आफ्नो बिदाइ खेलमा मेस्सी र रोनाल्डोसँगै यी स्टार खेलाडीलाई खेलाउन चाहन्छन् कार्लोस टेभेज

काठमाडौँ । अर्जेन्टिनी र म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी कार्लोस टेभेजले आफ्नो बिदाइ खेलमा समकालीन विश्व फुटबलका दुई महान् हस्ती लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोले सँगै खेल्ने विश्वास व्यक्त गरेका छन् ।
४१ वर्षीय टेभेजले यसका लागि आवश्यक तयारी भइरहेको पनि बताएका छन् । आफ्नो समयका प्रभावशाली स्ट्राइकर टेभेजको बिदाइ खेल ला बम्बोनेरामा खेलिने बताइएको छ । आफ्नो दुई दशक लामो खेल जीवनमा टेभेजले यी दुवै महान् खेलाडीसँग खेल्ने अवसर पाएका थिए ।
मेस्सीसँग टेभेजले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट करिब एक दशक सँगै खेलेका थिए । यी दुई खेलाडीले अर्जेन्टिनी टोलीबाट एकसाथ सन् २००६ र सन् २०१० को फिफा विश्वकप खेलेका थिए । यसका अतिरिक्त मेस्सी र टेभेजले अर्जेन्टिनी टोलीबाट सन् २००७, सन् २०११ र सन् २०१५ को कोपा अमेरिका पनि खेलेका थिए ।
यसैगरी, टेभेजले पोर्चुगिज स्टार रोनाल्डोसँग म्यानचेस्टर युनाइटेडमा करिब दुई वर्ष सँगै खेलेका थिए । रोनाल्डो र टेभेज सन् २००७ देखि सन् २००९ सम्म इङ्लिस प्रिमियर लिग क्लब म्यान युनाइटेडमा सँगै थिए ।
त्यतिबेला रोनाल्डो, टेभेज र वेन रोनी मिलेर म्यानचेस्टर युनाइटेडको अग्रपङ्क्तिमा समाल्थे । टेभेजले रोनाल्डोसँग मिलेर म्यान युनाइटेडलाई थुप्रै सफलता पनि दिलाएका छन् । एक अन्तरवार्ताका क्रममा टेभेजले आफ्नो बिदाइ खेलमा रोनाल्डो र मेस्सीलाई सँगै खेलाउनु आफ्नो सपना रहेको बताएका छन् ।
‘मेस्सी र रोनाल्डो दुवै मेरा असल मित्र हुन् । मेरो बिदाइ खेलमा यी दुई हस्तीलाई सँगै खेलाउने इच्छा छ । यसका लागि तयारी पनि भइरहेको छ । मलाई विश्वास छ, उनीहरूले मेरो यो सपना साकार पार्नेछन्,’ टेभेजले भनेका छन्, ‘बिदाइ खेलका लागि उनीहरूलाई लिन पनि म आफैँ जानेछु ।’
टेभेजले मेस्सी र रोनाल्डोका अतिरिक्त आफ्नो बिदाइ खेलमा वेन रोनी, एडविन भान डेर सार, रियो फर्डिनान्ड, नेमान्जा भिडिक र प्याट्रिस एभ्रालाई पनि सँगै खेलाउने तयारी भइरहेको बताए ।
यसका अतिरिक्त उनले आफ्नो बिदाइ खेलमा जर्जियो चिलानी, लियोनार्दो बोनुची र जियानलुइगी बुफोनलाई पनि खेलाउन चाहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्
-
एनआरएनएको विवाद समाधानका लागि अग्रजहरुले मुख्य भूमिका खेल्नुपर्छ : राष्ट्रपति पौडेल