शनिबार, ०६ वैशाख २०८२
ताजा लोकप्रिय
पुनर्निर्माण

साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने, कुन सडकको कस्तो छ अवस्था ?

बिहीबार, ०४ वैशाख २०८२, २० : ००
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौँ । गत असोजको दोस्रो साता बाढीले क्षतिग्रस्त सडकहरू पुनर्निर्माणका लागि सरकारले ठेक्का खुलाएको छ । क्षतिग्रस्त बीपी राजमार्ग, कान्ति राजमार्ग, अरनिको राजमार्ग, मेची राजमार्ग र थानकोट–चित्लाङ सडकखण्डको पुनर्निर्माण गर्ने गरी ३० दिनको समय दिएर ठेक्का आह्वान गरिएको छ ।

अहिले ठेक्का आह्वान गरी प्रक्रिया अघि बढाए पनि नयाँ आर्थिक वर्ष लागेपछि अर्थात् आगामी साउनदेखि मात्रै निर्माण सुरु हुने सडक विभागले जनाएको छ ।

सडक विभागका इन्जिनियर शुभराज न्यौपानेले असार मसान्तभित्र ठेक्का सम्झौता गरी साउनदेखि स्थायी रूपमा पुनर्निर्माण थाल्ने बताए ।

‘बाढी पहिरोबाट क्षेतिग्रस्त सडकहरू अस्थायी रूपमा पुनर्निर्माण गरी सञ्चालित छन् । स्थायी पुनर्निर्माणका लागि सबैजसो सडकको ठेक्का निकालिसक्यौँ । अब असार मसान्तसम्म ठेक्का सम्झौता गरेर साउनदेखि पुनर्निर्माण थाल्छौँ,’ न्यौपानले भने ।

  • बीपीको तीन वटा प्याकेज ठेक्का खुल्यो, एउटा डिजाइन हुँदै

विपद्बाट क्षतिग्रस्त सडकमध्ये बीपी राजमार्ग चार वटा प्याकेजमा निर्माण गर्ने गरी प्रक्रिया अघि बढाइएको छ । यस राजमार्गको क्षतिग्रस्त २९.५ किलोमिटर सडक दुई लेनमा विस्तारसहित पुनर्निर्माण गरिनेछ । उक्त सडक पुनर्निर्माणका लागि सिन्धुलीतर्फ एउटा र काभ्रेतर्फ तीन वटा प्याकेजमा विभाजन गरी ठेक्का आह्वान सुरु गरिएको छ ।

हालसम्म सिन्धुलीतर्फ एउटा र काभ्रेतर्फ दुई वटा गरी तीन वटा प्याकेजको ठेक्का आह्वान भइसकेको छ । सबै प्याकेजमा ठेक्का आह्वान गरिएको मितिबाट ३० दिनको समयभित्र निर्माण कम्पनीले आवेदन दिनुपर्ने उल्लेख छ ।

गत फागुन २८ गते पहिलो प्याकेज सिन्धुलीतर्फको नेपालथोक–बर्खेखोला खण्डको ठेक्का गरिएको हो, जसको लम्बाई करिब पाँच किलोमिटर छ । त्यस्तै दोस्रो प्याकेज काभ्रे खण्डको डालाबेसीदेखि चार सयबेसीसम्मको ठेक्का आह्वान भएको छ । साढे ८ किलोमिटर खण्डमा चैत ५ मा ठेक्का आह्वान भएको हो ।

चारसय बेसीदेखि भकुन्डेबेसीको ११ किलोमिटर खण्डको चैत ७ गते ठेक्का आह्वान भइसकेको छ । साथै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गर्न चासो देखाएको हुनाले बाँकी रहेको एउटा प्याकेजबारे छलफल भइरहेको सडक विभागले जनाएको छ ।

डालाबेसीदेखि बर्खेखोलासम्मको करिब साढे ५ किलोमिटर दूरीको अन्तिम प्याकेज जाइकाले डिजाइन गर्दैछ । बीपी राजमार्ग पुनर्निर्माणका लागि सरकारले ८ अर्ब ५० करोड रुपैयाँ बराबर स्रोत सहमति दिइएको छ ।

कान्ति राजमार्गका लागि २५ करोड बजेट निकासा

सडक विभागका अनुसार कान्ति राजपथ पनि ठेक्का आह्वान भइसकेको छ । यसमध्ये मकवानपुरतर्फ ३५ किलोमिटर सडक, ललितपुरतर्फ भैंसे, बिर्खेधारा र तीनपानेको पहिरो व्यवस्थापनका लागि ठेक्का आह्वान भइसकेको छ ।

ललितपुरतर्फ दुई वटा र मकवानपुरतर्फ एउटा प्याकेज बनाएर निर्माणका लागि प्रक्रिया थालिएको छ । गत चैतको पहिलो सातातिरै यो राजमार्ग पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । ललितपुरतर्फ करिब ३ सय ५० मिटर पहिरोको खण्ड पर्छ ।

कान्ति राजपथ पुनर्निर्माणका लागि सरकारले २ अर्ब ५२ करोड रुपैयाँको स्रोत सहमति दिइएको छ । यसमध्ये २५ करोड ५ लाख रुपैयाँ बराबर रकम निकासा गरिसकेको जनाइएको छ । कान्ति राजपथ अन्तर्गत बगुवाको पक्की पुलको पहुँचमार्ग बगाएपछि पुनर्निर्माणका लागि ठेक्का भइरहेको छ ।  

क्षतिग्रस्त थानकोट–चित्लाङ सडक खण्डको ३ किलोमिटरमा दुई लेन सडक बनाउने गरी गत चैत ११ गते ठेक्का आह्वान गरिएको छ ।

मेची राजमार्गमा पुस र माघमा ठेक्का गरी पुनर्निर्माण सुरु भइसकेको छ । यस राजमार्गको रमिते खण्डमा ६० प्रतिशत निर्माण सम्पन्न भइसकेको जनाइएको छ । अर्को हेवा खोला खण्डमा पनि गत माघमा ठेक्का निकालिएको थियो । अहिले २५ प्रतिशत निर्माण सम्पन्न भएको जनाइएको छ । इलामको माइखोला खण्डको चैत २२ गते ठेक्का आह्वान गरिएको छ ।

बाढीले क्षति गरेको अर्को राजमार्ग हो अरनिको । यस राजमार्गमा पहिरोले क्षति गरेको क्षेत्रबाहेकको खण्डमा ठेक्का आह्वान भएको छ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको बनदेउ–बाह्रबिसे खण्डको २८ किलोमिटर र बाह्रबिसे–लिपिङको २६ किलोमिटर खण्डको पुनर्निर्माणका लागि ठेक्का आह्वान भइसकेको छ ।

  • १९ अर्ब बजेटमध्ये १ अर्ब बढी निकासा  

गत असोज दोस्रो साता परेको अविरल वर्षासँगै आएको बाढीले क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणमा सरकारले करिब १९ अर्ब बजेटको स्रोत सहमति प्रदान गरिसकेको छ । सडक तथा पुल गरी यस्ता २६ वटा आयोजना पुनर्निर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १३ वटा सडक र १३ वटा पुल पुनर्निर्माणका लागि अर्थ मन्त्रालयसँग बजेट माग गरेपछि उक्त बजेट स्रोत सहमति प्रदान गरेको हो ।

कान्ति राजपथका लागि २५ करोड ५ लाख बराबर रकम निकासा गरेको छ । यस्तै वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम ११ करोड ५० लाख रुपैयाँ, रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षणका लागि १९ करोड १ लाख, राजमार्ग स्तरोन्नति तथा पुनर्स्थापना कार्यक्रमका लागि १ अर्ब ३४ करोड ५४ लाख रुपैयाँ निकासा गरेको छ । यी सम्पूर्ण शीर्षकमा १ अर्ब ९० करोड १० लाख रुपैयाँ बराबर रकम निकासा गरेको छ ।

पुलको ठेक्का अझै खुलेन

बाढीले क्षतिग्रस्त सडकको ठेक्का खुलाए पनि क्षतिग्रस्त पुल पुनर्निर्माणका लागि भने ठेक्का खुलाउन सकेको छैन । बाढीले क्षति पुगेका १३ वटा पुल छन् उक्त पुन पुनर्निर्माणका लागि सरकारले बजेट स्रोत सुनिश्चितता दिइसकेको छ । सडक विभागका महानिर्देशक रामहरि पोखरेलले डिजाइन एण्ड बिल्ड निर्देशिका २०८१ स्वीकृत नभई ठेक्का लगाउन नमिल्ने बताएका छन् ।

‘पुलमा अहिले अलिकति समस्या भएकाले कुनै पनि क्षतिग्रस्त पुलको ठेक्का लागेको छैन । डिजाइन र निर्माण (डिजाइन एन्ड बिल्ड) निर्देशिका, २०८१ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लामो समयदेखि रोकिएको छ,’ उनले भने, ‘उक्त निर्देशिका स्वीकृत भएपछि मात्रै ठेक्का खुलाउन सकिन्छ ।’ मन्त्रिपरिषद्बाट स्वीकृत हुनेबित्तिकै ठेक्का आह्वान गर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप