वैशाखमा ५ फिल्म : ऐतिहासिक ‘जार’देखि सामाजिक कथाको ‘झिल्को’सम्म

काठमाडौँ । नेपाली फिल्मका लागि वर्ष २०८१ ऐतिहासिक रह्यो । नेपालीले हिन्दी फिल्मलाई पछि पारेको त्यो वर्ष थुप्रै नेपाली फिल्मले राम्रो व्यवसाय गरे । यसले फिल्म निर्माणसमेत बढाएको तथ्याङ्कले देखाउँछ । फिल्म निर्माण बढेपछि प्रदर्शन पनि बढ्नु स्वाभाविक हो । यद्यपि वैशाखमा त्यसको प्रभाव खासै पर्ने देखिएको छैन । किनभने वैशाखमा प्रदर्शन हुने फिल्मको सङ्ख्या ५ मात्र छ ।
पहिलो साता अर्थात् ५ गते शुक्रबार कुनै पनि नयाँ नेपाली फिल्म रिलिजमा छैनन् । यो मितिमा गत चैत २९मा रिलिज फिल्म ‘पिताम्बर’ र ‘कर्मा’ले नै निरन्तरता पाउने देखिन्छ । ‘पिताम्बर’ले अहिले राम्रो व्यवसाय गरिरहेको छ ।
वैशाखको दोस्रो साता अर्थात् १२ गते शुक्रबार ‘भूठान’ र ‘खेल’ गरेर दुई फिल्म रिलिज तयारीमा रहँदा तेस्रो साता अर्थात् १९ गते एकमात्र फिल्म ‘झिल्को’को प्रदर्शन मिति तय छ ।
अहिले सिङ्गलदेखिए पनि रिलिज मितिसम्ममा ‘झिल्को’सँग भिड्न नयाँ फिल्म नआउला भन्न सकिन्न । त्यस्तै, वैशाखको अन्तिम साता २६ गते शुक्रबार दुई फिल्म ‘ऊनको स्वीटर’ र ‘जार’ले प्रदर्शन मिति तोकेका छन् । समाचार तयार गर्दासम्म यो वैशाखमा दर्शकले ५ नयाँ फिल्म हेर्न पाउने निश्चित भएको छ ।
- कस्ता छन् ५ फिल्म ?
वैशाखमा रिलिज तयारीमा रहेका ५ फिल्मका कथा, कलाकारदेखि मेकर फरक छन् । केहीमा स्टार कलाकारको अभिनय देख्न सकिन्छ भने केही फिल्म यसअघि सफल कहलिएका निर्देशकले बनाएका छन् ।
वैशाखमा सबैभन्दा पहिले रिलिज हुने दुई फिल्म ‘खेल’ र ‘भूठान’ हुन् । ‘भूठान’ यसअघि समीक्षकबाट तारिफ पाउन सफल ‘बुलबुल’ फिल्म दिएका निर्देशक विनोद पौडेलले निर्देशन गरेका हुन् । फिल्मले अमेरिका पुगेका भूटानी शरणार्थीको कथा भन्छ ।
पराइ भूमिमा भौतिक सुख प्राप्त भए पनि धर्म, संस्कार र संकृति नमिल्दा त्यसले पार्ने प्रभाव ‘भूठान’ले देखाउनेछ । हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्ममा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी लगायतको अभिनय देख्न सकिन्छ ।
हलिउडका विश्वविख्यात अभिनेता बु्रस डर्नले पनि फिल्ममा विशेष भूमिका निर्वाह गरेका छन् । ‘भूठान’का निर्मातामा अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटा छन् । फिल्म ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो ।
अर्को फिल्म ‘खेल’मा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, समापिका गौतम, निकिता आचार्य लगायतको अभिनय छ । फिल्मलाई बलिउडका अनुभवी सह–निर्देशक अनुराग प्रधान र नेपालमा लामो समयदेखि सह–निर्देशन गर्दै आएका आस्था श्रेष्ठले संयुक्त निर्देशन गरेका हुन् । फिल्मको कथा नेपाली लोककथा, परम्परा, अध्यात्म, थ्रिलर र सस्पेन्सको मिश्रण बताइन्छ ।
सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता आशिषराज महर्जन, कार्यकारी निर्माता लुइसराज महर्जन, सह–निर्माता कुनालराज गुरुङ र रहिशराज महर्जन छन् ।
त्यस्तै तेस्रो साता रिलिज हुने ‘झिल्को’ बालबालिकामा डिजिटल कुलतको प्रभाव दर्शाउने फिल्म हो । यसअघि ‘झोला’ र ‘भोर’ जस्ता चर्चित र सफल फिल्म दिएका निर्देशक यादव भट्टराईले ‘झिल्को’ बनाएका हुन् । प्रविधि आफैँ खराब होइन, तर त्यसको अनियन्त्रित र असावधानीपूर्ण प्रयोगले बालबालिकाको भविष्य, पारिवारिक सन्तुलन र सामाजिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ भन्ने सन्देश दिने फिल्मलाई मिडिया फर कल्चर प्रा.लि. को ब्यानरमा निर्माण गरिएको हो ।
फिल्ममा आयुषी ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ, र जेभीश श्रेष्ठको अभिनय छ । ‘झिल्को’को कथा तथा पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देव व्रतसँग मिलेर तयार पारेका हुन् भने फिल्मका कार्यकारी निर्माता उमेश पौडेल, निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य छन् ।
यस्तै वैशाख २६ गते रिलिज हुने फिल्म ‘ऊनको स्वीटर’ र ‘जार’मध्ये ‘ऊनको स्वीटर’ नवीन चौहानले निर्देशन गरेका हुन् । आर्टमाण्डू प्रा.लिको पहिलो फिचर फिल्म ‘ऊनको स्वीटर’ यथार्थवादी शैलीमा निर्मित एक सामाजिक कथानक फिल्म भएको बताइन्छ ।
विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगरलगायत कलाकारको अभिनय यो फिल्ममा छ ।
‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित फिल्म हो । सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जको अभिनय रहेको फिल्म फेरी टेल पिक्चर्सको ब्यानरमा निर्माण भएको हो । फूर्वा छिरिङ लामाको निर्देशन रहेको फिल्मको सम्पूर्ण छायाङ्कन सिक्किममा भएको छ ।
होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।
सन् १८ सयको दशक अन्त्यतिर नेपाली समाजमा घटेको एक यथार्थ घटनालाई फिल्मले बोल्नेछ । नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा फिल्म एकसाथ रिलिज हुने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झोलुङ्गे पुल निर्माणले १८ सय घरधुरी लाभान्वित
-
प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने कुरामा भूमिका विहीन भयो : मन्त्री लामिछाने
-
‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’
-
धुलिखेल नगरद्वारा तालिमपछि आठ सय रोजगार
-
रोकियो वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर (तस्बिरहरू)
-
सरकार परिवर्तन हुँदैछ भन्ने हल्लामा सत्यता छैन : गृहमन्त्री लेखक