सीके राउतको गेम : श्रीमानविरुद्ध उजुरी, श्रीमतीलाई कुर्सी

काठमाडौँ । डा.सीके राउत अध्यक्ष रहेको जनमत पार्टीले कोषाध्यक्ष सुरेन्द्रनारायण यादवविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा उजुरी दिएको छ । यसअघि पार्टीले कोषाध्यक्ष यादवसँग स्पष्टीकरण सोधेको थियो ।
जिल्ला प्रहरी परिसर स्रोतका अनुसार कोषाध्यक्ष यादवविरुद्ध ठगी गरेको आरोपमा पार्टीले उजुरी दिएको हो । पार्टीको अनुशासन समितिले फागुन २१ गते कोषाध्यक्ष यादवलाई पार्टीबाट निलम्बन गरी स्पष्टीकरण सोधेको थियो ।
आर्थिक अनियमिता गरेको, पार्टीलाई चुनावमा सहयोग नगरेको, पार्टीमा गुटबन्दी गरेकोजस्ता आरोपबारे पार्टीले स्पष्टीकरण सोधेको थियो । यादवले स्पष्टीकरणको जवाफ दिइसकेका छन् । यद्यपि पार्टीले उनीविरुद्ध प्रहरी कार्यालयमा उजुरी दायर गरेको हो ।
पार्टीको नाममा घर किनेर श्रीमतीको नाममा राखेको आरोप जनमत पार्टीले यादवमाथि लगाउँदै आएको छ । यादवले पार्टी छाडे पनि हालसम्म त्यो घर फिर्ता नगरेको भन्दै जालसाजी, ठगीको आरोपसहित प्रहरीमा पार्टीका तर्फबाट उजुरी परेको हो ।
जनमत पार्टीले कोषाध्यक्ष यादवलाई पार्टीमा कारबाही गरी स्पष्टीकरण सोध्दै प्रहरीमा समेत उजुरी हाले पनि उनकै श्रीमती ललिताकुमारी यादवलाई मधेस प्रदेशको नीति आयोगका सदस्यमा नियुक्त गराएको छ ।
जनमत पार्टीबाट मुख्यमन्त्री रहेका सतिशकुमार सिंहको सिफारिसमा ललिताकुमारी यादवलाई गत चैत ५ गतेको निर्णयले सदस्यमा नियुक्त गरिएको हो । जबकि पार्टीको भनिएको घर उनै ललिताकुमारी यादवको नाममा छ र सोही घरको विवादका कारण जनमत पार्टीका अध्यक्ष राउतले स्पष्टीकरण सोधेकोमात्र होइन, प्रहरीमा यादवविरुद्ध उजुरी पनि दिन लगाएका छन् ।
जनमत पार्टी स्रोतका अनुसार डा.सीके राउत बस्दै आएको घर कोषाध्यक्ष यादवकी श्रीमती ललिताकुमारी यादवको नाममा छ । उक्त घर किन्दा पार्टी र यादवको व्यक्तिगत रकमसमेत लागेको बताइएको छ ।
पछिल्लो समय पार्टी अध्यक्ष सीके राउतले सो घर आफ्नो नाममा नामसारी गर्न भनेपछि कोषाध्यक्ष यादवले आफूले दिएको रकम फिर्ता पाएपछि मात्र नामसारी गर्ने भन्दै आएका थिए । आफ्नो रकम फिर्ता माग्न थालेपछि अध्यक्ष राउतले केही रकम फिर्ता गरेको जानकारी प्रहरीलाई पनि गराइसकेका छन् । तैपनि सो घर नामसारी नभएको भन्दै जनमत पार्टीले प्रहरीमा उजुरी गरेको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरी रेग्मीले जनमत पार्टीको तर्फबाट आएको उजुरीबारे कानुनी परामर्श लिने काम भइरहेको प्रतिक्रिया दिए ।
यता कोषाध्यक्ष यादवले आफूविरुद्ध के विषयमा कस्तो उजुरी परेको हो भन्ने विस्तृत जानकारी पाउन नसकेको बताए । ललितपुर प्रहरीबाट फोन आएको तर आफ्नो कार्य व्यस्तताले त्यहाँ बुझ्न जान नपाएको उनले प्रस्ट पारे । चाँडै नै आफू काठमाडौँ फर्केर यसको बारेमा बुझेर थप प्रतिक्रिया दिने उनले बताए ।