बलियो दिल्लीलाई १० वर्षपछि उसैको घरेलु मैदानमा हराउने योजना बुन्दै राजस्थान

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा बुधबार दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स आपसमा भिड्दैछन् । खेल दिल्लीस्थित अरुण जेटली क्रिकेट स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ ।
जारी आईपीएलमा खेल्न लागिएको यो ३२औँ खेल हो । प्रतियोगितामा दिल्ली र राजस्थान फरक परिस्थितिबाट अघि बढिरहेका टोली हुन् । प्रतियोगिताको प्ले–अफ चरणमा पुग्न दिल्लीको यात्रा सहज देखिन्छ भने राजस्थानले प्ले–अफ चरणमा पुग्न निकै सङ्घर्ष गर्नुपर्ने अवस्था छ ।
आईपीएलको १८औँ संस्करणमा दिल्लीले आफ्नो छैटौँ खेल खेल्न लागेको हो । राजस्थानले भने सातौँ खेल खेल्न लागेको हो । राजस्थान आईपीएलको पूर्वविजेता हो । राजस्थानले सन् २००८ मा आयोजित पहिलो संस्करणको उपाधि जितेको थियो ।
त्यतिबेला राजस्थान रोयल्सले फाइनलमा चेन्नई सुपर किङ्सलाई तीन विकेटले पराजित गरेको थियो । राजस्थान रोयल्सको टोली सन् २०२२ को फाइनलमा भने गुजरात टाइटन्ससँग सात विकेटले पराजित भएको थियो ।
दिल्ली क्यापिटल्स सन् २००८ मा आयोजित पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागी हुँदै आएको छ । तर, दिल्लीले हालसम्म उपाधि भने जित्न सकेको छैन । सुरुवाती संस्करणमा दिल्लीको टोली दिल्ली डेयरडेभिल्सको नामबाट सहभागी भएको थियो ।
दिल्ली हालसम्म एकपटक आईपीएलको फाइनलमा पुगेको छ । सन् २०२० मा दिल्ली प्रतियोगिताको फाइनलमा पुगेको थियो । तर, उक्त संस्करणको फाइनलमा दिल्लीको टोली मुम्बई इन्डियन्ससँग पाँच विकेटले पराजित भएको थियो ।
हेड टु हेडमा एक खेलको अन्तर
आईपीएलमा हालसम्म दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबिच कुल २९ खेल खेलिएको छ । त्यसमा दुबै टोलीबिच केवल एक खेलको अन्तर देखिन्छ । राजस्थानले १५ खेलमा दिल्लीलाई हराएको छ । दिल्लीले भने १४ खेलमा राजस्थानलाई पराजित गरेको छ ।
अरुण जेटली स्टेडियममा यी दुई टोलीबिच हालसम्म नौ खेल खेलिएको छ । त्यसमा भने दिल्ली अगाडि देखिन्छ । यो स्टेडियममा खेलिएको ६ खेलमा दिल्लीले राजस्थानलाई हराएको छ । बाँकी तीन खेलमा राजस्थान विजयी भएको छ ।
आईपीएलमा यी दुई टोली पछिल्लो पटक सन् २०२४ को संस्करणमा आपसमा भिडेका थिए । त्यो खेलमा दिल्लीले राजस्थानलाई हराएको थियो । राजस्थानले अरुण जेटली स्टेडियममा पछिल्लो पटक सन् २०१५ मा खेल जितेको थियो ।
दिल्लीको दुई बलर कुलदीप र स्टार्क लयमा
आईपीएलको जारी संस्करणमा दिल्ली क्यापिटल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान केएल राहुल हुन् । उनले दिल्लीका लागि कुल दुई सय रन बनाइसकेका छन् । दिल्लीका लागि सर्वाधिक विकेट लिने बलर भने कुलदीप यादव हुन् । उनले पाँच खेलमा १० विकेट लिएका छन् । मिचेल स्टार्कले पनि पाँच खेलमा नौ विकेट लिएका छन् ।
राजस्थानको सर्वाधिक रन सामसनको नाममा
जारी आईपीएलमा राजस्थान रोयल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कप्तान सन्जु सामसन हुन् । उनले टोलीका लागि ६ खेलमा कुल एक सय ९३ रन बनाएका छन् । उनले एउटा अर्धशतक पनि बनाएका छन् । सर्वाधिक विकेट लिने बलर भने वानिन्दु हसरंगा हुन् । उनले चार खेलमा ६ विकेट लिएका छन् । उनले चेन्नई सुपर किङ्सविरुद्ध ३५ रन खर्चिएर चार विकेट लिएका थिए ।
ब्याट्सम्यानलाई साथ दिने पिच
राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबिच बुधबारको खेल हुने अरुण जेटली स्टेडियमको पिच ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल ९० खेल खेलिएको छ । ४३ खेलमा पहिलो ब्याटिङ गर्ने टोली र ४६ खेलमा जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् । एक खेल भने अनिर्णीत रूपमा सकिएको छ ।
छैन वर्षाको सम्भावना
दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सबिच खेल हुने दिन बुधबार दिल्लीमा वर्षाको कुनै सम्भावना नरहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिनभर चर्को गर्मी हुनेछ । दिल्लीको तापक्रम २७ देखि ३९ डिग्री सेल्सियसको बिचमा रहने छ ।
सम्भावित टोली
दिल्ली क्यापिटल्स : अक्षर पटेल (कप्तान), अभिषेक पोरेल, ज्याक फ्रेजर म्याकगर्क, केएल राहुल (विकेटकिपर), ट्रिस्टन स्टब्स, आशुतोष शर्मा, विपराज निगम, मिचेल स्टार्क, कुलदीप यादव, मोहित शर्मा, मुकेश कुमार र करुण नायर ।
राजस्थान रोयल्स : सन्जु सामसन (कप्तान एवम् विकेटकिपर), यशस्वी जैसवाल, नितिश राणा, रियान पराग, ध्रुव जुरेल, शिमरन हेटमायर, वानिन्दु हसरंगा, जोफ्रा आर्चर, महिश तिक्षणा, तुषार देशपाण्डे, सन्दीप शर्मा र कुमार कार्तिकेय ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन