निरन्तरको कमजोर प्रदर्शनपछि प्ले–अफमा पुग्न सङ्घर्षरत मुम्बई र हैदराबाद आपसमा भिड्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा बिहीबार मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादको सामना गर्दैछ । खेल मुम्बईस्थित वानखेड स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।
जारी आईपीएलमा खेल्न लागिएको यो ३३औँ खेल हो । मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद यो सिजनको आईपीएलमा पहिलो पटक आपसमा भिड्न लागेका हुन् । यी दुबै टोलीले जारी सिजनमा खेल्न लागेको यो सातौँ खेल हो ।
आईपीएलको इतिहासमा मुम्बई इन्डियन्स सर्वाधिक सफल टोलीमध्ये एक हो । मुम्बईले हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ । मुम्बईका अतिरिक्त चेन्नई सुपर किङ्सले मात्र पाँचपटक उपाधि जित्न सकेको छ ।
मुम्बईले सन् २०१३ मा पहिलो पटक उपाधि जितेको थियो । फाइनलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई २३ रनले पराजित गरेको थियो । सन् २०१५ मा मुम्बईले दोस्रोपटक उपाधि जितेको थियो । फाइनलमा मुम्बईले चेन्नईलाई नै ४१ रनले हराएको थियो ।
त्यसपछि मुम्बई इन्डियन्सले सन् २०१७ मा उपाधि जितेको थियो । उक्त संस्करणको फाइनलमा मुम्बईले राइजिङ पुणे सुपरजायन्ट्सलाई एक रनले पराजित गरेको थियो । आईपीएलको इतिहासमा यो सबैभन्दा कम रनअन्तरको जित पनि हो ।
मुम्बईले सन् २०१९ मा चौथो पटक उपाधि उचालेको थियो । उक्त संस्करणको फाइनलमा पनि मुम्बईले चेन्नईलाई एक रनले नै हराएको थियो । मुम्बईले अन्तिम पटक सन् २०२० मा उपाधि जितेको थियो । मुम्बईले फाइनलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराएको थियो ।
सनराइजर्स हैदराबादले भने हालसम्म एकपटक आईपीएलको उपाधि जितेको छ । हैदराबादले सन् २०१६ मा आईपीएलको उपाधि चुमेको थियो । त्यतिबेला हैदराबादले फाइनलमा रोयल च्यालेन्जर्स बेंगलुरुलाई हराएको थियो ।
हैदराबाद सन् २०१८ मा पनि आईपीएलको फाइनलमा पुगेको थियो । त्यतिबेला हैदराबादलाई फाइनलमा चेन्नई सुपर किङ्सले हराएको थियो । हैदराबाद साविक उपविजेता पनि हो । अघिल्लो संस्करणको फाइनलमा हैदराबादको टोली कोलकाता नाइट राइडर्ससँग हारेको थियो ।
दुबै टोलीको निराशाजनक प्रदर्शन
आईपीएलको १८औँ संस्करणमा भने सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स दुबैले निराशाजनक प्रदर्शन गर्दै आएका छन् । यी दुबै टोलीले हालसम्म ६–६ खेल खेलेका छन् । दुबै टोलीको प्ले–अफ चरण यात्रा अन्यौलतमा देखिन्छ ।
मुम्बईले हालसम्म खेलेको ६ मध्ये केवल दुई खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । मुम्बई चार अंकसहित तालिकाको सातौँ स्थानमा आसिन छ ।
हैदराबादले पनि ६ मध्ये दुई खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । हैदराबाद चार अंकसहित तालिकाको नवौँ स्थानमा छ ।
हेड टु हेडमा मुम्बई अगाडि
आईपीएलमा हालसम्म मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबिच कुल २३ खेल खेलिएको छ । त्यसमा मुम्बई बलियो देखिन्छ । मुम्बईले १३ खेलमा हैदराबादलाई हराएको छ ।
हैदराबादले भने १० खेलमा मुम्बईलाई पराजित गरेको छ । मुम्बई र हैदराबादबिच हालसम्म वानखेड स्टेडियममा कुल आठ खेल खेलिएको छ । त्यसमध्ये ६ खेलमा मुम्बई र दुई खेलमा हैदराबाद विजयी भएका छन् ।
मुम्बईको सर्वाधिक रन सूर्यकुमारको नाममा
जारी सिजनको आईपीएलमा मुम्बई इन्डियन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान सूर्यकुमार यादव हुन् । उनले हालसम्म खेलेको ६ खेलमा कुल दुई सय ३९ रन बनाएका छन् । मुम्बईका लागि सर्वाधिक विकेट लिने बलर भने अराउन्डर हार्दिक पाण्ड्या हुन् । उनले पाँच खेलमा १० विकेट लिइसकेका छन् ।
लयमा छन् हैदराबादका ट्राभिस हेड
आईपीएलको जारी सिजनमा सनराइजर्स हैदराबादका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान ट्राभिस हेड हुन् । उनले जारी हालसम्म ६ खेल खेल्दै कुल दुई सय १४ रन बनाएका छन् ।
यो सूचिमा दोस्रो स्थानमा रहेका अभिषेक शर्माले कुल एक सय ४१ रन बनाएका छन् । सर्वाधिक विकेट लिने बलर हर्षल पटेल हुन् । उनले आठ विकेट लिएका छन् ।
ब्याट्सम्यानलाई साथ दिने पिच
सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबिच बिहीबारको खेल हुने वानखेड स्टेडियमको पिच ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । त्यसैले यो स्टेडियममा तुलनात्मक रुपमा बढी रन बन्ने गरेको छ ।
यो स्टेडियममा हालसम्म आईपीएलको कुल एक सय १८ खेल खेलिएको छ । त्यमध्ये ५५ खेलमा पहिले ब्याटिङ गर्ने टोली विजयी भएका छन् । ६३ खेलमा भने जवाफी ब्याटिङ गर्ने टोलीले सफलता हात पारेका छन् । यो स्टेडियममा बनेको उच्च स्कोर एक विकेट गुमाएर दुई सय ३५ रन हो । उक्त स्कोर सन् २०१५ मा रोयल च्यालेन्जर्स बेंगलुरुले मुम्बईविरुद्ध बनाएको थियो ।
छैन वर्षाको सम्भावना
मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबादबिच खेल हुने दिन बिहीबार मुम्बईमा वर्षाको कुनै सम्भावना नरहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिनभर घाम लाग्नेछ । बिहीबारको तापक्रम २६ देखि ३५ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ ।
सम्भावित टोली
मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, रायन रिकेल्टन, विल ज्याक्स, सूर्यकुमार यादव, तिलक वर्मा, नमन धीर, मिचेल सान्टनर, दीपक चाहर, ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र आश्विनी कुमार ।
सनराइजर्स हैदराबाद : प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, ईशान किशन, नितिश कुमार रेड्डी, हेनरिक क्लासन, अनिकेत वर्मा, हर्षल पटेल, जिशन अन्सारी, ईशान मालिङ्गा, मोहम्मद शामी र व्यान मुल्डर ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम हो : पूर्वराष्ट्रपति यादव
-
तीनकुने घटना : झण्डै ४७ करोड क्षति भएको प्रारम्भिक मूल्याङ्कन
-
पोखरामा खानेपानी अभाव, पानी माग्दै होटल सङ्घ पुग्यो संस्थान
-
शिक्षकका मुद्दा किनारा लगाउँछु भन्ने शिक्षामन्त्रीले एक्कासि किन दिइन् राजीनामा ?
-
‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’
-
इच्छाशक्ति भएमा अत्यावश्यक सामग्रीको आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी