बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय
च्याम्पियन्स लिग

च्याम्पियन्स लिग सेमिफाइनल : चारै टोली फरक फरक राष्ट्रका

बलियो बन्दै बार्सिलोना, लयमा छ इन्टर, रियल र बायर्नसम्मको बिचल्ली
बिहीबार, ०४ वैशाख २०८२, १९ : ४३
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौँ । एकपछि अर्को अप्रत्यासित नतिजासहित अघि बढेको युरोपली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । यसपटक चार फरक राष्ट्रका क्लबले सेमिफाइनलमा स्थान पक्का गरेका छन् । 

इङ्ल्यान्डबाट आर्सनल, फ्रान्सबाट पेरिस सेन्ट जर्मन (पीएसजी), स्पेनबाट बार्सिलोना र इटालीबाट इन्टर मिलानले अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् । सेमिफाइनलमा आर्सनलले पीएसजीको र बार्सिलोनाले इन्टर मिलानको सामना गर्नेछन् । 

सेमिफाइनलमा आर्सन र पीएसजीबिचको पहिलो लेग खेल अप्रिल २९ र दोस्रो लेग खेल मे ७ तारिखमा खेलिने छ । बार्सिलोना र इन्टर मिलानबिच सेमिफाइनलको पहिलो लेग खेल अप्रिल ३० र दोस्रो लेग खेल मे ६ तारिखमा खेलिने छ । 

त्यसपछि सेमिफाइनलमा अब्बल प्रदर्शन गर्ने दुई टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् । फाइनल खेल मे ३१ तारिखमा हुनेछ । उपाधि भिडन्त जर्मनीको म्युनिखस्थित ७० हजार दर्शक क्षमताको एलियान्ज एरिनामा हुनेछ । 

बार्सिलोनाको अब्बल प्रदर्शन

अर्को स्पेनिस ‘पावर हाउस’ बार्सिलोना भने जारी सिजनको च्याम्पियन्स लिगमा अब्बल प्रदर्शन गर्दै सेमिफाइनलमा पुगेको हो । यसपटक बार्सिलोनालाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ । बार्सिलोनाले हालसम्म पाँचपटक च्याम्पियन्स लिगको उपाधि चुमिसकेको छ । 

तीनपटक च्याम्पियन्स लिगको उपविजेता बनेको बार्सिलोना यो सिजन छैटौँ उपाधिको खोजीमा छ । बार्सिलोनाले पछिल्लो पटक सन् २०१४–१५ सिजनमा च्याम्पियन्स लिग जितेको थियो । त्यतिबेला फाइनलमा बार्सिलोनाले बलियो इटालियन प्रतिद्वन्द्वी युभेन्ट्सलाई ३–१ गोलले हराएको थियो । 

barcaaa

यो सिजन बार्सिलोनाले लिग चरणमा पनि गजबको प्रदर्शन गरेको थियो । बार्सिलोना लिग तालिकाको दोस्रो स्थानमा रहँदै सिधै नकआउट चरणमा प्रवेश गरेको थियो । बार्सिलोना लिग चरणमा आफूले खेलेको आठमध्ये केवल एक खेलमा पराजित भएको थियो । ६ खेलमा जितको नतिजा निकालेको बार्सिलोना एक खेलमा भने बराबरीमा रोकिएको थियो ।

बार्सिलोनाले अन्तिम १६ टोलीबिचको भिडन्तमा भने पोर्चुगिज क्लब बेनफिकामाथि समग्रमा ४–१ कुल गोल भिन्नताको नतिजा निकालेको थियो । प्रिक्वार्टरको पहिलो लेग खेलमा बार्सिलोनाले बेनफिकालाई उसैको मैदानमा १–० गोलले हराएको थियो । घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलमा पनि बार्सिलोना ३–१ गोलले विजयी भएको थियो ।

त्यसपछि बार्सिलोनाले क्वार्टरफाइनल खेलमा साविक उपविजेता बलियो जर्मन प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाई ५–३ कुल गोल भिन्नताका आधारमा पछि पारेको थियो । बार्सिलोना घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा ४–० गोलले विजयी भएको थियो । विपक्षी टोलीको घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलमा भने बार्सिलोना १–३ गोलले पराजित भएको थियो । 

लयमा देखिएको आर्सनल 

इङ्लिस प्रिमियर लिग क्लब आर्सनलले हालसम्म एकपटक पनि च्याम्पियन्स लिगको उपाधि चुम्न सकेको छैन । ऊ एकपटक मात्र च्याम्पियन्स लिगको फाइनलमा पुग्न सकेको छ । सन् २००५–०६ सिजनको फाइनलमा बार्सिलोनाले आर्सनललाई २–१ गोलले हराएको थियो । 

यसपटक भने आर्सनल लयमा देखिएको छ । लिग चरणदेखि नै आर्सनलले एकपछि अर्को उत्कृष्ट नतिजा निकाल्दै आएको छ । लिग चरणको खेलमा अंक तालिकाको तेस्रो स्थानमा रहँदै आर्सनल नकआउट चरणमा पुगेको थियो । 

लिग चरणमा आर्सनलले आफूले खेलेको आठमध्ये एक खेलमा मात्र हार भोग्यो । आर्सनल ६ खेलमा विजयी भएको थियो भने एक खेलमा बराबरीमा रोकिएको थियो । लिग चरणमा आर्सनलले विपक्षीको पोस्टमा कुल १६ गोल ठोक्यो भने आफूले तीन गोलमात्र खायो । 

saka2

अन्तिम १६ टोलीबिचको भिडन्तमा पनि आर्सनलले अब्बल प्रदर्शन गर्‍यो । प्रिक्वार्टरफाइनल खेलमा आर्सनलले बलियो डच क्लब पीएसभी आइन्डोभनलाई ९–३ कुल गोल भिन्नताका आधारमा पछि पारेको थियो । 
अन्तिम १६ टोलीबिचको भिडन्तमा कुनै पनि टोलीले हासिल गरेको यो सबैभन्दा ठुलो अन्तरको जित थियो । घरेलु मैदानमा खेलिएको पहिलो लेगमा आर्सनल ७–१ को विशाल अन्तरले विजयी भएको थियो । दोस्रो लेगमा पनि आर्सनलले पीएसभीलाई उसैको घरेलु मैदानमा २–२ गोलको बराबरीमा रोकेको थियो ।

आर्सनलले क्वार्टरफाइनलमा पनि प्रभावशाली स्पेनिस प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ५–१ कुल गोल भिन्नताका आधारमा पछि पारेको थियो । घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा आर्सनल ३–० ले विजयी भएको थियो । 

त्यसपछि आर्सनलले रियललाई उसैको घरेलु मैदानमा दोस्रो लेगमा पनि २–१ गोलले हारको स्वाद चखाएको थियो । त्यसैले यसपटक आर्सनल च्याम्पियन्स लिगमा पहिलो पटक उपाधिको स्वाद चाख्ने अभियानमा देखिएको छ । 

इन्टर मिलानको गजबको प्रदर्शन

प्रभावशाली इटालियन क्लब इन्टर मिलानले यसअघि पनि च्याम्पियन्स लिगको उपाधिको स्वाद चाखिसकेको छ । इन्टर मिलानले हालसम्म तीनपटक च्याम्पियन्स लिग जितेको छ । यो इटालियन क्लब तीनपटक च्याम्पियन्स लिगको उपविजेता पनि बनेको छ । 

इन्टर मिलानले पछिल्लो पटक सन् २००९–१० सिजनमा च्याम्पियन्स लिगको उपाधि चुमेको थियो । उक्त संस्करणको फाइनलमा इन्टर मिलानले बलियो जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिखलाई २–० गोलले पराजित गरेको थियो । 

यसपटक लामो समयपछि इन्टर मिलान फेरि उपाधि कुम्ल्याउने अभियानमा देखिएको छ । यो सिजन उसको प्रदर्शन अब्बल छ । यो सिजन लिग चरणदेखि नै इन्टरले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । 

inter

लिग चरणको खेलमा तालिकाको चौथो स्थानमा रहँदै इन्टर मिलान सिधै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको हो । लिग चरणमा इन्टर मिलानले आठमध्ये एक खेलमा मात्र हारको सामना गर्नु परेको थियो । इन्टर मिलानले ६ खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको थियो । 

लिग चरणमा इन्टर मिलान इङ्लिस क्लब म्यानचेस्टर सिटीसँग गोलरहित बराबरीमा रोकिएको थियो भने जर्मन प्रतिद्वन्द्वी बायर लेभरकुजेनसँग ०–१ गोलले पराजित भएको थियो । अन्तिम १६ टोलीबिचको भिडन्तमा पनि इन्टर मिलानले राम्रो प्रदर्शन गर्‍यो । 

अन्तिम १६ टोलीबिचको भिडन्तमा इन्टर मिलानले डच क्लब फेयनुर्डलाई ४–१ कुल गोल भिन्नताका आधारमा पाखा लगायो । पहिलो लेग खेलमा इन्टर मिलान २–० गोलले विजयी भएको थियो । इन्टर मिलानले दोस्रो लेगको नतिजालाई पनि २–१ गोलले आफ्नो पक्षमा पारेको थियो । 

यसैगरी, इन्टर मिलानले क्वार्टरफाइनल खेलमा बलियो जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिखलाई ४–३ कुल गोल भिन्नताका आधारमा स्तब्ध पारेको थियो । इन्टर मिलान पहिलो लेग खेलमा २–१ गोलले विजयी भएको थियो । दोस्रो लेग खेल भने २–२ गोलको बराबरीमा सकिएको थियो ।

कम छैन पेरिस सेन्ट जर्मन

बलियो फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले हालसम्म एकपटक पनि च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । पीएसजी हालसम्म एकपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । सन् २०१९–२० सिजनको फाइनलमा बायर्न म्युनिखले पीएसजीलाई १–० गोलले हराएको थियो । 

यो सिजन पीएसजी पहिलो पटक उपाधि जित्ने अभियानमा देखिन्छ । रमाइलो संयोग के हो भने, हालसम्म एउटा फ्रान्सेली क्लबले मात्र च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छ । सन् १९९२–९३ सिजनको फाइनलमा फ्रान्सेली क्लब मार्सिल्लेले इटालियन क्लब एसी मिलानलाई १–० गोलले हराउँदै उपाधि चुमेको थियो ।

psg

यसदेखि वाहेक कुनै पनि फ्रान्सेली क्लबले च्याम्पियन्स लिग जितेका छैनन् । त्यसैले यो सिजन पीएसजी उपाधि जितेर इतिहास रच्ने योजनामा छ । यो सिजन लिग चरणदेखि नै पीएसजी अन्तिम समयमा भाग्यमानी बन्दै सेमिफाइनलसम्म पुगेको हो । 

लिग चरणको खेलमा अंक तालिकाको माथिल्लो आठभित्र पर्न नसकेपछि पीएसजीले नकआउट चरणमा पुग्न प्ले–अफ खेल्नु परेको थियो । अन्ततः तालिकाको १५औँ स्थानमा रहँदै पीएसजी प्रतियोगिताको नकआउट चरणमा पुग्न सफल भयो । 

लिग चरणमा पीएजसीले आठमध्ये चार खेलमा जित, एक खेलमा बराबरी र तीन खेलमा हारको नतिजा निकालेको थियो । अन्तिम १६ टोलीबिचको भिडन्तबाट अगाडि बढ्न पनि पीएसजीले पेनाल्टी सुटआउटको सहारा लिनु परेको थियो ।

प्रिक्वार्टरफाइनलमा पीएसजी र बलियो इङ्लिस प्रतिद्वन्द्वी लिभरपुलबिचको कुल गोल भिन्नता १–१ भएको थियो । त्यसपछि पेनाल्टी सुटआउटमा लिभरपुललाई ४–१ गोलले स्तब्ध पार्दै पीएसजी क्वार्टरफाइनलमा पुग्न सफल भयो । पहिलो लेग खेलमा लिभरपुल १–० र दोस्रो लेग खेलमा पीएसजी १–० गोलले विजयी भएका थिए ।

त्यसपछि क्वार्टरफाइनल खेलमा जित निकाल्न पनि पीएसजीले ठुलै सँघर्ष गर्नु परेको थियो । क्वार्टरफाइनलमा पीएसजीले इङ्लिस क्लब एस्टन भिल्लालाई ५–४ कुल गोल भिन्नताका आधारमा जिल्याएको थियो । पहिलो लेग खेलमा पीएसजी ३–१ गोलले विजयी भएको थियो । दोस्रो लेग खेलमा भने एस्टन भिल्ला ३–२ गोलले विजयी भएको थियो । सधैं अन्तिम चरणमा भाग्यमानी सावित हुँदै आएको पीएसजी यो सिजन जुनसुकै टोलीविरुद्ध पनि अप्रत्यासित नतिजा निकाल्न सक्षम देखिन्छ ।

