बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिटामोल र जीवनजलको उत्पादन रोकियो

डेढ करोडको औषधि स्टकमा, थप औषधि उत्पादनको योजना अलपत्र
बुधबार, ०३ वैशाख २०८२, १३ : ३२
बुधबार, ०३ वैशाख २०८२

काठमाडौँ । नेपाल औषधि लिमिटेडले विगत डेढ महिनादेखि सिटामोल र जीवनजल उत्पादन रोकेको छ । स्वास्थ्य मन्त्रालयले औषधि खरिद प्रक्रिया अगाडि नबढाउँदा सरकारी स्वामित्वको औषधि लिमिटेडले औषधि उत्पादन बन्द गरेको हो । 

कच्चा पदार्थको ठुलो परिमाण खरिद गरेर उत्पादन बढाइए पनि सरकारका विभिन्न निकायहरूले औषधि खरिद नगरेपछि बजारमा विक्री ठप्प हुँदा उत्पादन नै बन्द गर्नुपरेको औषधि लिमिटेडका महाप्रबन्धक कैलाशकुमार पनेरुले बताए । उनकाअनुसार लिमिटेडमा हाल १.५ करोड रुपैयाँ बराबरको औषधि स्टकमा थन्किएको छ । जसमध्ये सिटामोल र जीवनजल सबैभन्दा धेरै छन् । 

२०७९ चैत्र २० गते औषधि लिमिटेडलाई २० प्रकारका औषधि उत्पादन गराउन सरकारले २४ करोड रकम दिने निर्णय भएको थियो । तत्कालीन मुख्यसचिव शंकरदास बैरागीको संयोजकत्वमा गठित समितिले स्वास्थ्य, उद्योग र अर्थ मन्त्रालयलाई नेपाल औषधि लिमिटेडको सुधार योजना पठाउने र त्यसलाई तीन मन्त्रालयले समन्वय गरेर कार्यान्वयनमा निर्णय समेत गरेको थियो । त्यही आधारमा लिमिटेडले दुई चरणमा काम गरेर १० प्रतिशत औषधि उत्पादन वृद्धि गरेको भए पनि त्यो रकम अझै पाउन नसकेको महाप्रबन्धक पनेरुले बताउनु भयो । औषधि उत्पादन १० प्रतिशतले बढाएको भए पनि गत वर्षको जति पनि औषधि उत्पादन गर्न नसकिएको उनको भनाइ छ । 

kailash kumar paneru

औषधि लिमिटेडसँग सम्झौता गर्न नचाहने स्वास्थ्य मन्त्रालयको रवैयाले औषधि लिमिटेड संकटतर्फ गइरहेको पनेरुले बताए । २०७९ चैत २० मा गठित मुख्य सचिवस्तरीय समितिले स्वास्थ्य मन्त्रालय र लिमिटेडबिच औषधि खरिदसम्बन्धी एमओयु गर्न सिफारिस गरे पनि अहिलेसम्म प्रक्रिया अघि बढ्न सकेको छैन । 

उनले भने, ‘सरकारले २०७९ चैत २० मा गठन गरेको मुख्य सचिवस्तरीय समितिले स्वास्थ्य मन्त्रालयसँग लिमिटेडले एमओयु गर्नुपर्ने भनिएको थियो । त्यो कार्य हामीले अगाडि सारिसकेका थियौँ । स्वास्थ्य विभागबाट स्वास्थ्य मन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य विभाग हुँदै त्यो फाइल त्यतैतिर घुमिरहेको छ । स्वास्थ्य मन्त्रालयमा गठन गरिएको समितिले समेत टुंग्याइसकेको अवस्थामा मन्त्रालयमै बसेको छ । हामी त्यसकै प्रतीक्षामा छौँ । त्यसैलाई नै फलो गरिरहेका छौँ ।’

स्वास्थ्य सेवा विभागका केही कर्मचारीहरूको व्यक्तिगत स्वार्थका कारण एमओयू प्रक्रिया अगाडि बढ्न नसकेको महाप्रबन्धक पनेरुको आरोप छ । अहिले सातवटै प्रदेशका प्रदेश आपूर्ति केन्द्र, वीर अस्पताल, सिभिल अस्पताल, गंगालाल हृदय केन्द्र, टेकु अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, अंग प्रत्यारोपण केन्द्र र १२ नगरपालिकाले लिमिटेडको औषधि किन्ने गरेका छन् । तर स्वास्थ्य मन्त्रालय र लिमिटेडबिच एमओय भएको अवस्थामा सबै सरकारी अस्पताल र स्थानीय तहका स्वास्थ्य शाखाहरूले लिमिटेडबाटै औषधि किन्नेछन् ।

  • लिमिटेडको योजना स्वास्थ्य मन्त्रालयका कारण अलपत्र 

सरकारी स्वामित्वको औषधि निर्माता संस्था नेपाल औषधि लिमिटेडले नयाँ प्रकारका औषधि उत्पादन बिस्तार गर्ने योजनामा काम अघि बढाइरहेको छ । तर आवश्यक सरकारी सहयोग नपाउँदा र स्वास्थ्य मन्त्रालयको चासोको अभावका कारण यो योजना अलपत्र परेको छ । महाप्रबन्धक पनेरूका अनुसार लिमिटेडले कोलेस्ट्रोल, मधुमेह (सुगर) र उच्च रक्तचाप (प्रेसर) का औषधि उत्पादन गर्ने तयारी गरिरहेको थियो । तर उत्पादित सिटामोल र जीवन जलकै बजार सुनिश्चित नदेखिएपछि पछि हट्ने तयारी गरेको छ ।

लिमिटेडले आफ्ना औषधिहरू सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा विक्रीका लागि स्वास्थ्य मन्त्रालयसँग एमओय (समझदारीपत्र) गर्न पटक–पटक आग्रह गर्दै आएको छ । तर मन्त्रालयले सम्झौताको प्रक्रिया लम्ब्याउँदै आएको कारण संस्थाको उत्पादन र बिस्तार योजना दुवै अलपत्र अवस्थामा छन् । —न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप