एमालेभित्र विवादः विनोद ढकाललाई पर्शुराम बस्नेतले 'अवैधानिक' भनेपछि...

विराटनगर । नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशनको क्रममा एमाले नेता विनोद ढकाललाई पर्शुराम बस्नेतले अवैधानिक भनेपछि हंगामा भएको छ ।
विराटनगरको अधिवेशनस्थल पार्टी कार्यालय पाञ्चालीमा मंगलबार उद्घाटन भएको थियो । अधिवेशन उद्घाटनमा केन्द्रीय सल्लाहकार समितिका सदस्य ढकाललाई मन्तव्य राख्न दिन लागेपछि एमाले महानगरका इन्चार्जसमेत रहेका बस्नेतले ‘अवैधानिक’ नेतालाई किन बोल्न दिनु भन्ने प्रश्न गरेका थिए । त्यसपछि विनोद ढकालले आफूलाई अवैधानिक भन्ने तपाईं को हो भनेर प्रतिवाद गरेका थिए । दुई पक्षको भनाभन तीव्र बनेपछि एमाले कोशी प्रदेशका इन्चार्जसमेत रहेका स्थायी समिति सदस्य शेरधन राईले मिलाउने प्रयास गरेका थिए ।
दुईपक्षबिच विवाद लम्बिएपछि नेता ढकालले मञ्चमा आफूले लगाएको खादा फालेर तल झरेका थिए । ढकाललाई पुनः मञ्चमा लैजान स्थानीय नेताहरूले निक्कैबेर कसरत गरेका थिए । प्रत्यक्षदर्शीका अनुसार ढकाललाई मन्तव्य राख्नका लागि प्रदेश इन्चार्ज राईले नै आग्रह गरेका थिए । ‘प्रदेश इन्चार्ज शेरधन राईले नै विनोद दाईलाई बोल्न आग्रह गर्नुभयो,’ नाम नबताउने शर्तमा उनले भने, ‘तर, विनोद दाईलाई समय दिन लागेपछि महानगर इन्चार्ज पर्शुराम बस्नेतले अवैधानिक व्यक्तिलाई किन दिनु भनेपछि विवाद भयो ।’
एमाले मोरङका सचिव सोमराज थापाले केही भनाभन भएपनि यो ठूलो विषय नरहेको बताए । ‘बोल्ने विषयमा विवाद भयो,’ थापाले भने, ‘पर्शुरामजीले अलिक नराम्रो शब्द प्रयोग गरेको कारण यस्तो भयो ।’ विराटनगर महानगरपालिकाको बहालवाला अध्यक्ष रोहित कोइराला संस्थापन पक्षका हुन् । उनलाई पर्शुराम बस्नेतलगायतले समर्थन गरेका छन् ।
दुई पक्षबिच सहमति नजुट्दा विराटनगर महानगरपालिकाको नयाँ नेतृत्वको लागि पनि निर्वाचन हुने देखिएको छ । एमाले नेता विनोद ढकाल समूह र पार्टीको संस्थापन पक्षबिच महानगरपालिकामा पनि प्रतिस्पर्धा हुन लागेको हो । दुवै पक्षले आ–आफ्नो पक्षका उम्मेद्वार घोषणा गरेका छन् ।
महानगरको अध्यक्षको लागि संस्थापन पक्षबाट हालका अध्यक्षसमेत रहेका रोहित कोइराला र ढकाल समूहबाट वर्तमान सचिव बलराम गिरीले उम्मेद्वारी दिने घोषणा गरेका छन् । कोइरालाको समूहबाट उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले, उपसचिवमा चन्द्रशखेर विश्वास, उपसचिव (महिला) मा कला डाँगी उम्मेदवार बन्ने निश्चित भएको छ ।
यस्तै ढकाल समूहबाट उपाध्यक्षमा सुरज न्यौपाने, सचिवमा विज्ञान शर्मा चपागाई र उपसचिवमा हमित हाजाजको उम्मेदवारी निश्चित भएको छ । महिला उपसचिवमा हिमा मैनाली पोख्रेल उम्मेदवार बनाइएको छ ।
विराटनगरको मानगढ खानेपानी उपभोक्ता समितिको चुनावको विषयलाई लिएर सागर थापालाई एमालेले कारबाही गरेपछि संस्थापन पक्षले कोइरालालाई संगठन कमिटीको अध्यक्ष बनाइएको थियो । ढकाल समूहबाट थापाले मोरङ जिल्ला उपाध्यक्षमा विजयी भइसकेका छन् ।
ढकाल पक्षले मोरङ जिल्ला समितिका पदाधिकारीमा संस्थापन पक्षलाई क्लिन स्विप गरेपछि भने सो समूहको मनोबल बढेको छ । विराटनगरमा ढकाल समूह बलियो मानिन्छ । लामो समय महानगरको अध्यक्ष भएका थापा र मोरङमा ढकाल बलियो भएको कारण गिरीले निर्वाचन जित्ने आकलन धेरैको छ ।
एमाले महानगर कमिटीको दोस्रो अधिवेशनमा १९ वटा वडाबाट २२० जना प्रतिनिधि चुनिएका छन् । त्यस्तै जनसंगठनहरूबाट ७९ जना प्रतिनिधि चयन भएको जनाइएको छ । थप १५ जना प्रतिनिधि मनोनित गरेर जम्मा ३१५ मतदाता छन् । हालसम्म मोरङमा एमालेको १२ वटा पालिकाको अधिवेशन सम्पन्न भइसकेको छ भने ४ वटा पालिकाको मिति तोकिएको छ । लेटाङ नगरपालिकाको अधिवेशनको भने मिति निश्चित भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस सरकारले सर्वोच्चलाई झुक्याउँदै सांसदलाई बाँड्यो अर्बौं रकम
-
प्यालेस्टाइनमाथि इजरायली आक्रमणको विरोधमा प्रदर्शन
-
सुशासन र आर्थिक विकासका लागि माओवादीलाई मधेशी जनताले साथ दिनुपर्छ – प्रचण्ड
-
रास्वपाले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ ?
-
सातै प्रदेशका उपसभामुखलाई मुख्यमन्त्री सिंहले गरे स्वागत
-
रास्वपाको महाधिवेशन फागुनमा हुने