सलमान खानको कारलाई बमले उडाइदिने धम्की

नयाँ दिल्ली । बलिउड अभिनेता सलमान खानलाई फेरि धम्की आएको छ । मुम्बईको वर्लीमा रहेको यातायात विभागको व्हाट्सएप नम्बरमा अभिनेताको नाममा धम्कीपूर्ण सन्देश पठाइएको थियो । यसमा सलमान खानलाई उनको घरमा घुसेर मार्ने र उनको कारलाई बमले उडाउने धम्की दिइएको छ । सन्देश पठाउने अज्ञात व्यक्ति विरुद्ध वर्ली प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको छ ।
अहिलेसम्म कसैले पनि धम्कीको जिम्मेवारी लिएको छैन । सलमान खान र उनको परिवारबाट कुनै प्रतिक्रिया आएको छैन । तर यो खबर पढेपछि अभिनेताका फ्यानहरू चिन्तित भएका छन् । यसअघि पनि सलमानलाई धेरै पटक धम्की आइसकेको छ ।
अभिनेतालाई गुण्डा लरेन्स बिश्नोई र गोल्डी ब्रारले धेरै पटक धम्की दिएका छन् । पनवेलमा रहेको उनको फार्म हाउसमा पनि आक्रमणकारीले रेकी गरेका थिए । सुरक्षा व्यवस्था कडा भएकोले उनीमाथि आक्रमण हुन पाएन् । निरन्तर धम्कीहरू आइरहँदा सलमान भने आफ्नै काममा व्यस्त छन् ।
हालै आफ्नो फिल्म सिकन्दरको प्रमोसनको क्रममा अभिनेताले ग्याङ्स्टर लरेन्स बिश्नोईबाट प्राप्त धम्कीप्रति प्रतिक्रिया दिएका थिए । उसले भनेको थिए, ‘भगवान्, अल्लाह, सबै कुरा उनलाई छाडिदिएको छु । जति उमेर लेखेर ल्याएको छ, त्यो त त्यति नै हुन्छ । कुरा यति हो । कहिलेकाहीँ धेरै मानिसलाई अघि पछि लगाएर हिँड्नुपर्छ । त्यो चाँहि समस्या हो ।’