बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय

लस एन्जल्स ओलम्पिकमा क्रिकेट खेल अस्थायी रंगशालामा खेलाइने

बुधबार, ०३ वैशाख २०८२, १२ : ०३
बुधबार, ०३ वैशाख २०८२

काठमाडौँ । सन् २०२८ को ओलम्पिक खेलकुद अमेरिकाको लस एन्जल्समा आयोजना हुँदैछ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले यसपटक ओलम्पिकमा क्रिकेट खेललाई पनि समावेश गरेको छ ।  क्रिकेट खेल एक सय २८ वर्षपछि ओलम्पिकमा फर्किएको हो ।

यसअघि सन् १९०० को ओलम्पिकमा क्रिकेट खेल समावेश गरिएको थियो । लस एन्जल्स ओलम्पिक आयोजक समितिले क्रिकेट खेलका लागि अस्थायी संरचना बनाइने जनाएको छ ।  समाचारमा जनाइए अनुसार, क्रिकेटको अस्थायी रंगशाला क्यालिफोर्नियाको दक्षिण भागमा रहेको पोमोनामा तयार पारिने छ । पोमोना सहर गाडीबाट ओलम्पिक भिलेजभन्दा करिब एक घण्टाको दूरीमा रहेको छ । 

स्थानीय आयोजकले क्रिकेटको अस्थायी रंगशाला तयार पार्न थुप्रै स्थानको खोजी गरिएकोमा पोमोना सहर सबैभन्दा उपयुक्त देखिएको हो । क्रिकेटका खेलाडीहरु पनि क्यालिफोर्निया विश्वविद्यालयमा तयार पारिने ओलम्पिक भिलेजमै बस्नेछन् । 

‘क्रिकेट खेलाडीलाई पनि ओलम्पिक भिलेजमै राखिने छ । जसले गर्दा क्रिकेट खेलाडीहरुले आफूलाई एक्लाएको अनुभव गर्ने छैनन् र उनीहरुले पनि ओलम्पिकमा सहभागी अन्य खेलाडीसँग अनुभव साटासाट गर्ने राम्रो अवसर पाउने छन्,’ स्थानीय आयोजकले भनेको छ ।

 पोमोनामा क्रिकेट खेलका लागि रंगशाला तयार पारिने स्थानलाई फेयरग्राउन्ड्स भनिन्छ । उक्त स्थानलाई आधिकारिक रुपमा फेयरप्लेक्स भनेर चिनिन्छ । उक्त स्थानमा सन् १९२२ देखि लस एन्जल्स काउन्टी फेयर आयोजना हुँदै आएको छ ।  उक्त ओलम्पिकमा क्रिकेटका लागि ९० जना खेलाडीको कोटा निर्धारण गरिएको छ । यस आधारमा ओलम्पिकमा क्रिकेटतर्फ ६ वटा टोलीले मात्र सहभागिता जनाउन पाउने छन् । प्रत्येक टोलीमा १५ जना खेलाडी रहने छन् । 

ओलम्पिकमा खेलाइने क्रिकेट टी–२० ढाँचाको हुनेछ । ओलम्पिकका लागि क्रिकेटको छनोट प्रक्रिया भने हालसम्म निश्चित भइसकेको छैन । सम्भवतः अमेरिकाले उक्त ओलम्पिकमा आयोजकको नाताले स्वतः प्रवेश पाउने छ ।  यस्तो स्थितिमा बाँकी पाँच टोली छनोट चरणबाट आउने छन् ।

यदि ओलम्पिकका लागि वरीयतालाई छनोटको आधार बनाइयो भने केही चर्चित राष्ट्रले सहभागिताको अवसर गुमाउने छन् । विश्व क्रिकेटमा भारत र पाकिस्तानबिचको खेललाई निकै महत्वका साथ हेरिन्छ ।  यदि वरीयताका आधारमा टोली छनोट गरियो भने पाकिस्तानले ओलम्पिक खेल्ने अवसर नपाउन सक्ने सम्भावना देखिन्छ ।

पछिलो समय अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानको प्रदर्शन खासै गतिलो देखिँदैन । तर, हालसम्म ओलम्पिकका लागि छनोटको ढाँचा भने टुंगो लागिसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप