बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
स्वास्थ्य

सरकारले अस्पताललाई भुक्तानी दिन सकेन, स्वास्थ्य बिमा गर्नेलाई समस्या

शुक्रबार, ०५ वैशाख २०८२, ०८ : ११
शुक्रबार, ०५ वैशाख २०८२

काठमाडौँ । स्वास्थ्य बिमामार्फत औषधि उपचार सेवा दिन अस्पतालले आनाकानी गर्न थालेका छन् । सरकारले अस्पताललाई रकम भुक्तानी गर्न नसक्दा स्वास्थ्य बिमाबाट हुँदै आएको उपचारमा नागरिकले समस्या भोग्न पनि थालेका छन् । 

देशभर ४ सय ८५ वटा अस्पताललाई सरकारले स्वास्थ्य बिमामार्फत औषधि उपचार सेवाका लागि रकम भुक्तानी दिँदै आएको छ । तर पछिल्लो १० महिनायता औषधि उपचारमा अस्पतालले भुक्तानी पाउन नसकेको गुनासो गरिरहेका छन् । यसले गर्दा बिमामार्फत औषधि उपचार गर्न नसक्ने गुनासो आउन थालेको हो । 

स्वास्थ्य बिमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार देशभरका अस्पताललाई करिब १७ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । ‘बिमा रकम भुक्तानी गर्न सकेको अवस्था छैन, उपचारको गुनासो आएको छ । पहिला पनि केही अस्पतालले सेवा बन्द गरेका थिए,’ उनले भने, ‘तिलगंगा र गंगलाल अस्पतालले तत्काल आंशिक रूपमा सेवा दिइरहेका छन् । भुक्तानीकै कारणले ओपीडी लिने, अस्पताल भर्ना नलिनेजस्ता समस्या देखिएको छ ।’

मल्लका अनुसार औपाचारिक रूपमा भने यी अस्पतालले बोर्डलाई जानकारी गराएका छैनन् । ‘सेवा किन रोकेको भनेर बोर्डले पत्रचार गरिरहेको छ । गंगलाल अस्पतालले पाँचदेखि छ महिना नै भइसक्यो सेवा रोकेको,’ उनले भने, ‘रकम भुक्तानी नहुँदा सेवा प्रवाह गर्न  नसक्ने अवस्था छ ।’

बोर्डसँग एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड

स्वास्थ्य बिमा बोर्डसँग भुक्तानी बराबार पनि रकम छैन । चालु आर्थिक वर्षको फागुन मसान्तमा बोर्डमा जम्मा एक अर्ब रकम छ । भुक्तानी दिनुपर्ने रकम भने १६ अर्ब ४५ करोड पुगिसकेको बोर्डले जनाएको छ । बोर्डको कोषमा आम्दानीका सीमित स्रोत र घाटा बजेट छ । स्वास्थ्य बिमा कोषमा बिमितबाट प्राप्त हुने रकम र नेपाल सरकारबाट प्राप्त हुने रकम मात्र जम्मा हुने गरेको छ । यो रकम उपचार खर्च भुक्तानीमा पर्याप्त नरहेको उनले बताए । बोर्डले अन्य स्रोतबाट आम्दानी प्राप्त गर्न सकेको अवस्था पनि नरहेको उनको भनाइ छ । आम्दानी र खर्चबिच अन्तर निरन्तर फराकिलो हुँदै गएको देखिन्छ । चालु आर्थिक वर्षमा बोर्डले जम्मा २६ अर्ब ५९ करोडको बजेट स्वीकृत गरेको छ, तर प्राप्त हुने रकम स्वीकृत बजेटको एक तिहाई मात्र हुने देखिन्छ । 

आधाले छोडे बिमाको सुविधा 

स्वास्थ्य बिमा गरेकाहरूले यसको सेवा छाड्ने दर पनि बढ्न थालेको छ । बोर्डका अनुसार यसको प्रक्रिया झन्झटिलो भएकाले आधाले छोडेका हुन् । 

स्वास्थ्य बिमा नवीकरण नगर्ने बिमितहरू २०७४/७५ मा ५४ प्रतिशत थिए । यस्तो संख्या ०७८/७९ मा ६४ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष ०८१/८२ को फागुनसम्मको तथ्यांकअनुसार छाड्ने दर ५४ प्रतिशत रहेको बोर्डले जनाएको छ । यसरी लगातार बिमितले यो पक्रिया छाड्दा बोर्डले भने नवीकरण गर्ने वातावरणसमेत तयार पार्न सकेको देखिँदैन । 

बोर्डका अनुसार स्वास्थ्य बिमा कार्यक्रम हाल ७७ जिल्लाका ७४९ स्थानीय तहमा विस्तार भएको छ । हालसम्म कुल ८९ लाख ५२ हजार १३५ व्यक्ति यसमा आबद्ध छन् । आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्म क्रियाशील बिमितको संख्या ५७ लाख ५३ हजार ८१७ छ, जुन कुल जनसंख्याको २० प्रतिशत हो । 

सामान्य क्रियाशील बिमित ४३ लाख दुई हजार ७०९ अर्थात् कुल बिमितमध्ये ७५ प्रतिशत र क्रियाशील लक्षित बिमित १४ लाख ५१ हजार १०८ अर्थात् २५ प्रतिशत छन् । अझै पनि ८० प्रतिशत नागरिकलाई यसमा समेटनुपर्ने देखिएको छ । 

कति छन् उपचार सुविधा दिने अस्पताल ? 

देशभर चार सय ८५ वटा अस्पतालले स्वास्थ्य बिमामार्फत औषधि उपचार सेवा दिँदै आएका छन् । बोर्डका अनुसार यसरी सेवा दिनेमा सरकारी ४ सय ४ वटा, सामुदायिक ३३ र निजी स्वास्थ्य संस्था ४८ वटा छन् । सेवाप्रदायकहरू सुगम र बढी जनसंख्या भएका स्थानमा केन्द्रित देखिन्छन् । अधिकांश सेवा प्रदायक नजिकै रहेका र दुर्गम स्थानमा मापदण्डबमोजिमका प्रथम सेवा विन्दु पाउनसमेत कठिन रहेको पाइन्छ । 

स्वास्थ्य बिमा गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको सर्वव्यापी पहुँच स्थापित गराउने सरकारको लक्ष्यलाई कार्यान्वयन गर्ने एउटा महत्त्वपूर्ण कार्यक्रम हो । यो स्वास्थ्य उपचारका क्रममा व्यक्तिगत खर्चलाई घटाउँदै लैजान वित्तीय संरक्षण प्रदान गर्न प्रयोगमा ल्याइएको प्रणाली हो । 

२०७२ सालमा परीक्षण प्रयास थालिएको स्वास्थ्य बिमा कार्यक्रम ‘स्वास्थ्य बिमा ऐन, २०७४’ जारी भएपछि यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । 

तर पछिल्लो समय आर्थिक भर बढ्दै जाँदा आम नागरिकले उपचार सुविधामा समस्या देखिन थालेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप