पूर्वराजा ज्ञानेन्द्र : ‘मौकामा चौका हान्न’ समर्थक उचाल्ने प्रयास !

काठमाडौँ । जनआन्दोलनको बलमा २४० वर्षीय शाह वंशीय राजतन्त्र ढलेपछिका केही वर्षसम्म पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवास र नागार्जुनमा चुपचाप बसे । पछिल्ला वर्षहरूमा भने वर्तमान व्यवस्था र दलहरूको गतिविधिलाई लिएर बेलाबेला विज्ञप्ति र सार्वजनिक समारोहमार्फत घोपपेचमा उत्रिने गरेका पूर्वराजाको अभिव्यक्ति फागुन ७ सम्म आइपुग्दा ‘क्लाइमेक्स’मा पुग्यो । जुन अभिव्यक्तिले गणतन्त्र पक्षधर दलहरूमै तरङ्ग ल्याइदियो ।
पूर्वराजाले फागुन ७ को पूर्वसन्ध्यामा एक भिडियो सन्देशमार्फत देशको समृद्धि र उन्नतिका लागि आफूलाई साथ दिन आह्वान गरेका थिए । राजनीतिक अस्थिरता, बेरोजगारी, भ्रष्टाचार तथा युवामा बेचैनी बढिरहेको सन्दर्भमा असन्तुष्ट जनमतलाई आफूतर्फ तान्ने मनसायका साथ पूर्वराजाले आफू चुप नलाग्ने अभिव्यक्ति दिँदै वर्तमान व्यवस्थाप्रति खुलेआम चुनौती दिएका थिए ।
वर्तमान राजनीतिक दल र उनीहरूलाई चेतावनीयुक्त भाषामा शाहले राष्ट्रिय समस्या समाधानका लागि विगतमा आफूले त्याग गरेको र अब पनि त्याग गर्न तयार रहेको भन्दै ‘राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम गर्न’ आफूलाई साथ दिन आह्वान गरे ।
‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिका लागि हामीबाट अरू के–के त्याग गर्नुपर्ने हो, हामी तयार छौँ,’ पूर्वराजा शाहले कठोर भाषामा भिडियोमार्फत भनेका थिए, ‘अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको समृद्धि र उन्नतिका लागि हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ ।’
पूर्वराजाको अभिव्यक्तिपछि राजावादी शक्तिहरू उत्साहित बने । संसदीय राजनीतिमा रहेको राजावादी दल राप्रपाले पार्टी बैठकबाटै पूर्वराजाको अभिव्यक्तिको स्वागत ग¥यो भने सोहीअनुसार आन्दोलनको कार्यक्रम तय ग¥यो । जसअनुसार देशभर सभा र मोटरसाइकल ¥याली गरेर राप्रपाले आन्दोलनको तयारी गर्दैगर्दा बिचमा नवराज सुवेदीको नेतृत्वमा ‘राजसंस्था पुर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ घोषणा भयो । अर्कोतिर दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ’ अभियान पनि थियो नै । सुवेदीको समिति बन्नु अघि नै फागुन २५ मा पूर्वराजा पोखराबाट फर्किंदा राजावादीहरूले एक भएर विमानस्थलमा स्वागत गरे । आफ्नो स्वागतका लागि दशौँ हजार सर्वसाधारण विमानस्थलमा पुगेपछि ज्ञानेन्द्र थप उत्साहित बन्नु स्वाभाविक नै थियो ।
सोही उत्साहअनुसार नै पूर्वराजासमेतको समर्थनमा सर्वस्वीकार्य नेतृत्व भनेर सुवेदीको नेतृत्वमा संयुक्त आन्दोलन समिति घोषणा गरिएको राजावादीहरू बताउँछन् । सो समितिमा राजावादी पार्टी राप्रपा र राप्रपा नेपालदेखि दुर्गा प्रसाईंसम्मलाई समेटियो भने सोही समितिमार्फत संयुक्त आन्दोलन गर्ने भनियो । भलै समितिमा राखिएका राजेन्द्र लिङ्देन लगायतले आफूसँगको सल्लाहविनै नाम समेटिएको भन्दै सार्वजनिक असन्तुष्टि नै जनाए । असन्तुष्टिकै बिच पनि राप्रपालगायत सबैले समितिलाई साथ दिने त भने तर अहिलेसम्म उक्त समितिमार्फत कुनै प्रभावकारी आन्दोलन हुन सकेको छैन । बरु दुर्गा प्रसाईंको आयोजनामा तीनकुनेमा चैत १५ मा राजावादीको प्रदर्शन आयोजना त गरियो तर सोही प्रदर्शनले पूर्वराजालाई नराम्ररी धक्का लाग्नुका साथै विवादित बनाएको छ ।
राजतन्त्र फर्काउने उद्घोषका गरिएको उक्त प्रदर्शनका लागि दुर्गा प्रसाईंलाई कमाण्डर बनाइयो भने प्रदर्शनको अघिल्लो दिनमात्रै आशीर्वाद थाप्नका लागि प्रसाईं निर्मल निवास पुगेका थिए । तर, प्रदर्शनका क्रममा राजावादीले देखाएको अराजकताका साथै लुटपाट, आगजनी र तोडफोडको घटनाका साथै दुई जनाको मृत्युसमेत भएको सन्दर्भमा पूर्वराजा विवादित बनेका हुन् ।
चैत १५ को प्रदर्शनपछि गणतन्त्र पक्षधर प्रमुख दलका शीर्ष नेताले पूर्वराजामाथि कारबाहीको प्रसङ्ग निकालेका मात्रै छैनन्, पूर्वराजालाई जवाफदेही बनाउनुपर्छ भनेर संसदीय समितिमा प्रस्तावसमेत गरिएको छ । अझ संसदलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीका तर्फबाट भएका हिंस्रक गतिविधिका लागि पूर्वराजा नै जिम्मेवार रहेको जिकिर गरे ।
झन्डै एक वर्षदेखि सरकार र व्यवस्थाप्रति घृणा फैलाउने काम ज्ञानेन्द्रबाट भएको उनको भनाइ थियो । ‘आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैन, पाउनु हुन्न । यसमा पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न । फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन ?’, ओलीको भनाइ थियो ।
यसरी चौतर्फी रूपमा पूर्वराजा निशानामा परेपछि निर्मल निवासका तर्फबाट संवाद सचिव फणि पाठकलगायतले तीनकुने घटनामा पूर्वराजाको कुनै साइनो नभएको जिकिर गरे । औपचारिक तथा अनौपचारिक कुराकानीमा पूर्वराजाका अन्य सहयोगीहरूले आफ्नो पक्षमा भएका आन्दोलनमा दुर्गा प्रसाईंलगायतले संयमता गुमाउँदा आफूलाई नै विवादमा तान्ने काम भएको रातोपाटीसँग बताएका थिए । यतिमात्रै होइन, पूर्वराजाले आफूलाई अप्ठ्यारो नबनाइदिन आन्दोलन समितिका व्यक्तिहरूलाई भनेका थिए ।
सोही कारण हो या अन्य कारणले हो, चैत २१ देखि सशक्त आन्दोलन गर्ने भनेर घोषणा गरेको सुवेदी नेतृत्वको समिति अहिले सामान्य गतिविधिमै सीमित छ । त्यसमाथि पनि चैत १५ को प्रदर्शनलाई सघाएकाले सुवेदी घरमै अघोषित नजरबन्दमा परेपछि जगमान गुरुङ कार्यवाहक संयोजक बनेका छन् । उसो त १५ गतेको आन्दोलनपछि प्रसाईंसहित राप्रपाका नेताहरू धवल शमशेर राणा र रवीन्द्र मिश्र लगायत कैयन राजावादी पक्राउ परिसकेका छन् ।
यो पृष्ठभूमिमा पूर्वराजा शाह आइतबार नयाँ वर्ष २०८२ को अवसरमा भिडियो शुभकामना सन्देशसहित उपस्थित भए । यसअघि नै आफूलाई साथ दिन आह्वान गरिसकेका पूर्वराजा आइतबार भने सन्तुलित र आफूलाई तीनकुने घटनामा कुनै सरोकार नभएको जस्तो ढंगले प्रस्तुत भए । चौतर्फी असन्तुष्टि बढिरहेको सन्दर्भमा ‘मौकामा चौका हान्ने’नियतका साथ समर्थक उचालेको आरोप लागेका उनले अहिलेचाहिँ आफैँ फस्ने परिस्थिति बनेसँगै सन्तुलित अभिव्यक्ति दिएको हुनुपर्छ ।
आइतबारको भिडियो सन्देशमा पूर्वराजाले आक्रामक बोलेनन्, बरु हरेक समस्या समाधानका लागि संवाद, समन्वय, सहमति र सहकार्यबाट अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘हाम्रा आह्वान हामी कसैको निजी स्वार्थ पूर्तिका निमित्त होइन, कुनै खालको सैद्धान्तिकवाद वा विचारको होइन, समग्र जनताको स्वाधीनता सम्प्रभुता तथा नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो ।’ पूर्वराजा शाहले वास्तविक लोकतन्त्रमा जनगुनासो सुन्नुपर्ने समेत भन्न भ्याए ।
‘नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र जहाँ हुन्छ, त्यहाँ राम्रो–नराम्रो जनगुनासो वा गुनगान परम्परा र संस्कार हुन्छ । नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ, त्यसलाई हामीले सकारात्मक रूपमा लिएका छौँ,’ उनले भने, ‘जुन जागरुकता पैदा भएको छ, २०८२ सालमा त्यस अनुसारको परिणाम हासिल हुने विश्वास लिएका छौँ ।’
यस्तै उनले संसार धेरै अघि बढिसकेको भन्दै नेपाल आमालाई केन्द्रमा राखेर कदम चाल्नुपर्ने समेत बताए ।
ज्ञानेन्द्रकै शासनकालमा मन्त्री बनेका राधाकृष्ण मैनालीले उनको सम्बोधनको पछिल्लो भाषाहरू हेर्दा अलि परिपक्व र राजनीतिक चेत भएको जस्तो देखिएको प्रतिक्रिया दिए ।
गरिबी निवारण र सुशासन जस्ता कुरामार्फत उनले जनताका समस्यालाई छुने प्रयास गर्दै राजनीतिक चेत भएको जस्तो देखिएको मैनालीको भनाइ थियो ।
‘पहिलेपहिलेका भन्दा पूर्वराजा शाहको पछिल्लो वक्तव्य अलि फरक छ । एकातिर देशको अवस्थाको चित्रण गर्नुका साथै अर्कोतिर संवैधानिक राजतन्त्रको कुरा गरिएको छ । गरिबी निवारण, सुशासन र जस्ता कुरा गरेर उनले जनतका समस्यालाई छोएको देखिन्छ,’ मैनालीले भने ।
तर, नेकपा एमालेले भने पूर्वराजाको आइतबारको भिडियो सन्देशमा पनि सन्तुष्ट हुन सकिने ठाउँ नभएको बताइसकेको छ । सोमबारको सचिवालय बैठकवपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराजाको सक्रियता आपत्तिजनक रहेको बताए । उनले पूर्वराजाले अझै पनि गल्ती गर्न खोजिरहेको उल्लेख गर्दै यसखालको गतिविधि नगर्न चेतावनी दिए ।
‘हिजोमात्रै पूर्वराजा ज्ञानेन्द्रको सन्देश भनेर जुन अभिव्यक्ति आएको छ, त्यो अभिव्यक्ति हेर्दा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि, अहिलेका उपलब्धिलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र सक्रियता जीवितै रहेको पायौँ,’ उनले भने, ‘त्यो एकदमै गलत कुरा हो । आपराधिक घटनालाई जनतामा आएको जागरण भन्नुभयो, लुटपाट, तोडफोड त्यस्तै जागरण हो भने त्यो आपत्तिजनक हो ।’
ज्ञवालीले चैत १५ गते राजधानीको तीनकुने घटनाको जिम्मेवारी पनि शाहले नै लिनुपर्ने बताए ।
उनले भने, ‘उहाँले १५ गतेको घटनाको बारेमा दुःख प्रकट गर्नुभयो, बडो गाह्रो मानमानी तर, त्यो घटनाको जिम्मेवारी लिनुपर्दैन ? उहाँले फागुन ७ गते म अगाडि बढेँ, मलाई साथ दिनुस् भनिसकेपछि र कमाण्डर तोकिसकेपछि उहाँ जवाफदेही त हुनुपर्छ ।’
ज्ञवालीले पूर्वराजामा अझै पनि उक्त घटनाबारे पश्चाताप नदेखिएको बताए ।
- एक वर्षमा ३ भिडियो सन्देश, १० वक्तव्य
पूर्वराजा ज्ञानेन्द्र शाहले एक वर्षको अवधिमा ३ वटा भिडियो सन्देश जारी गरे । पृथ्वी जयन्ती, प्रजातन्त्र दिवस र नयाँ वर्षको अवसरमा उनले भिडियो सन्देश जारी गरेका हुन् । जसमध्ये प्रजातन्त्र दिवसको भिडियो सन्देशले उनलाई विवादमा ल्याएको हो ।
यसबाहेक उनले नयाँ वर्ष २०८१ को अवसरमा लिखित शुभकामना सन्देश दिएका थिए भने असोजको बाढी पहिरो जाँदा, पारा ओलम्पिक्समा पलेसा गोवर्द्धनले कास्य पदक जित्दा र दसैँको अवसरमा शुभकामना वक्तव्य जारी गरेका थिए । यसबाहेक उनको निजी भ्रमणसँग सम्बन्धित विषयमा संवाद सचिवालयमार्फत सूचनामूलक विज्ञप्तिहरू जारी भएका थिए ।
वर्ष २०८१ मा वर्तमान व्यवस्थाविरुद्ध खुलेआम चुनौती दिने प्रयास गरेका पूर्वराजा वर्ष २०८२ मा कसरी अघि बढ्छन्, त्यो आगामी दिनमा उनको गतिविधिबाट प्रस्ट हुने नै छ । साथसाथै पूर्वराजाले आफ्नो व्यवस्था विरोधी गतिविधिलाई जारी राखे चुप लागेर नबस्ने सन्देश गणतन्त्र पक्षधरले दिइसकेको पृष्ठभूमिमा खुलेआम राजावादी अभियानलाई प्रश्रय दिनु उनका लागि जोखिमपूर्ण भने छँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको महाधिवेशन फागुनमा हुने
-
हेटौँडा अस्पतालको बोर्ड तोर्डमोड गर्ने ६ जना पक्राउ
-
केपी ओली कप क्रिकेट : उपाधिका लागि गण्डकी र काठमाडौँ भिड्ने
-
विदेश जाँदा परराष्ट्रमन्त्री भनेर इज्जत गर्छन्, तर देशको माहोल बिग्रियो – परराष्ट्रमन्त्री
-
नेपालमै पहिलो पटक ROYAL ENFIELD काे एबीएस सिस्टम बाइक बजारमा
-
लागुऔषध कारोबारमा संलग्न आमाछोरा पक्राउ