स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडको बिजोग

च्याम्पियन्स लिगको इतिहासमा सर्वाधिक सफल क्लब रियल म्याड्रिडका लागि भने यो संस्करण बिर्सनलायक रह्यो । १५ पटकको च्याम्पियन्स लिग विजेता स्पेनिस क्लब रियल म्याड्रिड क्वार्टरफाइनलमै पराजित भयो । 

स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडले लिग चरणको खेलदेखि नै निराशाजनक प्रदर्शन गर्दै आएको थियो । लिग चरणबाट बल्लतल्ल नकआउट चरणमा पुगेको थियो । लिग चरणको तालिकामा ११औँ स्थानमा रहँदै रियल अगाडि बढेको थियो । 

रियलले अन्तिम १६ टोलीबिचको भिडन्त (नकआउट चरण) बाट अगाडि बढ्न पनि निकै ठुलो सँघर्ष गर्नु परेको थियो । रियलले प्रतियोगिताको क्वार्टरफाइनलमा स्थान पक्का गर्न पनि पेनाल्टी सुटआउटको भर पर्नु परेको थियो । प्रि–क्वार्टरफाइनलमा रियलले एट्लेटिको म्याड्रिडलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो । 

sad-madrid

त्यसपछि क्वार्टरफाइनलमा खेलमा आर्सनलले रियललाई स्तब्ध पारेको थियो । क्वार्टरफाइनलमा त रियलले झनै निराशाजनक प्रदर्शन गर्‍यो । आर्सनलको घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा ३–० गोलले पराजित भएको रियल आफ्नै घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलमा पनि २–१ गोलले पराजित हुन पुग्यो । 

समग्रमा आर्सनलसँग ५–१ गोलले स्तब्ध बनेपछि रियलको कीर्तिमानी रूपमा १६औँ उपाधि चुम्ने सपना चकनाचुर बनेको थियो । रियल म्याड्रिड च्याम्पियन्स लिगको साविक विजेता पनि हो । अघिल्लो सिजनको फाइनलमा रियलले जर्मन प्रतिद्वन्द्वी बोरुसिया डर्टमन्डलाई २–० गोलले हराएको थियो ।

अन्तिम १६ मै चिप्लियो बलियो लिभरपुल

इङ्लिस क्लब लिभरपुलका लागि पनि जारी सिजनको च्याम्पियन्स लिग निराशाजनक रह्यो । सातौँ पटक च्याम्पियन्स लिगको उपाधि चुम्ने लिभरपुलको सपना प्रिक्वार्टरफाइनल चरणमै तुहिन पुग्यो । लिरभपुल च्याम्पियन्स लिगमा चारपटकको उपविजेता पनि हो । 

लिरभपुलले पछिल्लो पटक सन् २०१८–१९ सिजनमा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । त्यो सिजनको फाइनलमा लिभरपुलले आफ्नै राष्ट्रको टोट्टनहामलाई २–० गोलले हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो । 

यो सिजन लिभरपुलले लिग चरणमा अब्बल प्रदर्शन गरेको थियो । लिभरपुल लिग चरणमा अंक तालिकाको पहिलो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको थियो । लिभरपुलले आफूले खेलेको आठमध्ये सात खेलमा जित हात पारेको थियो ।

sad-liverpool

लिग चरणको एक खेलमा भने लिभरपुल पराजित भएको थियो । डच क्लब पीएसभी आइन्डोभनले घरेलु मैदानमा लिभरपुललाई ३–२ गोलले हारको स्वाद चखाएको थियो । बाँकी सबै खेलमा लिभरपुल विजयी भएको थियो । 

तर, अन्तिम १६ टोलीबिचको भिडन्त लिभरपुलका लागि दूर्भाग्य बन्न पुग्यो । प्रिक्वार्टरफाइनल चरणमा लिभरपुललाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मनले पेनाल्टी सुटआउटमा ४–१ गोलले स्तब्ध पार्‍यो । दुबै टोलीबिचको कुल गोल भिन्नता १–१ भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । 

घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमा लिभरपुल १–० गोलले विजयी भएको थियो । पीएसजीको घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेलमा पनि लिभरपुलले गतिलो प्रदर्शन गरेको थियो । तर, खेलको अतिरिक्त समयमा पीएजजीले १–० गोलले नतिजा आफ्नो पक्षमा पारेको थियो । यसरी लिरभपुलको सातौँ पटक उपाधि जित्ने सपना चकनाचुर बन्न पुगेको थियो ।

