मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फुटबल लिजेन्ड रोबर्टो कार्लोस एनएसएल क्वालिफायर खेलको विशेष अतिथि

बिहीबार, ०४ वैशाख २०८२, १२ : १७
बिहीबार, ०४ वैशाख २०८२

काठमाडौँ । विश्व फुटबलका महान हस्तीमध्येका एक रोबर्टो कार्लोस फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा विशेष अतिथिको रुपमा सहभागी हुन नेपाल आउने भएका छन् । 

आफ्नो समयका प्रभावशाली ब्राजिलियन खेलाडी कार्लोस वैशाख ५ गते नेपाल आइपुग्ने एनएसएल आयोजकले जनाएको छ । वैशाख ६ गते हुने एनएसएल क्वालिफायर खेलमा रोबर्टो कार्लोस प्रमुख अतिथिको रुपमा उपस्थित हुनेछन् । 

लिगका दुई लोकप्रिय र बलिया टोली ललितपुर सिटी फुटबल क्लब र धनगढी फुटबल क्लबबिच वैशाख ६ गतेको क्वालिफायर खेल हुनेछ । ललितपुर सिटी एफसी र धनगढी एफसी एनएसएल इतिहासकै सफल टोली हुन् । 

अघिल्लो सिजनको फाइनलमा पनि यी दुई टोलीबिच नै भिडन्त भएको थियो । फाइनलमा ललितपुरले धनगढीलाई हराएको थियो ।  दुई पटक फाइनलमा पुगेको धनगढी एफसी यसपटक पनि पहिलो एनएसएल उपाधिको खोजीमा छ । 

रोबर्टो कार्लोस आफ्नो शक्तिशाली फ्रिकिक, गति र मैदानमा अतुलनीय ऊर्जाका लागि परिचित छन् । रियल म्याड्रिड र ब्राजिलियन राष्ट्रिय टोलीका पूर्वखेलाडीसमेत रहिसकेका कार्लोस फुटबल इतिहासका सर्वाधिक सफल डिफेन्डरमध्ये एक हुन् । 

आफ्नो सक्रिय खेल जीवनमा उनले ब्राजिलका लागि फिफा विश्वकप र रियल म्याड्रिडका लागि चारवटा ला लिगा उपाधि चुमेका थिए । दुई दशकभन्दा लामो व्यावसायिक खेलजीवनमा उनले विश्वभरका लाखौँ फुटबलप्रेमीको मन जितेका थिए । 

५२ वर्षीय रोबर्टो कार्लोस क्वालिफायर खेलको एक दिनअघि वैसाख ५ गते नेपाल आइपुग्ने छन् । सोही दिन उनी एक गाला डिनर, विशेष भेटघाट र अन्तरक्रिया कार्यक्रममा सहभागी एनएसएल आयोजकले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप