शनिबार, ०६ वैशाख २०८२
ताजा लोकप्रिय

सैलुनमा एसी र इन्भर्टर जोड्न दिने तोकादेश तथ्यहीन र अतिरञ्जित – उपमहानगरपालिका

बिहीबार, ०४ वैशाख २०८२, १९ : ०९
बिहीबार, ०४ वैशाख २०८२

हेटौँडा । सैलुनमा एसी र इन्भर्टर जोड्न बजेट दिएको घटना तथ्यहीन र अतिरञ्जित भएको हेटौँडा उपमहानगरपालिकाले बताएको छ । 

मेयर मीना कुमारी लामाको निर्देशनमा उपमहानगपालिकाको बजेटबाट सैलुनमा एसी जोड्ने विषयमा आएका समाचार भ्रामक रहेको भन्दै नगरपालिकाले खण्डन गरेको हो । 

उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बिहीबार एक विज्ञप्ति जारी गरी उपमहानगर र नगर प्रमुखसँग सम्बन्धित भई सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएका टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

सामाजिक सञ्जाल र अनलाइन समाचारहरूमा प्रस्तुत गरेजसरी कुनै पनि व्यक्तिलाई उपमहानगरपालिकाबाट बजेट नदिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

'नियमसंगत ढंगबाट प्राप्त निवेदनलाई दर्ता गरी सम्बन्धित शाखाबाट अध्ययन तथा प्रक्रियामा लगिएको' विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सञ्चारमाध्यममा आएजसरी व्यक्तिगत लाभको लागि कुनै बजेट विनियोजन नगरिएको पनि उपमहानगरले स्पष्ट पारेको छ । उपमहानगरपालिकामा प्राप्त निवेदनलाई आवश्यकता, औचित्य र कानुनी प्रक्रियाको आधारमा मात्र मागको सम्बोधन गरिने विज्ञप्तिमा जनाइएको छ । 

‘स्थानीय सरकार भनेको नागरिकको घरआँगनको सरकार हो । यहाँ नागरिकका साना ठुला हरेक समस्या दर्ता गरिन्छन् र तिनको समाधानका लागि स्थानीय सरकार सधैँ संवेदनशील र प्रतिबद्ध रहन्छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘नागरिकबाट प्राप्त हुने गुनासा, निवेदन वा सुझावहरूलाई दर्ता गरी सम्बन्धित शाखाबाट अध्ययन गराउने र आवश्यकताअनुसार कानुनी तथा प्रक्रियागत मूल्यांकनपश्चात् मात्रै सम्बोधन गर्ने हाम्रो स्थायी प्रक्रिया हो । हाल चर्चामा आएको “नगरप्रमुखले एसी जोड्न निर्देशन दिएको” भन्ने समाचार पूर्णतः तथ्यहीन र अतिरञ्जित छ ।’ 

नगरप्रमुखबाट कुनै व्यक्तिगत निर्देशन नदिइएको र प्राप्त निवेदनलाई नियमअनुसार दर्ता गरी सम्बोधनको प्रक्रिया मात्र अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ ।

उपमहानगरपालिका सञ्चार स्वतन्त्रताको सम्मान गर्दै सञ्चार माध्यमप्रति अनादर प्रकट गर्न नचाएको तर, तथ्य र प्रक्रियाविपरीत गई अतिरञ्जित रूपमा प्रस्तुत गरिएका सामग्रीले नागरिकमा भ्रम फैलाउने भएकाले जिम्मेवारीपूर्वक सत्य र सन्तुलित सूचनाको प्रसार गर्न उपमहानगरले सञ्चारमाध्यमलाई आग्रह पनि गरेको छ । 

हेटौँडा–४ शितलमहल चोकस्थित ‘दी नाइन्टिन सैलुन’लाई एसी र इन्भर्टर सहयोग गर्ने तोकादेशको दिएको भन्दै चौतर्फी विरोध भएको थियो । 

यो पनि पढ्नुहोस् 

 

हेटौँडामा सैलुनलाई एसी दिने तोकादेश, मेयर लामाको आलोचना

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप