बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय
विवादमा एमाले महासचिव

एमाले महासचिवको अभिव्यक्ति विवादमा : कर्णालीका मान्छेले गणतन्त्रपछि मात्रै भात खान पाएका हुन् ?

इतिहास अध्ययन नगरी कर्णालीबासीलाई अपमान गरेको भन्दै व्यापक आलोचना
सोमबार, ०१ वैशाख २०८२, २१ : २०
सोमबार, ०१ वैशाख २०८२

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चैत्र २६ गते सुर्खेतमा आयोजित एमालेको जागरणसभामा बोलेको अभिव्यक्ति विवादमा परेको छ ।

पोखरेलले ‘गणतन्त्र आएपछि मात्रै कर्णालीका मान्छेले भात खान पाएका हुन्’ भन्ने अभिव्यक्ति दिएका थिए । 

‘दसैँका वेला एक माना चामल पायो भने टीका लगाउन पाइन्थ्यो भन्ने कर्णालीबासी आज चामलको भात खान सक्ने भएका छन्,’ उनले भनेका थिए, ‘के कारणले भन्दा जिल्ला–जिल्लामा बाटो पुगेको छ । त्यो के कारणले भन्दा गणतन्त्रको कारण हो ।’

पोखरेलले कर्णालीको इतिहासबारे अध्ययन नै नगरी कर्णालीलाई होच्याएर बोलेको, कर्णालीबासीको अपमान गरेको भन्दै यतिवेला सर्वत्र आलोचना भइरहेको छ । एउटा ठुलो पार्टीको महासचिवजस्तो नेताले अध्ययनविना नै बोलेको भन्दै सामाजिक सञ्जालमा पोखरेललाई गालीको वर्षा भइरहेको छ । 
यतिसम्मकी पोखरेललाई कर्णालीमा प्रतिबन्ध लगाउनुपर्ने समेत आवाज उठेको छ । पोखरेलको यस्तो अभिव्यक्ति यो पहिलो पटक भने होइन् । ०७६, वैशाखमा भेरी–बबई डाइभर्सन आयोजना अन्तर्गत सुरुङको ‘ब्रेक थ्रु’ उद्घाटनका क्रममा पोखरेलले ‘कर्णालीमा भोकमरी भए गर्नु, चामल पठाइदिउँला’ भन्ने अभिव्यक्ति दिएका थिए ।

त्यो वेला उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री थिए । उनको उक्त भनाइको प्रतिवाद कर्णालीका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मञ्चबाटै दिएका थिए । फेरि पोखरेलले कर्णालीबारे हेपाह र गैर–जिम्मेवार अभिव्यक्ति दिएकोप्रति भने कर्णालीबासी असन्तुष्ट बन्नुका साथै आक्रोशित छन् । 
रवि किरण हमालले पोखरेललाई कर्णालीमा सधैँका लागि निषेध गर्नुपर्ने बताएका छन् । 

उनले भनेका छन्, ‘गणतन्त्रको कारणले गर्दाखेरि कर्णालीका मानिसहरू भात खाना पाएको भन्दै पोखरेलले गैरजिम्मेवार, हेपाहा र निकृष्ट वक्तव्य दिएका छन् । बरु गणतन्त्रको नाममा श्रीमतीलाई समानुपातिक सांसद बनाएका थिए, ज्वाईंलाई दाङ जिल्लाको भूमि आयोग अध्यक्ष साथै बहिनीलाई समानुपातिकको पहिलो नम्बरमा राखेका थिए । यस्ता लुटेरा र आसेपासे पुँजीवादका नायकहरूले जबजको व्याख्याता भन्दै एमालेका लाखौँ कार्यकर्तालाई ठग्दै हिँडेका छन् ।’ 

एमालेकै पूर्वनेता भीम रावलले ‘कर्णाली क्षेत्र परापूर्वकालदेखि नै मार्सी र जडान जस्तो अत्यन्त स्वादिष्ट र स्वस्थकर चामलको भात खाने क्षेत्र तथा नेपाली भाषा र संस्कृतिको मुहान भएको इतिहासको शंकर पोखरेलजीलाई अध्ययन गर्ने फुर्सद भएन कि ? कि इतिहासको भारी नबोक्ने हो ?’ भन्दै प्रश्न गरेका छन् । भात खान दशैँ नै कुर्नुपर्ने पोखरेलको दाबी हावादारी भएको टिप्पणी सामाजिक सञ्जालमा उठेको छ ।

कर्णालीका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बासमती, मार्सी, भुर्साल्या, गुण्य, थापाचिन्या जस्ता धान (चामल) कर्णालीमा फल्ने इतिहास अध्ययन नै नगरी बालेको भन्दै पोखरेललाई व्यङ्ग्य गरेका छन् । उनले भनेका छन्, ‘नेता आई भाषण दिन्या, अरु केही नदिन्या, कर्णाली नुबझिकन ज्या पनि भन्दिन्या ।’

आफ्नो महासचिवमाथि व्यापक गाली र आलोचना हुँदा एमालेका नेता, कार्यकर्तादेखि सचिवालयसम्मले कुनै प्रतिरक्षा गरेको देखिन्न । एक जना प्रदेश कमिटी सदस्य टेकेन्द्र बस्नेतले भने प्रतिरक्षात्मक टिप्पणी गरेका छन् । 

उनले लेखेका छन्,‘कर्णालीका केही मान्छे भात खान्थे त्यो पनि चाँदीको थालमा कतिपय त सुनको थालमा ! कुरा तिनको होइन, कुरा त एक पोका नुन र एक किलो चामलको लागि तीन दिन हिँडेर सदरमुकाममा घण्टौ लाइन लाग्न बाध्य भुँइ मान्छेको हो ।’ 

के हो त वास्तविकता ? 

इतिहासका जानकार तथा अनुसन्धाकर्ता डा. दीपेन्द्र रोकाया पोखरेलको उक्त टिप्पणी गलत भएको बताउँछन् । ‘दही र चामल’ को टीका लगाउने संस्कृति नै हिमालय खण्डबाट सुरु भएको इतिहास बताउँदै पोखरेलको टिप्पणी सही नभएको उनको तर्क छ ।

उनी भन्छन्, ‘बरु हिजो धान कम उत्पादन हुन्थ्यो, टाढा–टाढाबाट बोकेर लाउनुपथ्र्यो, अहिले सडक पुगेसँगै सजिलो भएको थियो भन्दा उपयुक्त हुन्थ्यो,’ रोकाया भन्छन्, ‘तर कर्णालीका मान्छेले भात नै गणतन्त्रपछि मात्रै खाए भन्ने तर्क शोभनीय भएन ।’

पुण्य रेग्मी, सर्वराज खड्का लगायतका कृषि विज्ञहरू सडक विकाससँगै भाते संस्कृति बरु मौलाएको तर विगतमा कर्र्णालीमा मान्छेले भात नै खाँदैन थिए भन्ने तर्क सही नभएको बताउँछन् । ‘धान उत्पादनको इतिहास पढ्ने हो भने कर्णालीबाट नै थुप्रै संस्कार, संस्कृतिहरू सुरुवात भएको पाइन्छ, तर पर्याप्त थिएन,’ उनीहरूको भनाइ छ ।

कृषि विज्ञ खड्का गणतन्त्रभन्दा पछि झन कर्णालीमा धान उत्पादन घट्दै गएको बताउँछन् । ‘कर्णाली पहिला बरु हरेक खाद्य बालीमा राम्रो थियो, गणतन्त्र आएपछि मात्रै राम्रो भएको हो भन्न मिल्दैन,’ उनले रातोपाटीसँग भने, ‘पहिला सबै रैथाने कृषि उत्पादन थियो, भात (चामल) कम उत्पादन हुन्थ्यो होला तर अन्य खाद्य पदार्थ धेरै उत्पादन हुन्थ्यो ।’

उवा, कागुनो, जौ जस्ता रैथान्ने खाद्यबाली र कर्णालीको मार्सी चामल अहिले अन्य देशमा निर्यात हुन्छ । ‘भातै नखाने भन्ने अवस्था होइन, भात पनि हुन्थ्यो, तर उत्पादन कम हुन्थ्यो,’ उनी भन्छन् । ऐतिहासिक हिसाबले खाद्यसँग कर्णालीलाई हेर्ने हो भने ‘दही–चामल, नुवाखी खाने’लगायत संस्कृति विराट रहेको उनको भनाइ छ । कर्णालीबाटै परम्पराहरू अन्त फैलिएको उनी बताउँछन् ।

उनी अगाडि थप्छन्, ‘उहाँ (पोखरेल)ले जुन तरिकाले भन्नुभयो ठ्याक्कै त्यसरी भन्नु हुन्थेन । संसारको सबैभन्दा उचाईमा धान फल्ने ठाउँ कर्णाली हो । धान नै नफल्ने, भातै नखाने भन्ने तर्क गलत हो ।’
कृषि विज्ञसमेत रहेका राष्ट्रिय सभाका पूर्वसांसद (गणतन्त्रअघि) रंगनाथ जोशी एमाले महासचिवको टिप्पणी गैरजिम्मेवार रहेको तर्क गर्छन् ।

‘उहाँले जनतालाई आफूतिर तान्ने भए बरु यहाँ चामल कम उत्पादन हुन्थ्यो, अन्य खाद्यबालीमा कर्णाली धनी छ भनेर भन्न सक्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘तर कर्णालीका मान्छेले गणतन्त्रपछि मात्रै भात खान पाएका हुन् भन्ने तर्क हावादारी भयो । उहाँ जत्तिको नेताले बोल्न हुन्थेन ।’

अध्येता माधव चौलागाई यातायातको सुविधाले मान्छेलाई सहजता ल्याएको बताउँछन् । यद्यपि हेपेको हिसाबले कुरा गर्दा त्यो गलत भएको उनको टिप्पणी छ ।

‘उहाँले भन्नुभएन, बरु कुल कालखण्डमा अवस्था कस्तो थियो, गणतन्त्रपछिको अवस्था कस्तो हो त्यो अवस्थालाई विश्लेषण गरेर भन्न मिल्यो,’ उनले भने, ‘तर हेपेर भन्न मिलेन । गणतन्त्रअघि मान्छेले खानै पाउँथेनन्, अहिले हामीले आएर दियौँ भन्ने निरीह अवस्था हैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप