शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?

‘हाम्ले अक्षरै चिनायौँ, बाटो देखायौँ
तर आज हाम्लाई हेप्ने कानुन लेखायौ
तिमीलाई माननीय कसले बनायो, तिमीलाई मन्त्रीज्यू कसले बनायो, हामी शिक्षकैले हो’
माथिका हरफ ‘हामी शिक्षक’ बोलको गीतबाट लिइएको हो । पछिल्लो समय चर्चित यो गीतले काठमाडौँमा जारी शिक्षकहरूको आन्दोलनलाई सङ्गीतमय बनाउँदै आएको छ । आन्दोलनका क्रममा शिक्षकहरूले यो गीत गाउँदै नाच्दै गरेको देख्न सकिन्छ ।
‘बासु सर’ युट्युबबाट गत मार्च ७ मा अपलोड भएको यो गीतले शिक्षकहरूलाई आफ्ना मागसहित आन्दोलनमा होमिन उद्वेलित गराउँदै आएको छ ।
शिक्षकको महत्त्व, योगदान र राज्यको उपेक्षालाई गीतमा निकै मर्मस्पर्शी ढङ्गबाट उठाइएको छ । सायद त्यसैले पनि होला, यो गीतलाई शिक्षकहरू सबैले आफ्नै गीतका रूपमा स्वीकारेका छन् ।
गीतका सर्जक हुन् बासु अधिकारी । दाङका अधिकारी आफैँ एक शिक्षक हुन् । शिक्षाको ज्योति छर्ने शिक्षकहरूका पीडा उनी आफैँले अनुभूत गरेका छन् । त्यही पीडा अधिकारीले यो गीतमार्फत मार्मिक ढङ्गबाट पस्किएका हुन् ।
अधिकारीकै शब्द, सङ्गीत र स्वर रहेको गीतमा उनलाई गायिका सुनिता बुढा क्षेत्रीले स्वरमा साथ दिएकी छन् ।
गीत नेपाली शिक्षकको वास्तविक जीवन यथार्थ र वास्तविक घटनामा आधारित छ । गीतले शिक्षकहरूको आन्दोलन, विद्यार्थीहरूसँगको सम्बन्ध, शिक्षाले समाजमा ल्याउने सकारात्मक परिवर्तन र शिक्षकहरूको मेहनत झल्काउँछ ।
शिक्षकको महत्त्व दर्साउनै आफूले निर्माण गरेको अधिकारी बताउँछन् । ‘देशमा शिक्षकहरूले आन्दोलन गर्नु परिरहेको छ । यस्तो परिस्थिति आउनु हुँदैन थियो’, अधिकारी भन्छन्, ‘यो सबै शिक्षाको महत्त्व नबुझेका र बुझेर पनि बुझ पचाउनेहरूका कारण हो ।’
गीतले शिक्षा र शिक्षकको महत्त्व बुझाउने अधिकारीको विश्वास छ । ‘शिक्षक एउटा मैनबत्ती जस्तै भयो । हामीले उत्पादन गरेका जनशक्ति राज्यको उच्च तहसम्म पुग्ने’, अधिकारीले भने, ‘उनीहरूबाट शिक्षकलाई मर्यादित बनाउनुपर्ने बेलामा हेप्ने, ठग्ने कानुन बनाउने !’
गीत ५ टुक्कामा छ । पहिलो टुक्कामा माथिको ‘हाम्ले अक्षरै चिनायौँ’ लाइन छ । दोस्रो टुक्कामा डाक्टर, पाइलट, इन्जिनियर, सेना, पुलिस, देशका कर्मचारी हाम्रो उत्पादन भनिएको छ । तेस्रो टुक्कामा ‘अरू देशमा शिक्षक पहिलो स्थान, नेपालमा छैन’ सम्मान भनिएको छ भने चौथोमा शिक्षकले न्यायका लागि आन्दोलन गर्नुपर्ने परिस्थितिको वर्णन छ । पाँचौँमा शिक्षकको न्यायका लागि विधेयकको महत्त्व र माग समेटिएको छ ।
गीत रोमान्टिक लोकशैलीमा प्रगतिशील तवरबाट बनेको छ । त्यसैले पनि यसले छोटै समय सबैको मन छुन सफल भएको हो ।
- कहिले लेखियो गीत ?
गीत २०८० सालमै लेखिएको थियो । त्यतिबेला शिक्षक आन्दोलन पालिकास्तरबाट सुरु भएको थियो । त्यो आन्दोलनलाई सपोर्ट होस् भनेर अधिकारीले यो गीत लेखेका थिए ।
गीत रेकर्ड २०८० कै चैतमा भएको थियो । गीत सार्वजनिक भने एक महिना अघिमात्र भएको हो । गीत रेकर्ड भए पनि भिडियो निर्माण लगायत विभिन्न प्रोसेसले ल्याउन ढिलो भएको अधिकारी बताउँछन् ।
‘गीत अझै ढिलो आउन सक्थ्यो, शिक्षकहरूको आन्दोलन हुने भएपछि समय सान्दर्भिक लाग्यो । आन्दोलनमा बल पनि पुग्छ भनेर छिटो ल्याइएको हो’, उनले भने ।
शिक्षकहरू अहिले काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । आन्दोलन यो अवस्थामा आउँछ भन्ने आकलन गरेरै आफूले गीत लेखेको अधिकारीले बताए ।
गीतले युट्युबमा भर्खर ७४ हजारभन्दा बढी भ्युज पाएको छ । तर, जनमानसमा भने यो पपुलर छ । गीतको प्रतिक्रिया समेत राम्रो आएकोमा दङ्ग छन् अधिकारी ।
शिक्षक आन्दोलनमा उनी पनि सहभागी छन् । दैनिक यो गीत ३/४ पटक शिक्षक आन्दोलनमै बज्ने गरेको उनले जानकारी गराए ।
‘देशभरका शिक्षकहरूले बासु सर भनेर सम्मान गर्छन् । फोटो खिच्न र टिकटक बनाउन झुम्मिन्छन् । यही गीतका कारण मलाई सबैले चिन्नुभयो’, उनले भने, ‘म सेलिब्रेटी पो भएछु ।’
- गीत–सङ्गीतमा रुचि
अधिकारीको सानैदेखि गीत–सङ्गीतमा रुचि थियो । उनी सानैदेखि लोकगीत सुन्ने र गुनगुनाउने गर्थे । उनको बुबाले भजन गाएर उनलाई नचाउँथे । त्यो माहोलले पनि उनमा गीत–सङ्गीतप्रति लगाव बढ्दै गयो ।
अधिकारी हुर्कदै जाँदा कलाकार र गीतको बारेमा जानकारी राख्न थाले । सानैदेखि साहित्यमा पनि रुचि भएकाले मनमा लागेको भावना गीत, कवितामार्फत उनी कोर्थे ।
शिक्षण पेसामा रहँदा पनि गीत लेख्ने, बनाउने हुटहुटी लागिरहन्थ्यो तर, शिक्षकको आम्दानी, घरपरिवारको खर्च लगायत विभिन्न कारणले उनले गीत निकाल्न सकिरहेका थिएनन् । अहिले शिक्षकहरूको आन्दोलन पनि भएको र आफू पनि शिक्षक रहेकाले यसैको विषयमा गीत निकाल्दा राम्रो हुने सोचेर बनाएको अधिकारीले रातोपाटीलाई बताए ।
‘गीत बनाउनु अगाडि टिचरका विषयमा गीत छन् कि भनेर युट्युब लगायत धेरैमा खोजेँ तर कहीँ भेटिनँ’, अधिकारीले भने, ‘काठमाडौँ आएर एरेन्ज गर्न लगाएँ । एरेन्ज गर्दैमा गीत मिठो लाग्यो ।’
देशभरका एक/डेढ लाख शिक्षकले सुने भने पनि पुग्छ भनेर गीत बनाएको उनले बताए ।
अधिकारीको यो पहिलो गीत हो । गीतबाट पाएको सकारात्मक प्रतिक्रियाले आगामी दिनमा अन्य गीत ल्याउने उनको सोच छ । तर अब ल्याउने गीत भिन्न विषयको हुने उनले बताए ।
‘अहिले आन्दोलन भयो र शिक्षक गीत सान्दर्भिक भयो’, अधिकारीले भने, ‘अब बनाउने गीत सधैँभरि सुन्ने खालको हुन्छ ।’
उनले दोहोरी गीत ल्याउन तयारी गरिरहेको पनि बताए । ‘खासमा म पहिले लोकदोहोरी गीत ल्याउने तरखरमा थिएँ । शिक्षक आन्दोलन भएकाले शिक्षक गीत ल्याएँ’, उनले थपे ।
- कहिलेदेखि शिक्षक ?
अधिकारी २०७१ देखि शिक्षक पेसामा आबद्ध छन् । प्युठानको सरस्वती माध्यमिक विद्यालयमा अंग्रेजी शिक्षकको रूपमा शिक्षण सुरु गरेका उनी अहिले दाङको आदर्श माध्यमिक विद्यालयमा अंग्रेजी शिक्षककै रूपमा कार्यरत छन् ।
‘हामी शिक्षक’ गीतको भिडियोमा अधिकारी आफैँले पनि अभिनय गरेका छन् । उनको अलावा भिडियोमा सिर्जना जिसी, अनिता चौधरी, अञ्जु पोख्रेल र पुष्पा पाण्डेको अभिनय छ । सन्तोष पोखरेल निर्देशित भिडियोमा बाल कलाकारको रूपमा वरुण अधिकारीले अभिनय गरेकी छन् ।
म्युजिक भिडियो शिक्षक सम्बन्धी गतिविधिसहित तयार पारिएको छ । भिडियोको छायाङ्कन रमित बोहराले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हाे : अर्थमन्त्री
-
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव : निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्न लाग्नुस्
-
कसले गर्यो केपी ओलीविनाको ‘एमाले’ कल्पना ?
-
सीईओ गोविन्द घिमिरेले सम्हाले एनएमबि बैंकको कार्यभार
-
संविधान र संघीयता कार्यान्वयनमा बाधा भइरहेको छ – मन्त्री लामिछाने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्छौँ : मुख्यमन्त्री आचार्य