इयुको अदालतमा उपप्रमुख डङ्गोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले लक्जेम्बर्गस्ति इयुको सर्वोच्च अदालत (कोर्ट अफ जस्टिस अफ द युरोपियन युनियन) मा स्थानीय स्तरमा उत्पन्न हुने विवाद समाधानका विषयमा अनुभव आदानप्रदान गरेकी छन् ।
युरोपको औपचारिक भ्रमणमा रहेकी डङ्गोलले त्यहाँ काठमाडौँ महानगरपालिकाको स्थानीयस्तरमा उत्पन्न हुने विवाद समाधान छिटो, छरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी विधि र प्रक्रिया अबलम्वनको अभ्यासबारे अनुभव सुनाएको जानकारी दिइन् ।
‘सबैका लागि न्यायमा सहज पहुँच सुनिश्चित, स्वच्छता, निष्पक्षता, समानता र समन्याय सहितको न्यायिक पद्धतिलाई हामीले कसरी आत्मसात् गरिरहेका छौँ भनेर मैले त्यहाँ हाम्रो अनुभव बताउने अवसर प्राप्त गरेँ,’ डङ्गोलले भनिन्, ‘त्यहाँको अदालतले कसरी काम गरिरहेको छ ? उनीहरूले कुनै पनि मुद्दाको समाधान कसरी गरिरहेका छन् । कति समयावधिमा गर्छन् भन्ने सबै प्रक्रिया बारेमा पनि छलफल गर्ने अवसर प्राप्त भयो ।’
युरोपियन युनियनले अघि बढाएका असल अभ्यासहरूबारे जानकारी दिने र काठमाडौँ महानगरपालिकाले अघि बढाएका असल अभ्यासबारे जानकारी लिने उद्देश्यले डङ्गोललाई युरोपियन युनियनले बेल्जियममा आमन्त्रण गरेको थियो । त्यही सिलसिलामा उनले लक्जेम्बर्गस्थित इयुको सर्वोच्च अदालत (कोर्ट अफ जस्टिस अफ द युरोपियन युनियन) पुगेर अनुभव आदानप्रदान गरेकी हुन् ।
‘त्यहाँको बहस पनि प्रत्यक्ष हेर्ने र सुन्ने अवसर प्राप्त भयो,’ उनले भनिन्, ‘युरोपियन युनियनको न्याय प्रणाली अदालतमा कसरी हुन्छ भन्ने कुराको अनुभव लिएँ ।’ अनुभव आदानप्रदानका क्रममा उनले नेपालमा स्थानीय न्यायिक अभ्यास, इजलास, मेलमिलाप र वैकल्पिक विवाद समाधान अभ्यासबारे समेत जानकारी गराउने अवसर प्राप्त गरेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटकको आगमन
-
इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबिच सहकार्य हुने
-
विस्का नखःको चौथो दिन, रथलाई पोखरीमा स्नान गराइयो (तस्बिरहरू)
-
लन्डन म्याराथनमा सहभागी हुन सन्तोषी बेलायत जाने
-
४ हजार जनाको ईसेवा खाताबाट १ करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ
-
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन