बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?

सोमबार, ०१ वैशाख २०८२, २२ : ००
सोमबार, ०१ वैशाख २०८२

आज २०८२ वैशाख १ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा लुक्दा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?, निलम्बित न्यायाधीश गिरी रिहा, नयाँ वर्ष २०८२ को स्वागत, नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमै, बैंकहरूले लागु गरे नयाँ ब्याजदर, ‘मौकामा चौका’ हान्न समर्थक उचाल्ने ज्ञानेन्द्रको प्रयास लगायत छन् ।

१. एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा
सरकारको नेतृत्व गर्दै आएको दल नेकपा एमालेको सोमबार बसेको सचिवालय बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहदेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्मको चर्चा भएको छ ।

२. भारतमा लुक्दा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?
चैत १५ गते तीनकुनेमा भएको घटनापछि लुकेर भारत पुगेका दुर्गा प्रसाईं त्यहाँका विभिन्न राज्यमा पुगेको तथ्य प्रकाशमा आएको छ । उनले भारतमा करिब दुई साता लुक्दा विभिन्न व्यक्तिसँग भेटेर आफू सुरक्षित रहने प्रयास गरेको तथ्य खुलेको हो ।

३. निलम्बित न्यायाधीश गिरी रिहा
वैवाहिक बलात्कार मुद्दामा सफाइ पाएसँगै निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटेका छन् । उनी सोमबार बिहान कारागारबाट छुटेको डिल्लीबजार कारागार प्रशासनले जनाएको छ ।

४. नयाँ वर्ष २०८२ को स्वागत
नयाँ वर्ष २०८२ को स्वागत गरिएको छ । सोमबार नयाँ वर्षको पहिलो दिन नेपालीहरूले हर्षोल्लासका साथ मनाएका छन् ।

५. नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमै
विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलनरत शिक्षकहरूले आज १३ औँ दिन पनि प्रदर्शन जारी राखेका छन् । नयाँ वर्षको उत्सव मनाइरहँदा शिक्षकहरू भने आफ्नो माग पूरा गर्न दबाब दिँदै सडकमै केन्द्रित रहे । सरकार र शिक्षकबिच दुई पटक वार्ता भए पनि कुनै निष्कर्ष ननिस्किएपछि उनीहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

६. बैंकहरूले लागु गरे नयाँ ब्याजदर
बैंकहरूले वैशाख महिनाका लागि सार्वजनिक गरेको ब्याजदर सोमबारदेखि लागु भएको छ । जसअनुसार अधिकांश बैंकले सर्वसाधारणको मुद्दती बचतमा दिने ब्याजदर यथावत राखेका छन् । वैशाख महिनामा एउटा बैंकले मात्रै बचतकर्तालाई दिने ब्याज बढाएको छ भने तीन वटाले घटाएका छन् ।

७. ‘मौकामा चौका’ हान्न समर्थक उचाल्ने ज्ञानेन्द्रको प्रयास
जनआन्दोलनको बलमा २४० वर्षीय शाह वंशीय राजतन्त्र ढलेपछिका केही वर्षसम्म पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवास र नागार्जुनमा चुपचाप बसे । पछिल्ला वर्षहरूमा भने वर्तमान व्यवस्था र दलहरूको गतिविधिलाई लिएर बेलाबेला विज्ञप्ति र सार्वजनिक समारोहमार्फत घोपपेचमा उत्रिने गरेका पूर्वराजाको अभिव्यक्ति फागुन ७ सम्म आइपुग्दा ‘क्लाइमेक्स’मा पुग्यो ।

८. छलफलपछिमात्र कांग्रेसले भ्रातृ संगठनबारे निर्णय लिने
नेपाली कांग्रेसले पार्टीले दिएको समयभित्र महाधिवेशन गर्न नसक्ने ७ भ्रातृ संस्थाको तदर्थ समिति राख्ने कि भङ्ग गर्ने भन्नेबारे छलफलपछि मात्रै निर्णय लिने भएको छ । पार्टीसँग समन्वय गर्न भन्दै पार्टी नेताहरूको नेतृत्वमा महाधिवेशन निर्देशन समितिसमेत बनाएर कांग्रेसले चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न भन्दै १० भ्रातृ संस्थालाई निर्देशन दिएको थियो । तीमध्ये तीन भ्रातृ संस्थाले मात्रै पार्टीले दिएको समयमा महाधिवेशन गर्न सकेका छन । 

९. माओवादीको अभियान सुरु
पूर्वपश्चिम हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई मधेस जागरण अभियान फेरि सुरु भएको छ । केही समय रोकिएको अभियान नयाँ वर्ष २०८२ सालको पहिलो दिन सोमबारदेखि सुरु भएको हो ।

१०. चार पटक मिति परिवर्तन गर्दा पनि हुन सकेन राष्ट्रिय खेलकुद प्रतियोगिता
१० औँ राष्ट्रिय प्रतियोगिता अन्योलमा परेको छ । चार पटक मिति परिवर्तन गर्दा पनि प्रतियोगिता हुन नसकेको हो । यसबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप