बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय
आईसीसी यू–१९ विश्वकप छनोट क्रिकेट

नेपालको लगातार तेस्रो जित, १३ औँ ओभरमै हङकङलाई हरायो

बुधबार, ०३ वैशाख २०८२, १३ : ४६
बुधबार, ०३ वैशाख २०८२

काठमाडौँ । आईसीसी यू–१९ पुरुष विश्वकप क्रिकेटको एसियाली क्षेत्रको छनोट प्रतियोगितामा घरेलु टोली नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । नेपालले बुधबार खेलिएको खेलमा हङ्ककङ चाइनालाई नौ विकेटको फराकिलो अन्तरले हराएको हो । 

काठमाडौँको तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले ४६.२ ओभरमा अलआउट हुनुअघि एक सय १५ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १२.३ ओभरमै केवल एक विकेट गुमाएर एक सय १८ रन बनाउँदै विजयलक्ष्य पार गर्यो । 

नेपाललाई ओपनर ब्याट्सम्यानद्वय साहिल पटेल र निरज कुमार यादवले गतिलो सुरुवात दिए । यी दुबैले ओपनिङ विकेटका लागि ५५ रनको साझेदारी गरे । छैटौँ ओभरको चौथो बलमा निरज २३ रन बनाउँदै आउट भए । निरजले केवल १२ बलको सामना गरी चार चौका पनि हिर्काए । अर्का ओपनर साहिल ४२ रनमा अविजित रहे । यस क्रममा उनले ४१ बलको सामना गरी आठ चौका हिर्काए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका नरेन भट्टले पनि अविजित ३९ रन बनाए ।

आक्रामक रुपमा प्रस्तुत भएका नरेनले केवल २३ बलको सामना गरी आठ चौका हिर्काए । नेपालले अतिरिक्त रुपमा पनि १४ रन पायो । नेपालको एकमात्र विकेट हङ्कङका बलर सयान पुरीले लिएका थिए ।  त्यसअघि, पहिलो ब्याटिङ गरेको हङ्कङका लागि शिव माथुरले अर्धशतकीय पाली खेलेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका शिवले ६३ रन बनाए । उनले एक सय १६ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए ।

अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन् । ओपनर आर्य पन्जवानीले १३ रन बनाए । ह्यारी थोमसले १० रन बटुले । वीर माथुरले पनि १२ रन जोडे । हङ्कङका अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । हङ्कङले अतिरिक्त रुपमा ११ रन पायो । 

नेपाली टोलीका बलर युवराज खत्रीले फेरि एकपटक उत्कृष्ट प्रदर्शन गरे । उनले १० ओभरमा केवल १८ रन खर्चिएर चार विकेट लिए । ओमानविरुद्धको अघिल्लो खेलमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै पाँच विकेट लिएका थिए । विपिन प्रसाद शर्माले पनि तीन विकेट हात पारे । उनले ६।२ ओभरमा २४ रन खर्चिए । सन्तोष यादवले पनि दुई विकेट लिए । उनले १० ओभरमा २० रन खर्चिए । अशोक धामीले पनि एक विकेट कुम्ल्याए । 

जारी छनोट प्रतियोगितामा नेपालले आफ्नो तेस्रो खेल खेलेको हो । यसअघि आफूले खेलेको दुबै खेलमा नेपाली टोली विजयी भएको थियो । नेपालले आफ्नो पहिलो खेलमा चिरप्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स ९यूएई० लाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा पाँच विकेटले हराएको थियो ।

दोस्रो खेलमा नेपालले ओमानलाई आठ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो । सन् २०२६ मा आयोजना हुने आईसीसी यू–१९ विश्वकपका लागि यो छनोट प्रतियोगिता खेलिँदैछ । छनोट प्रतियोगितामा पाँच टोली सहभागी छन् । 

नेपाल र अफगानिस्तान हालसम्म आफूले खेलेको सबै खेलमा विजयी भएका छन् । हङ्कङ भने लगातार दोस्रो खेलमा पराजित भएको हो । यूएई पनि आफ्नो पहिलो खेलमा पराजित भएको थियो । दुई खेल खेलेको ओमान पनि अघिल्ला दुबै खेलमा पराजित भएको छ । नेपालले आफ्नो चौथो तथा अन्तिम खेल शनिबार बलियो अफगानिस्तानसँग खेल्नेछ । 

यो प्रतियोगिताबाट अंक तालिकाको पहिलो स्थानमा रहने एक टोली सन् २०२६ मा आयोजना हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ । यू–१९ एकदिवसीय विश्वकपको १६औँ संस्करण जिम्बाबे र नामिबियामा संयुक्त रुपमा आयोजना हुँदैछ । 

यू–१९ विश्वकपमा कुल १६ टोलीको सहभागिता रहनेछ । हालसम्म विश्वकप खेल्ने १२ वटा टोलीको टुंगो लागिसकेको छ । जिम्बाबेले आयोजक राष्ट्रका रुपमा विश्वकप खेल्नेछ । तान्जनिया भने अफ्रिकी महादेशबाट विश्वकपमा छनोट भएको हो । 

यसैगरी, साविक विजेता अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, न्युजिल्यान्ड, श्रीलंका, दक्षिण अफ्रिका, वेस्ट इन्डि भने अघिल्लो संस्करणको प्रदर्शनका आधारमा विश्वकपमा छनोट भएका हुन् । अमेरिका, एसिया, पूर्वी एसिया–प्यासिफिक र यूरोपबाट विश्वकपमा छनोट हुने चारवटा टोलीको भने टुङ्गो लाग्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप