मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

एमाले मोरङमा वडासम्मै गुट, संस्थापन र इतरसमूहबिच जिल्लामा भएको प्रतिस्पर्धाकै झल्को

नयाँ नेतृत्वमा १३ पालिकामध्ये ३ वटामा मात्रै सहमति
बुधबार, ०३ वैशाख २०८२, १९ : ०१
बुधबार, ०३ वैशाख २०८२

विराटनगर । नेकपा एमाले मोरङको गुटगत प्रतिस्पर्धा स्थानीय तहसम्मै विस्तार भएको छ । यसअघि कोशी प्रदेशको अधिवेशनका क्रममा अध्यक्षको उम्मेद्वारी दिएका नेता विनोद ढकालको समूह र पार्टी अध्यक्ष केपी शर्मा ओली (संस्थापन) समूहबीच जिल्लामा पनि प्रतिस्पर्धा भएको थियो । सो प्रतिस्पर्धामा ढकाल समूहले जितेको थियो । 

त्यही विवाद र प्रतिस्पर्धाको लहर पालिकाहरुमा पनि देखिएको छ । एमाले मोरङले पालिकाहरुको अधिवेशन चैत मसान्तसम्ममा सम्पन्न गर्न निर्देशन दिएको थियो ।

तर, वैशाख ३ गतेसम्ममा १२ वटा पालिकाको अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व चयन भएको छ । मोरङ एमालेका सचिव सोमराज थापाका अनुसार १२ वटा पालिकामध्ये ३ वटा पालिकाहरुमा मात्रै सहमतिमा नेतृत्व चयन भएको छ । जसमा कटहरी, बुढीगंगा र ग्रामथान गाउँपालिका रहेका छन् । 

‘१२ वटामा अधिवेशन सकियो । महानगरपालिकाको हुँदा १३ औंं सकिन्छ,’ थापाले भने, ‘बाँकी मध्ये केराबारी गाउँपालिकाको ५ गते, मिक्लाजुङ र जहदा गाउँपालिकाको ६ गते अधिवेशन तोकिएको छ ।’ लेटाङ नगरपालिकाका एमाले अध्यक्ष कृष्ण लुइँटेल युरोप रहेको कारण उक्त पालिकामा भने अधिवेशनको मिति तय नभएको थापाले बताए । विराटनगर महानगरपालिकाकोको भने २ गतेदेखि सुरु भएको अधिवेशनबाट नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । मतदान भने ४ गते हुने एमाले नेताहरुले बताएका छन् । 

महानगरपालिकामा भने ढकाल समूह र संस्थापन समूहबीच छुट्टा छुट्टै प्यानल देखिएको छ । ढकाल समूहबाट बलराम गिरीलाई अध्यक्षको उम्मेद्वार बनाउँदा संस्थापन पक्षले रोहित कोइरालालाई अध्यक्षको उम्मेद्वार बनाएको छ । दुवै जनाले पदाधिकारीको आ–आफ्ना समूह बनाएका छन् । 

निर्वाचन भएका ९ वटा पालिकामध्ये संस्थापन पक्षले रतुवामाईमा देवि दाहाल, सुनवर्सीमा विष्णु फुयल, बेलबारीमा शंकर गुरुङले जित निकालेको छ । रंगेलीमा भने संस्थापन पक्ष विजयी भएको छ । 

उर्लाबारीमा निर्वाचित निरोज तिम्सिनालाई भने दुवै पक्षले आफ्नो रहेको दाबी गरेको छ । यस्तै, इतर पक्षले पथरी शनिश्चरेमा सञ्जीव गिरी, कानेपोखरीमा भुपाल श्रेष्ठ, सुन्दरहरैंचामा डिल्ली ढकाल निर्वाचित भएका छन् । ग्रामथानमा सत्यनारायण चौधरी, बुढीगंगामा अर्जुन बोगटी र कटहरीमा रामनारायण मण्डल सर्वसम्मत भएका छन् । 

इतर समूहले यी पालिकामा पनि आफूले जीत निकालेको दाबी गरेको छ । मोरङको एमाले राजनीतिमा अहिले स्पष्ट रूपमा दुई धार देखिएको छ ।

जिल्लाको अधिवेशनबाट जबर्जस्ती उपस्थिति देखाएको ढकाल समूहको पुनः उदयले संस्थापन पक्षलाई झड्का लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप