नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ पुस्तालाई तत्काल नेतृत्व हस्तान्तरण गर्न नसकिने बताएका छन् । रातोपाटीसँगको विशेष कुराकानीमा अध्यक्ष प्रचण्डले नयाँ पुस्तामा आफूजस्तै योग्य र क्षमतावान नदेखेपछि कम्युनिस्ट पार्टीमा नेतृत्व हस्तान्तरण नगरिने प्रचलन रहेको बताए ।
‘म जत्तिकै सक्रिय भएर आउनु पर्यो नि ! मैले जत्तिकै साथीहरूको मन जित्न पर्यो नि,’ उनले भने, ‘कम्युनिस्ट पार्टीमा योग्यता, क्षमताद्वारा नेतृत्व लिने हो । कसैले टीका लगाइदिएर नेता भइने होइन ।’
यति भन्दै गर्दा प्रचण्डले माओवादी केन्द्रमा हालसम्म टीका लगाएरै नेतृत्व चयन गर्ने गरिएको यथार्थलाई आँखा चिम्लिने प्रयत्न गरे । जबकि माओवादी पार्टीमा जनयुद्धका क्रममा नेतृत्वको केन्द्रीकरणका नाममा टीके प्रथाबाट नेतृत्व चयन हुन्थ्यो भने शान्ति प्रक्रियामा आइसकेपछि सहमतिका नाममा टीके प्रथाबाट नेतृत्व चयन हुने गरेको छ । अपवाद स्वरुप कुनै–कुनै संगठन, जबस–मोर्चाहरूमा चुनाव हुने गरेको भए पनि त्यसलाई माओवादी पार्टीको आन्तरिक जीवनमा लोकतान्त्रिक चरित्रका रूपमा होइन, बाध्यताका रूपमा बुझ्ने गरिन्छ ।
यिनै समसामयिक विषयमा रातोपाटीका लागि नरेश ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका छन् । प्रस्तुत छ, अध्यक्ष प्रचण्डसँग गरिएको कुराकानीको सम्पादित अंश–
यसका तीन वटा पाटा छन् । पहिलो– गणतन्त्र र राजतन्त्रबारे मानवजातिले विकास गरेका सिद्धान्त, मूल्य, मान्यताका आम विषय छन् । गणतन्त्र, प्रगतिशील जनताको तन्त्र हो । जनता सार्वभौम हुने व्यवस्था हो भने राजतन्त्र वंशवादमा आधारित र व्यक्तिलाई प्रधानता दिने राजनीतिक प्रणाली हो । त्यसकारण यो आधारभूत रूपमै भिन्न छ र विश्वभर यसलाई मान्यता प्राप्त छ ।
केही देशमा नाममात्रको राजतन्त्र पनि राखिएको छ । त्यो भिन्नै कुरा भयो । त्यसकारण गणतन्त्र सैद्धान्तिक र व्यावहारिक रूपले विश्व समाजले विकास गरेको अग्रगामी र वैज्ञानिक प्रणाली प्रणाली हो भने राजतन्त्र, सामन्ती युगसँग विकसित भएको निरङ्कुशता र प्रचुर मात्रामा तानाशाही चरित्र रहने वंशवादमा चल्ने प्रणाली हो । त्यसकारण यी आधारभूत रूपमै फरक हुन् ।
दोस्रो– तपाईंले भनेको कुरा कहाँ मिलेन भने हामी गणतन्त्रवादीहरूले ‘राजावादी हौँ’ भन्नेलाई पनि बकाइदा चुनाव लड्ने स्वतन्त्रता दिएका छौँ । उहाँहरू प्रतिनिधि सभामा पनि उपस्थित हुनुहुन्छ । आफ्ना विषय राखिरहनु भएको छ । आफ्नो विचार राखेकै कारण गणतन्त्रवादीले उहाँहरूलाई कतै दमन गरेका छैनन् । बरु आफूलाई गणतन्त्रवादी भन्नेहरू कतिपयले राजावादीसँग राम्रो तालमेल गर्ने गरेका छन् । चुनाव मिलेर लड्ने गरेका छन् । त्यसैले तपाईंको आरोप मिल्दैन ।
मैले त गणतन्त्र ल्याउनुमा ज्ञानेन्द्र शाहलाई धन्यवाद भन्ने गरेको छु ।
मैले अस्ति चैत १५ कै सन्दर्भमा पनि भनेको थिएँ– गणतन्त्रवादीको सभा र त्यहाँ तीनकुनेमा राजावादीको सभा हेर्नुस् । त्यहाँ राज्यले दमन गरेर होइन, जानी–बुझी, बितण्डा, आतङ्क र आततायी तरिकाले धनजनको क्षति पुर्याउने उद्देश्यले गरिएको कृत्य थियो त्यो । बरु गल्ती कहाँ भयो भने सरकारले त्यसलाई नियन्त्रण गर्न, त्यस्तो हुन नदिनका निम्ति जति सतर्कता अपनाउनु पर्थ्यो, आफ्नो तयारी जति राम्रो गर्नु पर्थ्यो त्यो गरेन । सरकारको गल्ती त त्यो हो ।
गणतन्त्रवादी भनौँ वा यो अहिलेको सरकारको कमजोरी त्यहाँ हो । हामी गणतन्त्रवादीले त बडो शान्त, सालिन, अनुशासित ढङ्गले विशाल प्रदर्शन र सभा सम्पन्न गर्यौँ । त्यसकारण गणतन्त्रवादी र राजतन्त्रवादीको तुलना हुनै सक्दैन भन्ने कुरा इतिहासबाट पनि, विश्वभरको आम सिद्धान्तबाट पनि र अहिले भर्खरका व्यवहारबाट पनि पुष्टि भइसकेको छ ।
तेस्रो– राजतन्त्र अहिले बेलायतमा, जापानमा र अन्य देशमा पनि छ भनेर कतिपयले भन्छन् । त्यो र यहाँको परिस्थिति एउटै होइन । त्यसमा आधारभूत भिन्नता छ । त्यहाँ थुप्रै लडाइँ, क्रान्ति भएर, राजाहरूका टाउका काटेर एउटा छुट्टै संस्कृति विकास भई नयाँ परिस्थिति बनेको हो । नेपालमा त्यस्तो होइन । नेपालका राजावादीहरू सिधै सामन्ती, निरंकुशतन्त्रसँग सम्बन्धित छन् । उनीहरू जनतालाई लोकतान्त्रिक अधिकार दिने उद्देश्यबाट प्रेरित नै छैनन् । जस्तो अहिले तपाईंले हेर्नुभयो नि ! राजावादी आन्दोलनको कमाण्डर भनेर ज्ञानेन्द्र शाहले कसलाई बनाए भन्दा दुर्गा प्रसाईंलाई । अनि नवराज सुवेदी, पञ्चायतकालमा त्यत्रो गरेको मान्छेलाई ल्याएर आन्दोलनको नेतृत्व दिने भनेपछि यस्ता राजा भोलि संवैधानिक भएर बस्थे त ?
मलाई लाग्छ संवैधानिक भएर बस्ने चरित्र भइदिएको भए सायद यति छिटो गणतन्त्र नै आउने थिएन । नेपालका राजाहरू साँचो अर्थमा संवैधानिक भएर बस्न तयार भएको भए संसदवादी पार्टीहरू संवैधानिक राजतन्त्र छोड्ने पक्षमै थिएनन् । हामीले जनयुद्ध गर्दैगर्दा, गणतन्त्रका लागि त्यत्रो ठुलो त्याग, बलिदान गर्दैगर्दा संसदवादी राजनीति दलहरू त राजालाई नै बिन्ती पत्र दिँदै हिँड्थे । मैले त गणतन्त्र ल्याउनुमा ज्ञानेन्द्र शाहलाई धन्यवाद भन्ने गरेको छु । उनको नकारात्मक भूमिका नभएको भए यति छिटो गणतन्त्र नआउन पनि सक्थ्यो । त्यसकारण नेपालमा संवैधानिक वा कानुनी भन्ने कुरा हुँदैन । यहाँ कि त निरंकुश राजतन्त्र हुन्छ वा गणतन्त्र हुन्छ । यहाँ बिचको बाटो छैन ।
त्यो कोणबाट हेर्दा त स्वाभाविक नै भयो तर, म यो कुरा यथार्थपरक छैन भन्छु । त्यस्तो होइन । पहिलो कुरा, गणतन्त्रले देशमा केही गरेन विकास, समृद्धि केही ल्याएन भन्नु सत्य होइन । गणतन्त्र आएदेखिको यो १७ वर्षको इतिहास हेर्यौँ भने भौतिक पूर्वाधारको दृष्टिकोणबाट हामी कहाँबाट कहाँ पुगेका छौँ । विद्युतीकरणको दृष्टिकोणबाट क्रान्ति नै भएको छ नेपालमा । बाल मृत्युदरमा ठुलो गुणात्मक कमी आएको छ । मानिसको सरदर आयुमा कहाँबाट कहाँ पुग्यो भन्नुस न ! मानिसको आयु ५७ बाट ७२ मा पुग्नु भनेको सानो कुरा हो ? त्यसकारण तपाईंले भनेको कुरा सत्य होइन ।
फेरि राजनीतिक स्थायित्व भएन, १७ वर्षमा १४ सरकार फेरिए भन्दैगर्दा पहिले कस्तो थियो ? राजाको पालामा कति सरकार फेरिन्थे ? पञ्चायतको पालामा कस्तो थियो ? बहुदल आएपछि के–के भयो भनेर हेर्ने हो भने नेपालमा राजनीतिक स्थायित्व त कहिल्यै भएकै छैन । बरु विकासको दृष्टिकोणले गणतन्त्र आएपछि शिक्षा, स्वास्थ्यमा उल्लेख्य प्रगति भयो भन्न सकिन्छ । फेरि पनि हामी सन्तुष्ट हुने स्थिति पटक्कै छैन । जनताको अपेक्षा अनुसार काम हुन नसकेको भन्ने साँचो हो । केही संवैधानिक सीमाका कारणले पनि यस्तो भएको छ । त्यो सीमा हटाउनुपर्ने हुन्छ ।
तर, जसरी सबै नेता उस्तै हुन् भनिएको छ, त्यो कुरा पनि गलत छ । मानिसले यस्तो किन भन्छन् ? यसमा मेरो त गहिरो आरोप छ । म पहिलो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधारको क्षेत्रमा एउटा क्रान्तिकारी प्रस्ताव राखेको थिएँ– मध्य पहाडी लोकमार्ग, उत्तर–दक्षिण कोरिडोर ।
अहिले त्यही लाइनमा काम अघि बढिरहेको छ । दोस्रो पटक प्रधानमन्त्री हुँदा लोडसेडिङको अन्त्यदेखि संविधान कार्यान्वयनको ऐतिहासिक प्रक्रियाको नेतृत्व गरेँ मैले ।
तेस्रो पटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धि भन्दै भ्रष्टाचारका विरुद्ध त्यत्रो अभियान चलाउने पनि उस्तै भ्रष्टाचारीलाई बचाउनका लागि सबैथोक गर्ने पनि उस्तै भन्ने भाष्य जुन बनाइएको छ । आममानिसलाई पनि यही नै सत्य हो भन्ने जसरी परेको छ । त्यसैले नेतातन्त्र भन्ने गरेका छन् । तीन वटा नेता भन्ने गरेका छन् । यो भनाइ नै वैज्ञानिक छैन् । कुन नेताले कति राम्रो, कति नराम्रो गरेको हो अलग–अलग छानबिन हुनु पर्यो । नागरिक, बुद्धिजीवीले यसको मूल्याङ्कन राजनीतिज्ञको गुण–दोषका आधारमा गर्नुपर्ने ठाउँमा सबैलाई एउटै डालोमा हालेर भुटे जसरी भुट्न खोज्नु नै अवैज्ञानिक छ ।
‘युवा पुस्तामा क्षमता नदेखेपछि नमर्दासम्म नेतृत्व छोड्न नहुने परिस्थिति देख्छन् बुढाहरू’
पृष्ठभूमि हेर्नुहुन्छ भने पनि हामीले देशमा उत्पीडित जाति, क्षेत्र, लिङ्ग समुदायमा जागरण ल्याउन त्यत्रो ठुलो आन्दोलन गर्यौँ । त्यसले नेपालमा युगान्तकारी परिवर्तन ल्यायो । सबै उस्तै हुन त ? सबैले उस्तै गरी ल्याएका हुन त ? अहिलेको कुरा गर्दा पनि पहिलो, दोस्रो, तेस्रो कालमा ऐतिहासिक रेकर्ड बनाउने सरकार पनि उस्तै अनि त्यो रेकर्ड भत्काउने पनि उस्तै । यो नै ठिक मूल्याङ्कन होइन ।
नेतृत्वबारेको बुर्जुवाहरूको अवधारणा र मजदुर वर्गको वा भन्नुस् कम्युनिस्टहरूको अवधारणामा आधारभूत भिन्नता छ । त्यो फरक बुझ्न जरुरी छ । किनभने बुर्जुवाहरूलाई नेतृत्वको सङ्कट पर्दैन । सयौँ वर्षदेखि ठग्ने, लुट्नेमा यति धेरै मानिस तयार छन् कि त्यहाँ सैद्धान्तिक वा व्यावहारिक रूपले केही गर्नु पर्दैन । जसलाई बनाए पनि केही फरक पर्दैन तर, कम्युनिस्टको हकमा त्यस्तो हुँदैन । सैद्धान्तिक रूपले पनि धेरै कुरा संश्लेषण गर्नुपर्ने, वर्गलाई एकतावद्ध गर्न विचारको नयाँ–नयाँ प्रयोग र संश्लेषण गर्दै जानु पर्ने, नेतृत्वको अनुभव र प्राधिकार पनि बन्दै जानुपर्ने भएरमात्रै मजदुर वर्गले आफ्नो राज्य प्राप्तिको लडाइँ जित्न सक्छ भन्ने सिद्धान्त हो ।
पुरानाले गर्दा रे ! पुरानाले गर्दा होइन नि ! नेता नभएर हुन्छ त कुनै आन्दोलन ?
लेनिन, स्टालिनहरू नमरुन्जेल नेतृत्वमा किन बस्नु परेको होला ? ती स्वार्थी, व्यक्तिवादी भएर होला कि त्यहाँको आवश्यकताले होला ! माओत्सेतुङ लास्टसम्म नेतृत्वमा बस्नु पर्ने, अझै बिरामी हुँदा पनि त्यो पद छोड्न नहुने के कारणले भएको होला ? हामीले त्यो संश्लेषण पो गर्नुपर्ने आवश्यकता छ । त्यसकारण नेतृत्व भनेको खासगरी कम्युनिस्ट पार्टीभित्र आफ्नो क्षमता, योग्यता, आमकार्यकर्ताको मन जित्ने संयोजनकारी भूमिका, आफ्नो त्याग–तपस्याद्वारा प्राप्त गर्नुपर्ने विषय हो । कसैलाई टीको लगाइदिएर आजदेखि तपाईं नेता भनेर हुने कुरा होइन । टीको लगाइदिन खोज्दा ठुला–ठुला दुर्घटना भएका छन् इतिहासमा ।
त्यसकारण नयाँ पुस्ताले मलाई नेतृत्व छोड भन्ने होइन, नेतृत्व लिने हो । नयाँ पुस्ताले आफ्नो सक्रियता, योग्यता, संयोजनकारी क्षमताद्वारा सबैको मन जितिसकेपछि बुढाहरू स्वतः हटिहाल्छन् नि ! कसलाई के लोभ हुन्छ र यहाँ । तर, त्यस्तो स्थिति नदेखेपछि त नमर्दासम्म छोड्न नहुने परिस्थिति देख्छन् नि बुढाहरूले । कुरा बुझ्नु भयो त ? त्यस्तो हो कुरा ।
छोड्दिनँ भन्ने होइन । मेरो त त्यो होइन है । यो कुरा त्यता नलैजाउँ । मैले त पार्टी केन्द्रीय समितिमा भनिसकेको छु । म आउने अधिवेशनसम्म नयाँ पुस्ता, नयाँ साथीहरूलाई, ए... नयाँ पुस्ता होइन, नयाँ साथीहरूलाई दिनेतर्फ मैले सोचिसकेको छु भनेको छु । मेरो सोचाइ मेरो व्यक्तिगत कुरा होइन । तर, नेतृत्व सम्बन्धी कुरा तपाईंले हेर्नुहुन्छ भने यो पार्टीलाई फेरि रिभाइभ गर्नका लागि, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि आफ्ना एजेन्डातिर जनतालाई फेरि अगाडि लिएर जानका लागि मैले जत्तिकै अर्को साथीले मेहनत गर्नु पर्यो नि । म जत्तिकै सक्रिय भएर आउनु पर्यो नि । मैले जत्तिकै साथीहरूको मन जित्न पर्यो नि । त्यसका निम्ति पुराना र नयाँका बिच झगडा लगाउने होइन क्या ! नयाँलाई त्यसको निम्ति योग्य बनाउन उत्प्रेरित गर्नु पर्यो मिडियाले पनि ।
अहिले त लाजमर्दो कुरा के छ भने कतिपय दल, सबैभन्दा धेरै त सरकारको नेतृत्व गर्ने दलका मानिसलाई जनतामा यतिधेरै वितृष्णा आइसक्यो, तिनलाई जनताप्रतिको बोध नै छैन ।
पुरानाले गर्दा रे ! पुरानाले गर्दा होइन नि ! नेता नभएर हुन्छ त कुनै आन्दोलन ? त्यसकारण त्यसमा पनि कम्युनिस्ट पार्टीको नेतृत्व सम्बन्धी धारणा बुझ्नु पर्छ भन्ने हो ।
राजनीतिक दलहरूले आत्मसमीक्षा गर्नुपर्छ । आफ्ना गल्ती कमजोरी स्वीकार्नु पर्छ । जनताको भावना र मनस्थिति बुझ्नु पर्छ र, जनभावना अनुसार आफूलाई बदल्न, यथास्थितिबाट आफूलाई नयाँ ठाउँमा लैजान सङ्कल्प गर्नुपर्छ । आजको आवश्यकता त्यही हो ।
मेरो कुरा र मेरो पार्टीको कुरा गर्नु हुन्छ भने हामीले त्यही गरेका छौँ । हामीले केन्द्रीय समितिमा आफ्नो आत्मसमीक्षा गर्यौँ । आफ्नो आत्मालोचना गर्यौँ । जनतासँग जति गहिरो नजिकको नाता, सम्बन्ध बनाइराख्नु पर्थ्यो, त्यहाँ हामीले त्रुटि गर्यौँ भनेरै अहिले हामी अभियानमा छौँ ।
तपाईंले देखिरहनु भएको छ । सबैभन्दा गरिब, मजदुर, किसानको घरमा गएका छौँ । सहिद, बेपत्ता परिवारको घरमा गएर, व्यवसायी, बुद्धिजीवीहरूको घरमा गएर सबैको कुरा सुनिरहेका छौँ र यो अभियान अघि गइरहेको छ । मलाई लाग्छ– सबै राजनीतिक दलहरूले आ–आफ्नो आत्मसमीक्षा गर्नु पर्छ । आत्मालोचना गर्नु पर्छ ।
अहिले त लाजमर्दो कुरा के छ भने कतिपय दल, सबैभन्दा धेरै त सरकारको नेतृत्व गर्ने दलका मानिसलाई जनतामा यतिधेरै वितृष्णा आइसक्यो, तिनलाई जनताप्रतिको बोध नै छैन । मानौँ केही भएकै छैन् जस्तो गरिकन हिँड्ने गरेका छन् । यो परिस्थिति बदल्नु पर्छ ।
प्रतिक्रिया