बलियो बायर्न म्युनिखको बिचल्ली 

च्याम्पियन्स लिग फुटबलको इतिहासमा जर्मन क्लब बायर्न म्युनिखल पनि सर्वाधिक सफल टोलीमध्ये एक हो । बायर्न म्युनिखले हालसम्म ६ पटक च्याम्पियन्स लिगको उपाधि चुमिसकेको छ । बायर्न पाँचपटक उपविजेता पनि बनेको छ । 

बायर्न म्युनिखले पछिल्लो पटक सन् २०१९–२० सिजनमा च्याम्पियन्स लिगको उपाधि चुमेको थियो । त्यतिबेला बायर्न म्युनिखले फाइनलमा भिडन्तमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मनलाई १–० गोलले हराएको थियो । 
यो सिजन बायर्न म्युनिख सातौँ उपाधि कुम्ल्याउने अभियानमा थियो । लिग चरणमा बायर्न म्युनिख तालिकाको १२औँ स्थानमा रहँदै अगाडि बढेको थियो । लिग चरणमा बायर्न म्युनिखले आठमध्ये पाँच खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको थियो । 

अन्तिम १६ टोलीबिचको भिडन्तमा भने बायर्न म्युनिखले गजबको प्रदर्शन गरेको थियो । बायर्न म्युनिखले प्रिक्वार्टरफाइनल चरणमा आफ्नै राष्ट्रको बायर लेभरकुजेनलाई ५–० कुल गोल भिन्नताका आधारमा पछि पारेको थियो । 

sad-baryen

पहिलो लेग खेलमा ३–० गोलले विजयी भएको बायर्न म्युनिखले दोस्रो लेगको नतिजालाई पनि २–० गोलले आफ्नो पक्षमा पारेको थियो । तर, क्वार्टरफाइनल खेलमा बायर्न म्युनिखलाई इटालियन प्रतिद्वन्द्वी इन्टर मिलानले नमिठो हारको स्वाद चखायो ।  

इन्टर मिलानले बायर्न म्युनिखलाई ४–३ कुल गोल भिन्नताका आधारमा पछि पार्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । घरेलु मैदानमा खेलिएको पहिलो लेग खेलमै बायर्न म्युनिख १–२ गोलले पराजित भएको थियो । 

इन्टर मिलानको घरेलु मैदानमा खेलिएको दोस्रो लेग खेल भने २–२ गोलको बराबरीमा सकिएको थियो । यसरी सातौँ पटक उपाधि कुम्ल्याउने बायर्न म्युनिखको सपना क्वार्टरफाइनलमा आएर भताभुङ्ग भएको थियो ।

सेमिसम्मका सर्वाधिक गोलकर्ता 

जारी सिजनको च्याम्पियन्स लिगमा सेमिफाइनल समीकरण पूरा हुँदासम्म जर्मन क्लब बोरुसिया डर्टमन्डका सेरहु गुइरासी सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा पहिलो स्थानमा आसिन छन् । उनको टोली क्वार्टरफाइनलमै पराजित भइसकेको छ । उनले हालसम्म १३ गोल गरेका छन् । टोली उपाधि होडबाट बाहिरिइएकाले उनले थप गोल गर्ने सम्भावना छैन । 

सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा बार्सिलोनाका राफिन्हा दोस्रो स्थानमा आसिन छन् । उनले हालसम्म १२ गोल गरिसकेका छन् । बार्सिलोना प्रतियोगिताको सेमिफाइनलमा पुगेकाले उनले गुइरासीलाई उछिन्ने बलियो सम्भावना देखिन्छ । 

serhou-guirassy

यसैगरी, सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा तेस्रो स्थानमा पनि बार्सिलोनाकै रोबर्ट लेवान्डोवस्की छन् । उनले हालसम्म ११ गोल गरेका छन् । जर्मन क्लब बायर्न म्युनिखका प्रभावशाली खेलाडी ह्यारी केनले पनि ११ गोल गरेका छन् । तर, उनको टोली पनि उपाधि होडबाट बाहिरिइसकेको छ । 

यसैगरी, इन्टर मिलानका लाउटारो मार्टिनेज, म्यानचेस्टर सिटीका अर्लिङ हालान्ड र रियल म्याड्रिडका भिनिसियस जुनियरले पनि आठ–आठ गोल गरेका छन् । म्यानचेस्टर सिटी र रियल म्याड्रिड उपाधि होडबाट बाहिरिएकाले इन्टर मिलानका मार्टिनेजको मात्र अगाडि बढ्ने सम्भावना देखिन्छ ।

rafinha

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप