाफ छैन । तुस बनिरहेको पीडालहर आजपर्यन्त सलबलाइरहन्छ बेलाबखत । 

००

२०७४ वैशाख ३१ गते स्थानीय तहको चुनावमा मतदानका लागि घर पुग्छु । परैबाट देखिन्छ, नानदिदीको घरअगाडि फर्फराइरहेको दज्र्यु । यसपटक भने म आफूलाई रोकिराख्न सक्दिनँ र दौडिइहाल्छु उनको टहरोघरमा । ह्वाङ्ग रहेछ ढोका । मान्छे नबसेको छर्लङ्ग सङ्केत दिने पटपटी फुटेका भुइँ र चिरा परेका भित्ताहरू । टहरोभित्र अझै बाँकी रहेछन्, नानदिदीका केही सरसामान । ओदानमाथि थपक्क बसेको छ कालो डेक्ची । त्यसको छेउमै लडेको छ, केही भाडावर्तन । एउटा काठको सानो तख्तामाथि चुपचाप उँघिरहेको छ, धुलाम्मे ग्यास चुलो पनि । ओहो ! म यस घरमा नपसेको त धेरै पो भइसकेछ । पहिले त ग्यास चुलो थिएन । दमले जोरजुलुम मच्चाएपछि सजिलोका लागि नातिले किनिदिएको रहेछ, ग्यास । तर साह्रै जोगाड गरेर कहिलेकाहीँ मात्रै पकाउँथिन् रे ग्यासमा । 

भत्किएको पुरानो घर अघिल्तिर कटहर, लिची, भोगटे र आँपका रुखहरू पहिलेजस्तै छन् । आधा पाखो झरेको घर भूकम्प सम्झाउँदै अझै धर्मरिँदै उभिएको छ । नानदिदीको कति कुरा अझै पुरिएकै होलान् यस घरभित्र । आउँदो बर्खा लाग्नुअघि जसरी पनि भत्केको घरको काठपात तह लाउने तयारी थियो उनको । हिउँदभरमा त घर नै ठड्याउने सुर कसेकी थिइन् । यद्यपि योजनाअनुसार जिन्दगी चल्ने रहेनछ । उनी २०७३ फागुन १८ गते नै हिँडिन्, आफ्नो एक्लो यात्रामा । 

सबै कुरा फारो गरेरै चलाइन्, नानदिदीले । जोगाइराखेकी थिइछन्, अन्नपात, बाख्रा, कुखरा सबै । खेतभरि मौसमी बाली उस्तै सप्रेको थियो । अकस्मात जीवनडोरी चुँडिएछ भने पनि घेवाका लागि कसैलाई भार नपरोस् जस्तो गरी सबैसबैको जोरजाम गरेकी रहिछन् उनले । कस्तो दूरदर्शिता !

उनको पुरानो सन्दुकमा भेटियो, केही थान नयाँ कपडा र त्यसैको चेपमा तीस हजार नगद । ओहो ! कति जतन गरेर राखेको होला ? नाक–कानमा गतिलो गहना कहिल्यै लगाइनन् । एक–दुई सरो फेरफारे फरिया चोलोभन्दा बढी कहिल्यै थुपारिनन् । तर त्यत्तिका पैसा केका लागि बचाएर राखिन् होला ?

घर बनाउने जोरजाम थियो होला कि ओखतीमुलोको खर्च ?

या साँच्चै जोहो गरेकी थिइन् उनले आफ्नै घेवाखर्च ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुमारी लामा
कुमारी लामा
लेखकबाट थप