बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म

शनिबार, ०६ वैशाख २०८२, ०० : २६
शनिबार, ०६ वैशाख २०८२

काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ– 
१.  प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
प्रधानमन्त्री केपी शर्मा ओली र आन्दोलनरत शिक्षकहरुबीच वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार राति वार्ता भएको हो। वार्तामा नेपाल शिक्षक महासङ्घका पदाधिकारी सहभागी थिए भने सो क्रममा जारी शिक्षक आन्दोलन र समस्या समाधानका विकल्पका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ 

२.  कसरी बन्यो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
उपसमितिले औपचारिक रूपमा सार्वजनिक नगर्न एकाएक पोखरा एयरपोर्ट निर्माणमा भ्रष्टाचार भएको दाबीसहितको विवरण चुलिएपछि हल्लीखल्ली उत्पन्न भएको छ ।  सार्वजनिक लेखा समितिले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा अध्ययनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनको संयोजकत्वमा गत असारमा उपसमिति बनाएको थियो । 

३. राप्रपा नेता 
 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केही नेताहरूको पद धरापमा परेको छ । नेताहरू पशुपति शमशेर राणा, डा प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र, डा धवलशमशेर राणा र हरिबहादुर बस्नेतको पद धरापमा परेको हो । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिबाट गरेको निर्णय अक्षरशः पालना भएको खण्डमा यी नेताहरू स्वतः पदमा नरहने परिस्थिति बनेको हो ।

४.  गुणाकरलाई रोक्ने प्रयास
शुक्रबार अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्ट गभर्नर बन्न अयोग्य रहेको दाबीसहित पूरक निवेदन दिएका छन् । उनीहरूले सञ्चारमाध्यममा प्रकाशित समाचारलाई आधार मान्दै भट्टलाई गभर्नर नियुक्ति गर्न लागिएकोमा उनको योग्यता नपुग्ने दाबीसहित पुरक निवेदन दिएका हुन् ।

५.  निजामती सेवा विधेयक
निजामती सेवा विधेयकले विगतमा अभ्यासमा आएर फेल भएको अतिरिक्त सचिवको व्यवस्था व्यत्याउने गरी विधेयक बन्न लागेको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था एवं सुशासन समिति अन्तर्गतको उपसमितिले निजामती सेवामा थप गर्न लागेको अतिरिक्त सचिव राख्ने समझदारी सहितको प्रतिवेदन बुझाएको छ ।

६. बंगलादेश– मालवस्तुको आयातमा रोक
बंगलादेशको नेसनल बोर्ड अफ रेभेन्यु ९एनबीआर० ले नेपालसहित भारत र भुटानबाट विभिन्न मालवस्तुको आयातमा रोक लगाउने निर्णय गरेको छ । आइतबार बंलादेशले राजपत्रमा प्रकाशित सूचनाअनुसार धागो, धुलो पाउडर, सुर्ती, पत्रिकाको कागज, विभिन्न प्रकारका कागज, पेपरबोर्डलगायत सामग्रीको आयातमा रोक लगाइएको बंगला ट्रिब्युयनमा प्रकाशित समाचारमा उल्लेख गरिएको हो ।

७. भुक्तानीमा समस्या
स्वास्थ्य बिमामार्फत औषधि उपचार सेवा दिन अस्पतालले आनाकानी गर्न थालेका छन् । सरकारले अस्पताललाई रकम भुक्तानी गर्न नसक्दा स्वास्थ्य बिमाबाट हुँदै आएको उपचारमा नागरिकले समस्या भोग्न पनि थालेका छन् ।

८. साताको सेयर
नयाँ वर्ष २०८२ लागेसँगै नेपाली पुँजीबजार मापक नेप्से परिसूचकमा उत्साह देखिएको छ । नयाँ वर्ष लागेसँगै कारोबार भएको तीन दिन नेप्से परिसूचक निरन्तर रूपमा वृद्धि भएर लगानीकर्तामा उत्साह थपिएको हो ।

९.  छानबिन समिति
सिराहामा चार महिनाअघि यौन दुव्र्यवहारमा परेर वैशाख २ मा मृत्यु भएको आनन्दीदेवी सदायको घटना छानबिन गर्न समिति गठन गरिएको छ । प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा समिति पठन गरिएको मधेस प्रदेशका डीआईजी लालमणि आचार्यले रातोपाटीलाई बताए । समितिमा इन्स्पेक्टर विक्रम शाह र एक जना सहायक हवलदार सदस्य छन् ।

१०.  बक्स अफिस
चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएलगतै दिनेश डिसीले वैशाखदेखि नियमित बक्सअफिस रिपोर्ट सार्वजनिक गर्ने व्यवस्था गर्छु भनेका थिए । गत मंगलबार ग्रामीण चलचित्र महोत्सवमा सहभागी चलचित्रलाई प्रमाणपत्र वितरण कार्यक्रममा उनले बक्सअफिस नियमित गर्ने व्यवस्था मिलाइसकेको र वैशाख अन्त्यसम्म कार्यान्वयन हुने जानकारी दिए ।

११. शिक्षक आन्दोलन
विभिन्न माग राखी १७ दिनदेखि आन्दोलनरत शिक्षकहरूले माइतीघर–नयाँ बानेश्वर सडक अवरोध गर्दा सर्वसाधारणले सास्ती भोग्नु परेको छ। मुख्य सडक नै अवरोध हुँदा १७ दिनदेखि सो क्षेत्रको ट्राफिक प्रभावित समेत हुँदै आएको  छ। 

१२. विपद्का घटना
गत फागुनदेखि हालसम्मको अवधिमा विपद्जन्य घटनामा परी ४१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप