शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

आफ्ना समुदायका व्यक्तिहरूको रिहाइको माग गर्दै वीरगन्जमा हिन्दुवादी सङ्गठनद्वारा प्रदर्शन

बुधबार, ०३ वैशाख २०८२, १० : ०४
बुधबार, ०३ वैशाख २०८२

वीरगन्ज । वीरगन्जमा बुधवार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । आफ्नो समुदायका व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेपछि रिहाइको माग गर्दै हिन्दुवादी सङ्गठनहरूले बिहानैदेखि प्रदर्शन सुरु गरेका हुन् । उनीहरुले महानगरको विभिन्न ठाउँमा टायर बालेर हिन्दुवादी सङ्गठनहरूले प्रदर्शन गरिरहेका छन् । 

सङ्गठनहरूले बिहानैदेखि महानगरको परवानीपुर, प्रतिमा चौक, नेशनल ट्रेडिङसहित विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । बिहानैदेखि सुरु गरिएको प्रदर्शनका कारण बजारमा आंशिक प्रभावसमेत परेको छ । पसलहरू तथा यातायात सवारीसाधनहरू प्रभावित भएका छन् ।

पर्सा प्रहरीले हनुमान जयन्तीको अवसरमा निकालिएको जुलुसमा धार्मिक सद्भाव बिथोलेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । 

सिसिटिभी फुटेज, ड्रोन र सामाजिक सञ्जालको भिडिओको विश्लेषणका आधारमा प्रहरीले मङ्गलवार साँझ दुबै समुदायका २/२ जनालाई पक्राउ गरेको प्रहरी प्रमुख गौतम मिश्रले बताए । 

उनका अनुसार प्रहरीले शेष खुर्सेद आलम, सलाउदिन मियाँ ठकुराइ, रवि सर्राफ र बलजित सिंहलाई पक्राउ गरेको हो । यही पक्राउ प्रकरणमा आफ्नो समुदायका दुई जनालाई किन पक्राउ गरिएको भन्दै हिन्दुवादी सङ्गठनहरूले मङ्गलवार साँझदेखि विरोध जनाउँदै प्रदर्शन गरिरहेका छन् । 

पक्राउ परे लगत्तै हिन्दुवादी सङ्गठनहरू विरोध जनाउन थालेपछि जिल्ला प्रशासन कार्यालय पर्साले उनीहरूलाई बिहान ११ बजेदेखि छलफलका लागि बोलाएको छ । पुनः उत्पन्न विवादबारे छलफलका लागि बोलाइएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । 

उनका अनुसार सबैसँग समन्वय गरेर समस्या समाधान गर्नका लागि प्रशासनले यो पहलकदमी गरेको हो । गएको ३० गते वीरगन्जमा हनुमान जयन्तीको अवसरमा शोभायात्रा निकाल्दा दुई समुदायबिच विवाद भएको थियो । सोही विषयलाई लिएर अहिले वीरगन्ज तनावग्रस्त बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप