एन्टी बायोटिक औषधिको असर घट्दा गइसक्यो ३० लाख बच्चाको ज्यान

काठमाडौं । सङ्क्रमण गराउने कीटाणुहरूमा एन्टिबायोटिक औषधिको प्रतिरोध गर्न सक्ने क्षमता विकसित हुँदा विश्वभर ३० लाखभन्दा बढी बालबालिकाको मृत्यु भएको आशङ्का गरिएको छ । २०२२ मा गरिएको एक अध्ययनपछि दुई प्रमुख बाल स्वास्थ्य विज्ञहरूले यो कुरा बताएका हुन् ।
यसको सबैभन्दा ठुलो जोखिम अफ्रिका र दक्षिण पूर्वी एसियाका बालबालिकामा पाइएको छ । यो अवस्थालाई एन्टिमाइक्रोबियल रेसिस्टेन्स वा एएमआर भनिन्छ । सङ्क्रमण गराउने कीटाणुहरू शक्तिशाली भएर औषधिले काम नगर्ने वा गरे पनि थोरै मात्रै काम गर्ने स्थिति उत्पन्न हुनुलाई एएमआर भनिन्छ ।
यसलाई विश्वको लागि एक प्रमुख स्वास्थ्य खतरा मानिएको छ । यस नयाँ अध्ययनले एएमआरले बालबालिकाहरूमाथि कस्तो खराब असर पारिरहेको छ भन्ने देखाएको छ । अध्ययनको लागि, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र विश्व बैंक लगायत धेरै संस्थाहरूबाट तथ्याङ्क लिइएको थियो ।
२०२२ मा ३० लाखभन्दा बढी बाल मृत्यु एएमआरसँग सम्बन्धित रहेको अनुसन्धानकर्ताहरूको अनुमान छ । विज्ञहरूका अनुसार अध्ययनले तीन वर्षमा बालबालिकामा एएमआरसँग सम्बन्धित सङ्क्रमण दश गुणाभन्दा बढीले बढेको देखाएको छ । कोभिड महामारीका कारण यो सङ्ख्या अझ खराब भएको हुन सक्ने बताइएको छ ।
एन्टिबायोटिकको बढ्दो प्रयोग
छालाको संक्रमणदेखि निमोनियासम्म धेरै प्रकारका ब्याक्टेरिया सङ्क्रमणहरूको उपचार वा रोकथाम गर्न समेत एन्टिबायोटिकहरूको प्रयोग गरिन्छ । कहिलेकाहीँ यो संक्रमणको उपचारको सट्टा रोकथामको लागि पनि प्रयोग गरिन्छ । उदाहरणका लागि, कसैको शल्यक्रिया भइरहेको छ वा क्यान्सरको लागि केमोथेरापी उपचार भइरहेको छ भने एन्टीबायोटिक्स दिइन्छ ।
तर, सामान्य रुघाखोकी, फ्लू वा कोभिड जस्ता रोग र भाइरल संक्रमणहरूमा एन्टिबायोटिकले कुनै प्रभाव पार्दैन । केही ब्याक्टेरियाले त अब निश्चित खालका औषधिहरूको प्रतिरोध क्षमता समेत विकास गरिसकेका छन् । यसको पछाडिको कारण एन्टिबायोटिकको अनुपयुक्त प्रयोग भनिएको छ ।
नयाँ एन्टिबायोटिक उत्पादन गर्नु लामो र महँगो प्रक्रिया हो । यो कार्य ढिलो पनि भएको छ । एन्टिबायोटिकको प्रयोगमा नाटकीय वृद्धि भएको प्रतिवेदनका प्रमुख लेखक अष्ट्रेलियाको मर्डाेक चिल्ड्रेन्स रिसर्च इन्स्टिच्युटकी डा. यानहोङ जेसिका हु र क्लिन्टन हेल्थ एक्सेस इनिसिएटिभका प्रोफेसर हर्ब हार्भेलले औंल्याएका छन् ।
२०१९ र २०२१ को बीचमा, दक्षिणपूर्वी एसियामा ‘वाच एन्टिबायोटिक’ (प्रतिरोधको उच्च जोखिममा रहेका औषधिहरू)को प्रयोग १६० प्रतिशत बढेको थियो । सोही अवधिमा अफ्रिकामा यसको प्रयोग १२६ प्रतिशतले बढ्यो । त्यति नै बेला दक्षिणपूर्वी एशियामा ‘रिजर्भ एन्टिबायोटिक’को प्रयोग ४५ प्रतिशत र अफ्रिकामा १२५ प्रतिशतले बढ्यो । यस प्रकारको एन्टिबायोटिक गम्भीर प्रतिरोधी सङ्क्रमणहरूको लागि प्रयोग गरिन्छ ।
घट्दै गरेका छन् विकल्पहरू
यदि ब्याक्टेरियाले यी एन्टिबायोटिकहरूको प्रतिरोध विकास गरेमा बहुऔषधि प्रतिरोधी सङ्क्रमणहरूको उपचारको लागि थोरै वा कुनै विकल्प बाँकी नरहने अनुसन्धानकर्ताहरूले चेतावनी दिएका छन् । यस महिनाको अन्त्यतिर भियनामा हुने युरोपियन सोसाइटी अफ क्लिनिकल माइक्रोबायोलोजी एण्ड इन्फेक्सियस डिजिजेजको कांग्रेसमा प्रोफेसर हार्वेलले आफ्नो निष्कर्ष प्रस्तुत गर्नेछन् ।
‘एएमआर एक विश्वव्यापी समस्या हो । यसले सबैलाई असर गर्छ । एएमआरले बालबालिकालाई कसरी असर गर्छ भन्ने कुरामा ध्यान केन्द्रित गर्न हामीले यो काम गरेका हौँ ?’ कार्यक्रम अघि उनले भने ‘हाम्रो अनुमान छ कि एन्टिमाइक्रोबियल प्रतिरोधले विश्वभर तीस लाख बालबालिकाको मृत्यु भएको छ ।’ उनले भनेका छन् ।
के छ एएमआरको समाधान ?
डब्ल्यूएचओले एएमआरलाई अहिलेको सबैभन्दा गम्भीर विश्वव्यापी स्वास्थ्य खतराहरू मध्ये एक भनेको छ । तर यसको समाधान निकाल्न सजिलो नभएको प्रोफेसर हार्वेलले चेतावनी दिन्छन् । ‘यो बहुआयामिक समस्या हो जसले चिकित्साको सबै पक्षलाई समेटेको छ ।
यो वास्तवमा मानव जीवनसम्मै फैलिएको छ । एन्टिबायोटिकहरू हाम्रो वरिपरि छन्, तिनीहरू हाम्रो खाना र वातावरणमा समाहित हुन्छन्, त्यसैले समाधान खोज्न सजिलो छैन,’ स्पष्ट पार्दे उनले भने । प्रतिरोधी सङ्क्रमणबाट बच्ने उत्तम तरिका भनेको सङ्क्रमणबाट पूरै बचेर रहनु भएको उनले बताए । यसका लागि उच्चस्तरीय खोपसँगै सफा पानी र सरसफाइ आवश्यक रहेको उनको भनाइ थियो ।
‘एन्टिबायोटिकको प्रयोग झनै बढ्नेछ किनभने धेरै मानिसहरूलाई यसको आवश्यकता छ तर तिनीहरू उचित रूपमा प्रयोग गरिएको छ र सही औषधिहरू प्रयोग भएका छन् भन्ने चाँहि हामीले सुनिश्चित गर्न आवश्यक छ’ उनले भने ।
नयाँ अध्ययनले अघिल्ला तथ्याङ्कको तुलनामा महत्त्वपूर्ण र चिन्ताजनक वृद्धि देखाएको किंग्स कलेज लन्डनका माइक्रोबायोलोजीका लेक्चरर डा. लिन्डसे एडवड्र्सले भनेका छन् । उनले भने, ‘यी निष्कर्षहरू स्वास्थ्य क्षेत्रमा काम गर्नेहरूका लागि चेतावनी हुन् । यसमाथि निर्णायक कदम नचाल्दा एएमआरले बाल स्वास्थ्यमा दशकौँको प्रगतिलाई कमजोर बनाउन सक्छ । यसले विश्वको सबैभन्दा कमजोर क्षेत्रहरूमा ठुलो हानि पुर्याउन सक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तोरीखेती गर्ने क्षेत्रफलसँगै बढ्यो उत्पादन, यो पल्ट तीन हजार ३४ मेट्रिक टन
-
आलु उब्जाएर तीन महिनामा आठ लाख आम्दानी
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घरेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट