बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय
कोशी प्रदेश

सुरक्षामा सधैँ चुनौती : कहाँबाट आउँछ साना हतियार ?

बुधबार, ०३ वैशाख २०८२, ११ : ३०
बुधबार, ०३ वैशाख २०८२

विराटनगर । खुला सिमाना भएकाले भारतबाट आउने अवैध साना हतियार नेपालका लागि चुनौती बन्दै गएको छ । पछिल्लो पटक सोमबार सुनसरीको देवानगन्जमा तीन राउन्ड गोली चल्यो । गोली लागेर देवानगन्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता र रविन कुमार यादव घाइते भए ।

घाइतेमध्ये शिवकुमारको अवस्था गम्भीर छ । उनको पेटमा गोली लागेको छ । अहिले उनको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गोली चलाएर तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उक्त गोली साना हतियारबाट चलाइएको प्रहरी बताउँछ ।

‘होम मेड सानो हतियार हो,’ प्रहरी स्रोत भन्छ, ‘तर, हतियार भने अझै फेला परेको छैन ।’

यद्यपि गोली चलाएको आरोपमा देवानगन्ज–१ का २७  वर्षीय रविन कुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादव पक्राउ परेका छन् । अन्य तीन जना फरार छन् ।

गोली चलाउने कामेश्वर यादव रहेको प्रहरी स्रोतको दाबी छ । उनी फरार छन् । लेनदेनको कारणले गोली चलाएको प्रहरीको भनाइ छ ।

प्रहरीले गत भदौ १४ गते मोरङ पथरीशनिश्चरे नगरपालिका–३, विकास टोलका ३२ वर्षीय राजकुमार तुम्बापोलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको थियो । घरको कोठाको र्‍याकभित्र पुरानो अवस्थाको ‘नन वर्किङ’ कटुवा पेस्तोल भेटिएको थियो । उनले पेस्तोल कुन प्रयोजनका लागि कहिले र कहाँबाट ल्याएको हो भन्ने बारेमा खुलेको थिएन ।

खुला सीमाको फाइदा उठाउँदै साना हतियारको प्रयोग र ओसारपसार बढ्दा जिल्लामा सुरक्षा चुनौती थपिएको प्रहरी बताउँछ । कोशी प्रदेशमा चालु आर्थिक वर्षको चैतसम्म  भारतबाट ल्याएका ८ थान साना हतियार र २६ थान गोली बरामद भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ती अवैध हतियारसहित १६ जना पक्राउ परेका छन् ।

सबैभन्दा बढी सुनसरीमा ४ वटा साना हतियारसहित १८ थान गोली बरामद भएको छ भने ९ जना पक्राउ परेका छन् । सुनसरीपछि मोरङमा चालु आर्थिक वर्षको ८ महिनामा ३ वटा साना हतियार, ३ गोली र ५ जना पक्राउ परेका छन् ।

पटकपटक साना हतियार बरामद गर्नु र गोली प्रहारको घटना बढ्नुले पनि सुरक्षा चुनौती रहेको पुष्टि हुन्छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी राजन अधिकारी साना हतियारले सुरक्षा चुनौती थपेको स्वीकार गर्छन् । ‘खुला सीमा छ । चोरबाटो हुँदै राति अपराधमा संलग्नहरू ओहोरदोहोर गर्छन्,’ उनले भने, ‘भ्याएसम्म जाँच र पक्राउ कार्य जारी छ ।’

त्यस्ता हतियार कहाँबाट आउँछ भन्ने विषयमा उनी खुलेर बोल्न चाहँदैनन् । यद्यपि खुला सिमानाको कारण दक्षिणतिरबाटै हतियार आउने उनको आशय थियो।

प्रहरीले साना हतियार ओसारपसार रोक्न निगरानी बढाइरहेको डीआईजी अधिकारीले बताए । ‘आन्तरिक रूपमा गस्ती पनि छ । चुनौती थपिएको छ । खुला सिमानाबाट हतियार आउनसक्ने अवस्था छ । चुनौतीलाई मध्यनजर गरेर कतिपय पक्राउ गरिएको छ,’ उनले भने, ‘गलत बाटोबाट भित्रियो भने पनि खानतलाखी गरेर नियन्त्रणमा प्राथमिकतामा राखिएको छ ।’

पेस्तोलबाट गोली प्रहारको घटना भारतीय सीमावर्ती तराईका जिल्लामा पहिला पनि हुँदै आएको थियो । साना हतियार प्रयोग गरी व्यक्ति हत्या, लुटपाट, चोरी, डकैतीका घटनाहरू हुने गरेको छ । भारत र नेपालमा आपराधिक क्रियाकलाप गरेर लुक्नका लागि वारीपारी गर्छन् । भारतीय बजारमा साना हतियार सहजै खरिदबिक्री हुने गरेको सुरक्षास्रोत दाबी गर्छ ।

‘अहिले पनि बिहारको केही स्थानमा खुलेआम साना हतियारको खरिदबिक्री हुन्छ,’ स्रोत भन्छ । भारतीय खुला नाका र कमजोर सीमा सुरक्षा कारणले तुलनात्मक रूपमा साना हतियारको प्रभावमा कोशी प्रदेशको तराईका जिल्लाहरू झापा, मोरङ र सुनसरी प्रभावित हुने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप