बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय

सत्ताबाहिर हुँदाका ती ओली, सत्तामा आएपछिका यी ओली

मङ्गलबार, ०२ वैशाख २०८२, १७ : १६
मङ्गलबार, ०२ वैशाख २०८२

काठमाडौं । शिक्षकहरू विगत १४ दिनदेखि आन्दोलनमा छन् । उनीहरूले यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित चैत २० गतेदेखि आन्दोलन गर्दै आएका हुन् । 

ती माग सम्बोधनका लागि विद्यालय शिक्षा ऐन जारी गर्नुपर्छ । सरकारले पटक–पटक वार्तामा बोलाइरहेको छ । तर, शिक्षकहरू प्रधानमन्त्री तथा सभामुखसँग मात्रै वार्तामा बस्ने अडानमा छन् । 

नयाँ शैक्षिकसत्र नै ठप्प पारेर आन्दोलन गरिररहँदा समेत प्रधानमन्त्री केपी शर्मा ओली शिक्षकका मागप्रति गम्भीर देखिएका छैनन् । 

उनी उल्टै शिक्षकहरू भड्काउनतिर लागेका छन् । ओली प्रतिपक्षमा हुदा गुरूहरूलाई धम्क्याउने नहुने अभिव्यक्ति दिँदै हिडेका ओलीको बोली अहिले भने पूरै फेरिएको छ । 

अहिले ओलीले शिक्षकहरूको आन्दोलनको औचित्य नभएको बताइरहेका छन् । त्यति मात्र होइन, ५२ प्रतिशत विद्यार्थी फेल गर्ने शिक्षकहरूका कुनै पनि माग पूरा नहुने मनसाय व्यक्त गरिरहेका छन् । तर, तिनै ओली जब सत्ता बाहिर थिए, त्यो वेला भने उनले सरकारले गुरूहरूलाई धम्क्याएको बताएका थिए । 

गत वर्षको असोजमा काठमाडौंमा शिक्षकहरूले १२ दिन आन्दोलन गरेका थिए । त्यो वेला काठमाडौं महानगरपालिकाले विद्यालय छाडेर सडक आन्दोलनमा जाने शिक्षकमाथि कारबाही गर्ने चेतावनी दिएको थियो । 

त्यतिवेला ओली प्रतिपक्षमा थिए । उनले झापामा आयोजित एक कार्यक्रममा आन्दोलनरत शिक्षकका मागलाई सरकारले उचित सम्बोधन गर्नुपर्ने र धम्क्याउन नहुने बताएका थिए । 

‘शिक्षकहरू आन्दोलनमा छ, स्थानीय तहहरू धम्क्याइरहेका छन्, सरकार भन्नेबित्तिकै धम्क्याइहाल्नुपर्छ ?’ उनको प्रश्न थियो । उनले गुरुहरूलाई नधम्क्याउन र उनीहरूका समस्या सम्बोधन गर्न अनुरोध गरेका थिए । 

‘गुरुहरूलाई धम्क्याउने होइन, गुरुहरू यत्तिकै देशभरिबाट आएर त्यहाँ सडकमा आन्दोलन गरिरहेका होइनन्, आवाज उठाइ रहेका होइनन्, गुरुहरूका समस्या सुन्नुपर्छ, ती समस्यालाई सम्बोधन गर्नुपर्छ,’ ओलीले भनेका थिए, ‘ती समस्याहरू समाधान दिनुपर्छ, कति अहिले दिने, कति पछि दिने ? गुरुहरू नबुझ्ने मान्छे हुँदैनन्, पढेलेखेका मान्छे हुन्छन्, बुझ्छन्, बसेर छलफल गर्नुपर्छ, माग सम्बोधन गरिनुपर्छ ।’

शिक्षण संस्था बन्द गराउन एकजना मानिस अनशन बस्दा उसका माग सम्बोधन गर्नुपर्‍यो भनेर कोकोहोलो गर्नेहरू अहिले देशभरिका शिक्षक आन्दोलनमा उत्रिँदा पनि मौन बसेका भन्दै उनले आलोचना गरेका थिए । शिक्षकको आन्दोलन लम्बिनु कसैको हितमा नभएको ओलीले टिप्पणी थियो । 

अहिले प्रधानमन्त्री हुँदा पुरै युटर्न भए । आफू सत्तामा पुगेपछि उनको बोली पूरै फेरियो । २०८१ फागुन १३ गते नेपाल मेडिकल कलेजले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीको बोली पूरै फेरियो । जुन बोली सत्तामा हुदाँ र प्रतिपक्षमा हुँदा पूरै फेरिएको छ । 

‘४८ प्रतिशत केटाकेटी पास गर्ने ? शिक्षा मन्त्रालय छ, यत्रा विद्यालय छन्, यत्रा टिचर छन् । अस्थायीलाई स्थायी गराइदेऊ भनेका छन्, करारलाई के गरिदेऊ भन्या छन् । तनखा पुगेन, बढाऊ भनेका छन्,’ प्रधानमन्त्री ओलीले भनेका थिए, ‘किन बढाउने तनखा, ४८ प्रतिशत विद्यार्थी पास गर्न ? ५२ प्रतिशत फेल गर्न ? ५२ प्रतिशत फेल गराएर भएन । यो ५२ प्रतिशत विद्यार्थी फेल गर्ने प्रणाली नै रद्द गर्नुपर्छ ।’

सत्तामा पुगेपछि प्रधानमन्त्री ओलीमा तिनै गुरुहरूप्रति यतिको आक्रोश देखिनु अस्वाभाविक हो । त्यसको प्रभाव अहिलेको शिक्षक आन्दोलनमा परिरहेको छ । 

प्रतिपक्षमा सिम्पेथी बटुल्न गुरुका विषयमा बोलेका ओली सत्तामा आएपछि व्यवहारमा भने रूखो देखिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप