सोमबार, ०८ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : रास्वपाको महाधिवेशन सर्‍यो–राप्रपा निषेधित क्षेत्रमा, प्रहरीको बढुवामा गोलमाल

बिहीबार, ०४ वैशाख २०८२, २२ : ००
बिहीबार, ०४ वैशाख २०८२

आज मिति २०८२ साल वैशाख महिनाको ४ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. बढुवामा गोलमाल

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को प्रतिस्पर्धामा रहेका राष्ट्रिय अनुसन्धान विभागबाट आएका अधिकृतहरू छुटेका छन् ।

 राष्ट्रिय अनुसन्धान विभागबाट स्थानान्तरण भएर आएको भनेर तत्कालीन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ज्येष्ठ भए पनि सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर र उमाप्रसाद चतुरवेदीहरुलाई डीआईजी बढुवामा पछि पारेका थिए । तर, यसपटक सो टोली अघिल्लो टोलीलाई पछि पारेर बढुवा हुन चाहन्थ्यो ।

 

२. रास्वपाको महाधिवेशन फागुनमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशनको नयाँ मिति तोकेको छ। बिहीबार पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको नयाँ मिति तोकेको हो ।

२०८२ आश्विनसम्ममा वडा अधिवेशन,कार्तिक सम्ममा पालिका अधिवेशन, मङ्सिर सम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको छ । २०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताए । यसअघि वैशाखमा महाधिवेशन गर्ने भनिएको थियो ।

३. राप्रपाको निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले  प्रहरी हिरासतमा रहेका नेता कार्यकर्ताहरूको रिहाइको लागि राजनीतिक र कानुनी लडाइँ जारी राख्ने निर्णय गरेको छ ।

राजेन्द्र लिङ्देनको अध्यक्षतामा बिहीबार धुम्बाराहीमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरेको हो । यस्तै राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय पनि गरेको छ ।

 

४. छानबिन प्रेम आले

पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

पूर्वमन्त्री आलेविरुद्ध धनगढी क्षेत्रीय विमानस्थल विस्तारका लागि जग्गा खरिदमा अनियमितता गरेको भन्दै अख्तियारमा २०८१ चैत ११ गते उजुरी परेको थियो ।

५. कांग्रेस निर्णय

नेपाली कांग्रेसले सरकारले पर्फमेन्स बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बिहीबार बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा। प्रकाश शरण महतले सरकारका बारेमा छलफल भएको भन्दै पर्फमेन्स अझ राम्रो बनाउनुपर्छ भनेर नेताहरूले राखेको बताए । नेताहरूको धारणामा सबै सहमत भएको पनि उनको भनाइ थियो ।

 

६. शिक्षक आन्दोलन

शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को वार्षिक परीक्षा रोकिने सम्भावना बढेको छ । वैशाख ११ गतेदेखि वार्षिक परीक्षा हुँदैछ । तर, शिक्षक कर्मचारीहरूको आन्दोलनका कारण उक्त मितिमा परीक्षा हुने वा नहुनेमा अन्योल देखिएको छ ।

७. सुनको मूल्यमा नयाँ रेकर्ड

नेपाली बजारमा सुनको मूल्यले अर्को नयाँ रेकर्ड बनाएको छ । निरन्तर वृद्धि हुँदै रेकर्ड बन्दै आएको सुनको मूल्य बिहीबार तोलामा १ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ। 

८. साउनदेखि सडक पुनर्निर्माण

गत असोजको दोस्रो साता बाढीले क्षतिग्रस्त सडकहरू पुनर्निर्माणका लागि सरकारले ठेक्का खुलाएको छ । क्षतिग्रस्त बीपी राजमार्ग, कान्ति राजमार्ग, अरनिको राजमार्ग, मेची राजमार्ग र थानकोट–चित्लाङ सडकखण्डको पुनर्निर्माण गर्ने गरी ३० दिनको समय दिएर ठेक्का आह्वान गरिएको छ ।

९. अपराध

कञ्चनपुरको कृष्णनगर नगरपालिका–१ घर भएका २२ वर्षीय राहुल बुढा अहिले प्रहरी हिरासतमा छन् । म्यासेजमार्फत फिसिङ लिंक पठाएर ई(सेवाको खातामा पहुँच बनाउँदै उनले १ करोड २ लाख रुपैयाँ चोरी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले वैशाख २ मा उनलाई कालीमाटीबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।

 

१०. सेयर बजार

साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ ।

२०८२ साल लागेसँगै नेप्से परिसूचक निरन्तर रूपमा वृद्धि भइरहेको छ । नेप्से परिसूचक २६ दशमलव ४९ अङ्कले बढेर दुई हजार ७२२ दशमलव ७३ को विन्दुमा कायम भएको छ ।

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप