भलिबललाई जीवन बनाएकी संगीता

धनगढी । तराईको चर्को घाम र गर्मी । दिनको तीन घण्टा अभ्यास, थकित शरीर । पसिनाले लतपतिएको शरीरले थकाइको संकेत दिए पनि संगीता बिष्ट त्यसलाई नजरअन्दाज गर्छिन् ।
आजको थकाइले भोलि फल दिन्छ भन्ने उनको मान्यता छ । ‘त्यसैले म हरेक दिन पूरा मन दिएर अभ्यासमा लागिरहेकी छु,’ उनले भनिन् ।
उनलाई ‘यति धेरै दुःख गरेर किन खेल्नुपरेको होला’ भन्नेहरू पनि धेरै छन् । उनी जवाफ दिन्छिन्, ‘भलिबल मैले देखेको सपना हो, सबथोक हो ।’
छोरीलाई चुलोचौकोमा सीमित राख्ने कठोर समाजका लागि भलिबल क्रान्ति पनि हो । परिवार समाज र देशका लागि उनी सुनौलो सपना भलिबलमा देखिरहेकी छन् ।
‘चाहे पूरा होस् या नहोस्, सपना देख्न कहिल्यै छोड्नु हुँदैन भन्छन्, म त्यही विचारमा अडिग छु,’ उनले भनिन् ।
बैतडीको मेलौली नगरपालिका–८, कोटीगाउँमा जन्मिएकी संगीता बिष्टको बाल्यकाल सामान्य थियो । गाउँमा बालिकाहरूलाई खेलमा सक्रिय देख्न कमै पाइन्थ्यो तर संगीता फरक थिइन् । भित्रै कतै आँट, केही गरौँ भन्ने साहसले उनलाई अरूभन्दा फरक बनाउँथ्यो ।
उनका दाजु नै पहिलो व्यक्ति थिए, जसले उनमा खेलको सम्भावना देखे ।
‘तिमी अग्ली छ्यौ, दौडन सक्ने क्षमता छ, भलिबल सिक्नुपर्छ,’ दाजुले भनेपछि संगीता महेन्द्रनगर पुगिन् । त्यहाँबाट सुरु भयो उनको भलिबलको यात्रा ।
पाँच वर्ष अघि उनले महेन्द्रनगरमा भलिबलका आधारभूत कुरा सिकिन् । सुरुवातमा सबै कुरा नयाँ थियो– बल समात्ने शैली, कसरत, अनुशासन तर उनले कहिल्यै हार मानिनन् ।
प्रशिक्षकहरूले पनि उनमा सम्भावना देखे । ‘हातमा भलिबल समात्न पाउँदा गर्व महसुस गरेँ । दाजुको सहयोगले आफ्ना सपना पूरा गर्न पनि मलाई रहर लागेको थियो,’ उनले भनिन् ।
महेन्द्रनगरपछि संगीता धनगढी आइन् । अहिले उनी रंगशालाको भलिबल प्रशिक्षण केन्द्रमा प्रशिक्षक लालबहादुर बटालासँग नियमित अभ्यास गर्छिन् ।
संगीता अहिले धनगढीमा स्नातक प्रथम वर्षमा अध्ययनरत छिन् । बिहान ६ देखि ११ बजे क्याम्पस जान्छिन्, अनि दिउँसोको बाँकी समय भलिबल सिक्न, दौडिन र शारीरिक तन्दुरुस्ती बढाउन बिताउँछिन् ।
उनका बुबाआमालाई छोरीको भलिबल खेलबारे खासै थाहा छैन । उनीहरूलाई खेलबारे जानकारी हुँदैन ।
‘म खेलकुदमा छु भन्ने उहाँहरूलाई खासै थाहा छैन । उहाँहरूको चिन्ता मेरो पढाइ र भविष्यमा राम्रो जागिर हो तर दाजुको साथ पाएपछि म भलिबलमा अघि बढिरहेकी छु,’ संगीता भन्छिन् ।
प्रशिक्षक लालबहादुर बटाला संगीताको भलिबल यात्रा धेरै माथि जानसक्ने बताउँछन् । उनका अनुसार विभागीय टिम र राष्ट्रिय टिममा पुग्ने बलियो आधारको भनेकै संगीताको मेहनत हो । जसले मेहनत गर्छ, उही अगाडि बढ्न सक्ने प्रशिक्षक बटालाको भनाइ छ ।
संगीताले सुदूरपश्चिम प्रदेशबाट पाँच वटा राष्ट्रियस्तरका प्रतियोगिता खेलिसकेकी छन् । उनको पहिलो खेल पाल्पामा भयो, जहाँ दुर्भाग्यवश उनी घाइते भइन् । उनले त्यो खेलमा राम्रो गर्न सकिनन्, तर त्यो अनुभव नै उनको लागि ठुलो पाठ बन्यो ।
पछि उनले चितवन र काठमाडौँमा उमेर समूहको प्रतियोगिता खेलिन् । कोशी प्रदेशमा भएको राष्ट्रिय प्रतियोगितामा भने उनको टिम उपविजेता बन्न सफल भयो । त्यतिखेरको खुसी सम्झिँदा आज पनि उनका आँखा चम्किन्छन् ।
संगीता रिसीभर अट्याक्टरको भूमिकामा खेल्छिन् तर मौका पाउँदा स्पाइक गर्न उनलाई धेरै रमाइलो लाग्छ ।
‘बललाई जब म हातले हान्छु, त्यो आवाज र स्पीड नै बेग्लै हुन्छ,’ उनी मुस्कुराउँदै भन्छिन् ।
अन्तर्राष्ट्रियस्तरमा नेपाली भलिबल टिमले एक्सपोचर कम पाएको छ । घरेलुस्तरमा भलिबल चर्चा राम्रो छ तर खेलाडीले आर्थिक कठिनाइ पनि भोगिरहनु परेको छ ।
‘भलिबलमा पैसा छैन,’ संगीता भन्छिन्, ‘तर आत्मसन्तुष्टि छ । म जुनसुकै दिन थाकेर आए पनि मलाई लागेको हुन्छ– म आज पनि केही अघि बढेँ, गर्दै गए आर्थिक रूपमा पनि बलियो हुन्छु ।’
संगीताले अहिलेसम्म दर्जनौँ घरेलु प्रतियोगिता खेलिसकेकी छिन् र पाँच वटा प्रदेशस्तरीय प्रतियोगितामा भाग लिएकी छन् ।
प्रतियोगितामा भाग लिँदा पाएको सानो रकमले उनलाई डेराको भाडा वा खर्चमा सहयोग गर्छ । संगीताको ठुलो सपना छ– नेपाली राष्ट्रिय महिला भलिबल टिममा समावेश हुनु ।
‘त्यहाँसम्म पुग्न गाह्रो छ भन्ने थाहा छ तर म कहिल्यै हरेस खाएकी छैन । हरेक दिनको मेहनतले मलाई त्यो लक्ष्य नजिक पुर्याइरहेको छ ।’
भलिबल आफ्नो जीवन भएको संगीता दृढताका साथ बताउँछिन् । ‘खेलले मलाई आत्मविश्वासी बनायो, देश चिनाउने बाटो देखायो । जुन खेलाडीको भित्र खेलप्रतिको सच्चा प्रेम हुन्छ, उसलाई रोक्न सकिँदैन ।’
आजका थकाइहरू, पसिनाले भिजेका लुगा, गाह्रो अभ्यास– यी सबैले उनलाई भोलिका जितहरूतिर लाँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्यनिरुपण तथा मेलमिलाप आयोगको पदाधिकारीका लागि १९ जनाको आवेदन
-
आँबुखैरेनीमा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
-
करिब चार अर्बको युनिटी घोटाला : यसरी ठगिएका थिए तीन लाख ६६ हजार सर्वसाधारण
-
नेपाल सुपर लिग : झापासँग रोकियो ललितपुर
-
हत्या गरी फरार रहेका ३ जना पक्राउ
-
दुल्लु दरबार पुनर्निर्माणमा बेवास्ता गरिएपछि उच्च अदालतमा रिट दायर