‘गणतन्त्र उल्ट्याउने ज्ञानेन्द्र शाहको प्रयत्न, सरकार परिवर्तनको कुरा सत्तामोह र कुण्ठा मात्र’

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाह र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का पछिल्ला अभिव्यक्ति गणतन्त्र विरोधी रहेको ठहर गरेको छ । सोमबार बसेको सचिवालय बैठकमा शाह र प्रचण्डका पछिल्ला अभिव्यक्तिबारे छलफलपछि एमालेले यस्तो ठहर गरेको हो ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शाहको अभिव्यक्ति गणतन्त्र उल्ट्याउने प्रयत्नका रूपमा आएको र प्रचण्डको अभिव्यक्ति सत्तामा नहुँदाको कुण्ठा र पीडा बोधले भरिएको बताए । साथै चैत १५ गते तीनकुनेमा राजावादीले गरेको प्रदर्शन र त्यसक्रममा भएका हत्या, हिंसालाई ज्ञानेन्द्र शाहले नयाँ वर्षका अवसरमा दिएको सन्देशमा ‘जागरण’ भनेकोमा एमालेले आपत्ति जनाएको छ ।
‘तीनकुनेमा प्रकट भएका कुरालाई जनअसन्तुष्टि भन्ने हो भने जनताको नै नयाँ परिभाषा गर्नुपर्छ, असन्तुष्टिको बेग्लै परिभाषा गर्नुपर्छ आन्दोलनको बेग्लै परिभाषा गर्नुपर्छ’, उपमहासचिव ज्ञवालीले बैठकको निष्कर्ष सुनाउँदै भने ‘त्यो जनअसन्तुष्टि होइन ।’ एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति परिवर्तन उल्ट्याएर मुलुकलाई पछाडि फर्काउन प्रयत्न र सक्रियताका रूपमा लिएको ज्ञवालीको भनाइ छ ।
‘हिजो मात्रै पूर्वराजा ज्ञानेन्द्रको सन्देश भनेर जुन अभिव्यक्त आएको छ, त्यो अभिव्यक्ति हेर्दा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि, अहिलेका उपलब्धिलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र सक्रियता जीवितै रहेको पायौँ’, उपमहासचिव ज्ञवालीले सञ्चारकर्मीसँग भने, ‘त्यो एकदमै गलत कुरा हो । आपराधिक घटनालाई जनतामा आएको जागरण भन्ने, लुटपाट र तोडफोडलाई जागरण भन्ने हो भने धेरै आपत्तिजनक हो ।’
पूर्वराजा शाहले आइतबार नयाँ वर्ष २०८२ का अवसरमा झन्डै १३ मिनेटको भिडियो सन्देश जारी गर्दै तीनकुने घटनाप्रति दुःख व्यक्त गरे पनि उक्त प्रदर्शनलाई जनतामा आएको ‘जागरण’ का रूपमा व्याख्या गरेका थिए ।
एमाले बैठकले पूर्व राजालाई त्यसखालका कुनै पनि क्रियाकलाप नगर्न सचेत समेत गराएको छ । गणतन्त्र उल्ट्याउने प्रयासका साथ कसैले त्यस्तो गतिविधि गर्छ भने त्यो अस्वीकार्य हुने चेतावनी एमालेको छ ।
त्यस्तै पूर्व प्रधानमन्त्री प्रचण्डले आइतबार चितवनमा पुगेर वर्तमान सरकार परिवर्तन हुनसक्ने भनेर दिएको अभिव्यक्तिको पनि एमालेले खण्डन गरेको छ । ‘अहिले सरकार परिवर्तन न कतैबाट सम्भव छ, न त्यसको सान्दर्भिकता छ र औचित्य छ’, ज्ञवालीले भने- ‘प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ । यो सरकार बाहिर हुँदाको कुण्ठा र पीडाबोध प्रकट हो ।’ एमालेले अहिले सरकार परिवर्तन कतैबाट सम्भव, सान्दर्भिकता र औचित्य समेत नभएको स्पष्ट पारेको छ ।
‘राष्ट्रिय राजनीतिका यावत् विषय छाडेर सरकार परिवर्तनको कुरा मात्र गर्नु भनेको सत्ता मोहबाहेक केही होइन । भ्रम सिर्जना गर्ने कोसिस भएको छ त्यसलाई हामीले खण्डन गरेका छौँ’, एमालेले भनेको छ । ०६३ साल मङ्सिर ५ गतेको विस्तृत शान्ति सम्झौता पछिको १८ वर्षमा सबैभन्दा बढी सरकारमा माओवादी नै बसेको र एमाले कम समय बसेको जनाएको छ ।
‘सरकारमा सबैभन्दा कम बसेको एमाले हो । बिचमा भएको नेपाली कांग्रेस हो । माओवादी प्रतिपक्षमा भनेको माधव नेपाल नेतृत्वको सरकारको २० महिना, नेकपा विभाजनको केही महिना र अहिले नै हो’ उपमहासचिव ज्ञवालीले प्रश्न गरे, ‘अधिकांश समय आफैँ सरकारमा बस्ने, अनि सरकारले काम गरेन भनेर अरूलाई मात्रै औँला ठडाएर हुन्छ ? आफूले जबाफदेहिता लिनुपर्दैन ? जो सबैभन्दा बढी सरकारमा बस्छ उसले चाहिँ जिम्मेवारी लिनु नपर्ने हो ?’
नेकपा एमालेले एकथरी व्यवस्था परिवर्तन गर्न खोज्ने र अर्को थरी सरकार परिवर्तन गर्न खोज्ने प्रवृत्ति अस्थिरताको घोतक रहेको निष्कर्ष समेत निकालेको छ । एमाले सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला विकसित राजनीतिक घटनाक्रम र अभिव्यक्तिबारे संक्षिप्त जानकारी गराएका थिए ।
सात योद्धालाई सम्मान गर्ने
एमाले बैठकले कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने सात जनालाई यो वर्ष सम्मान गर्ने निर्णय पनि गरेको छ । वैशाख ९ गते पार्टी स्थापनाको ७६ औँ वर्षगाँठ भव्य रूपले मनाउने निर्णयसँगै कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउने विशिष्ट योद्धाहरूलाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय गरेको हो ।
एमालेले लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), वाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौँ), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण शिवाकोटी (झापा) लाई सम्मान गर्ने भएको हो । जाजरकोटका न्यौपानेको मृत्यु भइसकेको छ । उनलाई मरणोपरान्त सम्मान गर्न लागिएको एमालेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने
-
लोकतान्त्रिक महिला संघको संयोजकमा निर्जला राउत