मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय
बेथिति

पूर्वपर्यटन मन्त्री प्रेम आलेमाथि अख्तियारले थाल्यो छानबिन

बिहीबार, ०४ वैशाख २०८२, १५ : ४१
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौँ ।  पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । 

पूर्वमन्त्री आलेविरुद्ध धनगढी क्षेत्रीय विमानस्थल विस्तारका लागि जग्गा खरिदमा अनियमितता गरेको भन्दै अख्तियारमा २०८१ चैत ११ गते उजुरी परेको थियो । 

उक्त उजुरी परेसँगै अख्तियारले पूर्वमन्त्री आलेमाथि छानबिन प्रक्रिया अघि बढाएको छ । आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग पूर्वमन्त्री आलेले धनगढी विमानस्थल विस्तारको जग्गा खरिदमा अनियमितताबारे परेको उजुरीका विषयमा जवाफ माग गरेको छ । 

aale3

गत २०८१ चैत २० गते आयोगले पर्यटन मन्त्रालयसँग जवाफ माग गर्ने निर्णय गरेको थियो । सोही अनुसार मन्त्रालयलाई उजुरीको विषयमा जवाफका लागि पत्र पठाएको थियो ।

अख्तियारले पत्र पठाएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २०८१ चैत २१ गते नेपाल नागरिक उड्डयन प्राधिकरणलाई अख्तियारबाट प्राप्त उजुरीमा उल्लेख गरिएका विषयमा के कसो भएको हो ? सोको स्पष्ट राय/प्रतिक्रियासहित सम्बद्ध कागजात सात दिनभित्र उपलब्ध गराउन भन्दै पत्र समेत पठाएको छ ।

पूर्वमन्त्री आलेलाई धनगढी विमानस्थल विस्तारमा जग्गा खरिदमा अनियमितता गरेको भन्दै २०८१ चैत ११ गते उजुरी दर्ता भएको थियो । उजुरी दर्तासँगै पूर्वमन्त्री आलेमाथि आयोगले अनुसन्धान प्रक्रिया अघि बढाएको स्रोतले जनाकारी दिएको छ । 

aale4

यस्तो छ– आलेलाई अख्तियारमा परेको उजुरी 

पूर्वमन्त्री आलेले धनगढी विमानस्थल निर्माणका लागि आवश्यक जग्गा खरिदमा कम्पनी खडा गरेर जग्गा अनियमितता र करोडौँ रकम हिनामिना गरेको स्रोत बताउँछ । मन्त्री हुँदा आलेले धनगढी विमानस्थललाई विस्तार गर्ने भन्दै बैंकलाई समेत गुमराहमा राखेर राज्यको ढुकुटीबाट बजेट दुरुपयोग गरेर व्यक्तिगत कम्पनी खडा गर्दै जग्गा खरिद गरेको खुलेको छ । 

आलेले मेघा बैंकका कर्मचारी अमित श्रेष्ठ, बिटुमिन ठेकदार तथा बिचौलिया पवन गुप्ता र स्वकीय सचिव हेमन्त रेग्मीसमेतलाई मिलाएर विमानस्थल आसपासमा जग्गा खरिद गरेको पाइएको छ । आले पर्यटनमन्त्री भएकै बेलामा विमानस्थल क्षेत्र विस्तार गर्ने भन्दै बजेट विनियोजन गरेका थिए । 

बजेट विनियोजन गरेको बेलामै उनले विमानस्थल क्षेत्रमा जग्गा किनेको चर्चा हुँदै आएको थियो । आलेले मन्त्री हुँदा सुरुमा धनगढी विमानस्थल आसपास जग्गा किन्ने तयारी थालेका थिए । त्यसपछि सोही योजनाअनुरुप मन्त्रालय मातहत रहेको नागरिक उड्डयन प्राधिकरणको मुद्दति खातामा रहेको १ अर्ब रुपैयाँ मेघा बैंकमा जम्मा गर्न लगाएको समेत खुलेको छ । 

