बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय

मधेश प्रदेश : अवैध उत्खनन, खुला सिमाना तस्करी र दुर्व्यसनीको चपेटामा

सोमबार, ०१ वैशाख २०८२, १८ : ५२
सोमबार, ०१ वैशाख २०८२

नेपालका विभिन्न भागमा उत्पादित गाँजा भारततर्फ तस्करी भएको देखिन्छ । भारतबाट रक्तचन्दन चीनतर्फ यही बाटो भएर तस्करी भएको पाइन्छ । तस्करले खुला सिमानाका कारण यहाँका कतिपय युवालाई गलत ढङ्गले प्रयोग गरेका छन् । यहाँ यस्ता कार्यमा मूलतः लागुऔषध प्रयोगकर्ता युवाको प्रयोग भएको पाइन्छ । 

अवैध उत्खनन, खुला सिमाना तस्करी र लागुऔषध (ड्रग्स)— आज मधेश प्रदेश विशेषतः यी तीन कुराले आक्रान्त छ ।

मधेश प्रदेशमा दुर्व्यसनी भयावह रूपमा बढिरहेको छ । राजमार्गमा मात्र होइन, गाउँ–गाउँमा लागुऔषध सेवन गर्ने युवाहरू देखिन थालेका छन् । यसको प्रमुख कारण हो— भारतसँगको खुला सिमाना, अवैध उत्खनन र तस्करी । लागुऔषध सहजै सीमाबाट भित्रिन्छ, कतिपय युवा लागु औषधको कुलतमा फस्दै गएका छन् । एकपटक लागुऔषधको लत लागेका युवाले घरको गहना, मोबाइल, पैसा लुकिछिपी बेच्न थालेको समेत सुनिन्छ वा देखिन्छ पनि । अभिभावकले सन्तानको पुनः स्थापनाका नाममा खर्च गरिरहनपरेको छ । 

यहाँका कुनै पनि रिह्याब सेन्टरमा हेर्नुस्, अधिकांश युवा लागुऔषधको कुलतबाट मुक्त हुन भर्ना भएका हुन्छन् । रिह्याब सेन्टरमा उपचार गराइरहेका व्यक्तिहरूको विवरण हेर्दा ६० प्रतिशतभन्दा बढी १५ देखि ३० वर्ष उमेर समूहका छन् । यिनीहरू स्कुल, कलेज पढ्ने उमेरमा कुलतमा फसेका छन् । कालो धन्दा र खुला सिमानाबाट भित्रिने लागुऔषधहरूले युवाको भविष्य बिगारिरहेको छ ।  

क्रसर उद्योग, बालुवा तस्करी, लागुऔषध कारोबार, मानव ओसारपसार, अवैध सामानको आयात–निर्यात — यी सबैमा युवाको प्रयोग भइरहेको बताइन्छ । युवाहरूलाई पैसाको लोभ देखाइन्छ । यसरी कमाएको पैसाले उनीहरू ब्राउन सुगर, कोकिन, एमडीएमए जस्ता महँगा लागुऔषध खरिद गर्छन् । 

अधिकांश युवा बेरोजगार छन् । विकल्पको अभावमा उनीहरू सजिलो कमाइको बाटो रोज्न बाध्य छन् । त्यसरी कमाइएको पैसाको ठुलो हिस्सा लागुऔषधमै खर्च हुने गरेको छ ।
खराब संगत, प्रेम सम्बन्धमा खटपट, बेरोजगारी आदि कारण युवाहरुले लागुऔषध सेवन गरेको पाइन्छ । राज्यका निकाय यो समस्याप्रति गम्भीर छैनन् । सुरक्षा निकायले प्रयोगकर्तालाई समात्छ, तर ठुला कारोबारी छुटिरहन्छन् । सीमामा लागुऔषध नियन्त्रण गर्ने प्रभावकारी नीति छैन । 

नेपाल–भारत सीमाबाट लागुऔषध सेवन गरेर फर्किंदा ट्राफिक दुर्घटनाबाट समेत मृत्यु भएका घटना छन् । ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो केही वर्षमा लागुऔषध सेवनपछि मोटरसाइकल दुर्घटनाबाट हुने मृत्युदर बढेको छ । यी सबै दुर्घटनाका पछाडि लागुऔषध नै प्रमुख कारण देखिन्छ । 

युवाको पुनः स्थापना, परामर्श, सीप विकास, रोजगारी सिर्जना — यी कुनै पनि क्षेत्रमा राज्यले ठोस कार्यक्रम ल्याएको छैन । परिणामतः समस्या गहिरिँदै गइरहेको छ । लागुऔषधको असर केवल व्यक्तिगत स्तरमा सीमित छैन, यसले समाजमा चोरीदेखि अनेक हिंसा समेतका अपराधको दर बढाएको छ । मधेश प्रदेशमा अहिले अपराधको स्वरूप बदलिँदै गएको छ । पुरानो सांस्कृतिक समाज आज असुरक्षित बन्दै गएको छ । 

यहाँ अवैध रुपमा क्रसरको उत्खनन भइरहेको छ । क्रसर उद्योगहरूमा सस्तो श्रमका लागि युवालाई प्रयोग गरिन्छ । कुनै कानुनी सुरक्षा छैन । त्यहाँ तिनले न सीप विकास गर्छन्, न त दीर्घकालीन रोजगारी पाउँछन्; केवल शोषणमा पर्छन् । 

पूर्व–पश्चिम राजमार्गमा भएका विकासहरू नदीजन्य पदार्थमै निर्भर छन् । सदावहार पानी बगिरहने ठाउँहरू अहिले मरुभूमि बनेका छन् । भूमिगत पानी सुक्दै जाँदा चापकलहरू काम नलाग्ने अवस्थामा पुगेका छन् । 

प्रश्न उठ्छ — के यही हो हाम्रो प्रदेशको विकासको मोडल ? राज्य, समाज र हामी सबैले आँखा नखोलेमा युवाहरु कुलतमा लाग्ने क्रम र वातावरणीय विनाश बढ्नेछ । समस्या समाधानका लागि नेपाल–भारत सीमामा कडाइ गर्नुपर्छ । लागुऔषध सञ्चालनमा कडा निगरानी आवश्यक छ । युवालाई लक्षित गरेर सीप विकास, व्यावसायिक तालिम र स्वरोजगारका योजनाहरू सञ्चालन गर्नुपर्छ । विद्यालय स्तरमै लागुऔषधविरुद्ध सचेतना अभियान चलाउनु जरुरी छ । साना प्रयोगकर्ताभन्दा ठुला तस्कर र कारोबारीलाई प्राथमिकता दिएर कारबाही गर्नुपर्छ । ⁠लागु औषध सेवनकर्तालाई सबै जिल्लामा निःशुल्क परामर्श र उपचारको व्यवस्था गरिनुपर्छ । 
(महोत्तरी बर्दिबास)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निरज अधिकारी
निरज अधिकारी
लेखकबाट थप