पूर्वमन्त्री आलेले बैंकमा समेत सेटिङ गरी बैंकबाट जग्गा धितो राख्दै १ अर्ब ऋण लिएका थिए । बैंकबाट १ अर्ब बराबरको ऋण लिएपछि धनगढी विमानस्थल आसपासमा ७५ करोड बराबरको ३० बिघा जग्गा किनेका छन् । ३० विघा जग्गामा स्वकीय सचिव रेग्मी, विमानस्थलका ठेकदार गुप्ता पार्टनर बनाइएको छ । 

स्रोतका अनुसार त्यसबेला आलेको समूहले प्रतिकट्ठा साढे १२ लाखका दरले जग्गा किनेका थिए । विमानस्थल बनेसँगै ५० लाख प्रतिकट्ठाका दरले बेच्ने वा व्यापारिक संरचना निर्माण गर्ने योजना उनीहरूको रहेको स्रोत बताउँछ ।

आले मन्त्रीबाट हटेपछि विमानस्थल विस्तारको योजना अलपत्र रह्यो । आलेले मन्त्री हुँदै बैंकबाट लिएको १ अर्बमध्येको २५ करोड रकमसमेत हिनामिना गरेको स्रोतले बताएको छ ।

धनगढी विमानस्थल विस्तारको योजना ल्याएर मुआब्जाका लागि भनेर १ अर्ब बजेटसमेत छुट्ट्याएका थिए । उनले २०७८ सालमै थालेको उक्त योजना अहिले भने अलपत्र बनेको छ । २०७८ पुस ११ गते मन्त्री आलेको अध्यक्षतामा बसेको बैठकले धनगढी विमानस्थलको विस्तार गर्न भन्दै एक अर्ब बजेट विनियोजन गर्ने निर्णय गरेको थियो । त्यो बेला धनगढीलाई क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्न २५८ बिघा जमिन अधिग्रहण गरेर १८ सय मिटरको धावनमार्गलाई बढाएर २ हजार ५ सय मिटरको बनाउने भनिएको थियो । 

स्रोत सुनिश्चित नै नगरी त्यो बेला बजेट विनियोजन गरिएको थियो । तत्कालीन पर्यटनमन्त्री आले अध्यक्ष रहेको उड्डयन प्राधिकरण बोर्डले २०७७ पुस ११ गते गुरुयोजना स्वीकृत गरेको बाहेक अहिलेसम्म विमानस्थलमा अन्य काम अगाडि बढेको छैन । 

गत चैत ८ गते बसेको सार्वजनिक लेखा समितिमा बोल्दै पूर्वमन्त्री आलेले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई आफूले पार्टीको दबाबमा नियुक्त गरेको बताएका थिए । आलेले आफू संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हुँदा पार्टीका सम्मानित नेता झलनाथ खनाल लगायत नेताको दबाबमा नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक अधिकारीलाई नियुक्ति गर्नुपरेको बताएका थिए । 

‘मलाई एक पटक मेरो पार्टीबाट चिट्ठी आएको थियो– यो–यो मानिसलाई यहाँ नियुक्ति गर्नु भनेर । अब के गर्ने ! समाजवादी नयाँ पार्टी पनि भयो । अलिअलि चलायमान पनि बनाउनुप¥यो,’ उनले भनेका थिए, ‘धेरै दबाबमा, पार्टीका सम्मानित नेता झलनाथ खनाल र अन्य नेताको सिफारिसमा यी दुई अधिकारी नियुक्त गरेँ ।’

आलेले नियुक्त गरेका प्राधिकरणका महानिर्देशक अधिकारीले नै धनगढी विमानस्थलका लागि जग्गा खरिद शीर्षक नै हटाइदिए । अधिकारीले विमानस्थल विस्तारको लागि बजेट नै हटाएपछि विमानस्थल विस्तारको काम अघि बढ्न सकेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अनिष मिजार
अनिष मिजार
लेखकबाट थप