मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

छोटिँदै संवाद र बिग्रँदै सम्बन्ध

नयाँ वर्षदेखि थालौँ संवाद र सम्बन्ध सुधार

सोमबार, ०१ वैशाख २०८२, १६ : ५४
सोमबार, ०१ वैशाख २०८२

मानिस सामाजिक सञ्जालहरुको अत्यधिक प्रयोगमा व्यस्त छ, जसले गर्दा वास्तविक र व्यक्तिगत संवादको कमी आएको छ । मानिसबिच सूचना आदान–प्रदान त हुन्छ तर गहिरो भावनात्मक र खुला संवाद कम हुन्छ । वास्तविक संवाद होइन, सन्देश प्रयोग गर्छौं । कामको चाप, व्यक्तिगत व्यस्तता र पारिवारिक जिम्मेवारीले समयको कमी ल्याएको हो या भावनात्मक संवेदनशीलता घटेको हो ? 

सरल अर्थमा भन्नुपर्दा मानिसले अरूको विचार र भावना बुझ्नका लागि समय दिन छाडेका छन, जसले सम्बन्ध कमजोर बन्दै आएको छ । मानिसहरू एक–अर्कासँग खुला र साँचो संवाद गर्न छाडेर औपचारिकतामा सीमित हुन थालेका छन् । 

संवाद केवल शब्दहरूको आदान–प्रदान मात्र होइन, यसले हाम्रो जीवनका सबै पाटामा गहिरो प्रभाव पार्छ । यसलाई मात्र एक साधारण प्रक्रियाका रूपमा नहेरेर, यो मानिसको मानसिक, सामाजिक र सांस्कृतिक स्थितिमा महत्त्वपूर्ण भूमिका निभाउने शक्तिशाली उपकरणका रूपमा हेर्नुपर्छ । सही र प्रभावकारी संवादको अभ्यास गर्दा व्यक्तिको मानसिक र भावनात्मक स्थिति सुधारिन्छ, सामाजिक समन्वय बढ्छ र वैश्विक स्तरमा शान्ति र सहयोगको वातावरण सिर्जना गर्न मद्दत पुर्‍याउँछ । यस आलेखमा संवादको महत्त्व र यसको सकारात्मक प्रभावलाई वैज्ञानिक र सामाजिक दृष्टिकोणबाट विश्लेषण गर्ने प्रयास गरिएको छ । 

  • संवाद र मानसिक प्रभाव

संवादले मानिसको मानसिक स्वास्थ्यमा ठुलो प्रभाव पार्छ । प्राचीन समयमा विभिन्न धर्म र संस्कृतिले पनि राम्रो संवादलाई आत्मिक शान्ति र सन्तुलनको स्रोतका रूपमा स्वीकार गरेका छन् । खुलेर र इमानदारीपूर्वक अरूसँग कुरा गर्दा हाम्रो मानसिक अवस्थामा सकारात्मक प्रभाव मात्रै पर्दैन, भावनात्मक सम्बन्धलाई पनि सशक्त बन्छ । हाम्रो आन्तरिक संघर्ष, चिन्ता र तनावलाई संवादमार्फत बाहिर निकाल्दा मानसिक शान्ति र सन्तुलन कायम राख्न सहयोग पुग्छ । मानसिक स्वास्थ्य विशेषज्ञका अनुसार संवादको अभावले तनाव, चिन्ता र अवसादजस्ता मानसिक समस्याको जोखिम बढाउँछ । यसको विपरीत खुला र सहानुभूतिका साथ गरिएको संवादले मानिसलाई आफ्ना भावना व्यक्त गर्नका लागि सुरक्षित स्थान दिन्छ, जसले गर्दा मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।

  • संवाद र सामाजिक सम्बन्ध

मानव समाजका सबै सदस्य एक–अर्कासँग परस्पर निर्भर छन् । समाजमा एकता र सुसंवादका लागि राम्रो संवाद अत्यन्त आवश्यक छ । जब समाजका सदस्य एक–अर्कासँग खुला र इमानदार संवाद गर्छन्, तब तिनीहरूको बिचमा विश्वास र समझदारी बढ्छ । परिणामस्वरूप समाजमा सहिष्णुता, सहयोग र समृद्धिको वातावरण निर्माण हुन्छ; विभिन्न वर्ग, धर्म र संस्कृतिका बिचमा सकारात्मक सहकार्यको सम्भावना बढ्छ । जसरी परिवारका सदस्यबिच खुला संवादले पारिवारिक एकताको भावना बलियो बनाउँछ, त्यसरी नै समुदायका सदस्य बिचको संवादले समाजमा आत्मसम्मान, समानता र आपसी सम्मानको भावना बढाउँछ, जसले गर्दा सामाजिक स्थिरता र शान्ति कायम रहन्छ ।

स–साना घटनालाई संवादमार्फत समाधान खोजिनुपर्छ । यसो गर्नु मानिसको नैसर्गिक बानी हो तर सानै कुरा त हो भनेर कुनै घटनालाई संवादमार्फत समाधान खोजिएन भने त्यसले विकराल रूप लिन सक्छ । पछिल्लो समयमा परिवार, साथीभाइ र सम्बन्धमा आपसी संवाद घट्दै गएको छ । संवादविनाको सम्बन्ध धेरै लामो टिक्दैन ।

सामाजिक समृद्धि केवल आर्थिक प्रगतिसँग मात्रै सम्बन्धित छैन, यसमा सामाजिक र मानसिक समृद्धि पनि जोडिनुपर्छ । राम्रो संवादको अभ्यासले समाजको समृद्धिमा सकारात्मक योगदान पुर्‍याउँछ । जब व्यक्तिहरू र समुदायहरू एकअर्कासँग सहकार्य र साझा प्रयास गर्दै संवाद गर्छन्, त्यसले नयाँ विचारहरूको आदान–प्रदान र समस्या समाधानको प्रक्रिया छिटो बनाउँछ ।

  • संवाद र विश्व शान्ति

संवादको महत्त्वलाई अन्तर्राष्ट्रिय सम्बन्ध र विश्व शान्तिको सन्दर्भमा पनि बुझ्न सकिन्छ । जब द्वन्द्वरत राष्ट्रहरूबिच संवादका माध्यमबाट मतभेद समाधान गर्न खोजिन्छ, तब युद्ध र हिंसाका घटनामा कमी ल्याउन मद्दत मिल्छ । कूटनीतिक संवाद र सहकार्यका माध्यमबाट राष्ट्रहरूले एकअर्कासँग समन्वय गर्दै शान्तिपूर्ण सहअस्तित्व कायम गर्न सक्छन् ।
संवादको सकारात्मक प्रभाव संसारभरिका शान्ति प्रक्रियामा देखापर्छ । द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति सम्झौतासम्म पुग्नका लागि संवादले अनिवार्य उपकरणका रूपमा काम गरेका उदाहरण छन् । भारत र पाकिस्तान बिचको कूटनीतिक संवाद, इजरायल र प्यालेस्टाइन बिचको शान्ति प्रयासहरूमा संवादको महत्त्वपूर्ण भूमिका  छ । नेपालमै पनि कैयौँ घटना संवादबाट समाधान भएका उदाहरण छन् । 

  • वैज्ञानिक दृष्टिकोण र संवाद

वैज्ञानिक दृष्टिकोणले पनि संवादको महत्त्वलाई पुष्टि गरेको छ । मानव मस्तिष्क र तान्त्रिक प्रणालीका अध्ययनले देखाउँछ कि राम्रो संवादले तन्त्रिका प्रणालीमा सकारात्मक प्रभाव पार्छ । जब हामीसँग साझा र सकारात्मक संवाद हुन्छ, तब हाम्रो मस्तिष्कमा ‘अक्सिटोसिन’ र ‘सेरोटोनिन’ जस्ता हर्मोनको उत्पादन बढ्छ, जसले हाम्रो मानसिक स्थिति सुधार्न र सकारात्मक सोचको विकास गर्न मद्दत गर्छ ।

विज्ञानले यो पनि प्रमाणित गरेको छ कि संवादमार्फत व्यक्तिको सोच र दृष्टिकोणमा विकास हुन्छ । सही समयमा गरिएको संवादले समस्यालाई नयाँ दृष्टिकोणबाट देख्न र समाधान गर्न प्रेरित गर्छ । यसले मानिसको विचारको विकास र सिर्जनशीलता पनि बढाउँछ ।

विज्ञानले मानव मस्तिष्कमा संवादसम्बन्धी ‘ब्रोकाज’ र ‘बेर्निक’ एरिया गरी दुई भागले नियन्त्रण गरिरहेको हुन्छ । एकले बोली निर्माण गर्छ भने अर्कोले बोली बुझ्ने र अर्थ दिने काम गर्छ । विज्ञानको एक अध्ययन अनुसार दिनमा कम्तीमा दश पन्ध्र मिनेट पनि खुलेर संवाद गर्ने मानिस डिप्रेसनको खतरा ३० प्रतिशतसम्म कम हुन्छ । अमेरिकन साइकोलजिकल एसोसिएसनको रिपोर्ट अनुसार आफ्ना भावनालाई खुलेर व्यक्त गर्न पाउँदा मानिसको तनाव ४० प्रतिशत कम हुन्छ । संवादले मानिसमा सहानुभूति आदान–प्रदान हुन्छ । स्ट्यानफोर्ड युनिभर्सिटीको एक अध्ययन अनुसार सहानुभूतिपूर्ण संवाद गर्ने व्यक्तिमा सामाजिक सम्बन्ध बलियो र दिगो हुन्छ । 

  • संवाद बढाउने उपाय

संवाद घट्नुमा धेरै कारण हुन सक्छन् । अरुको कुरा नसुन्ने बानी एउटा महत्त्वपूर्ण कारण हुन सक्छ । त्यसैले अरु बोलिरहेका बेला ध्यानपूर्वक सुन्ने बानी बसालौँ । बोलेर प्रतिक्रिया दिनुभन्दा शारीरिक हाउभाउ र अनुहारमा सहानुभूति देखाउने बानी बसाल्न सकिन्छ । ‘हुन्छ’, ‘तपाईंको कुरा ठिक हो’ जस्ता संकेत दिन सकिन्छ । संवादमा प्रयोग हुने आवाजको लय र शब्दको छनोटसँगै शान्त र सकारात्मक बनाउने प्रयत्न गर्नु बुद्धिमानी हुन्छ । गाली, आरोप वा निर्देशनात्मक शैलीले संवाद बिगार्छ । संवाद बढाउन खुला प्रश्न सोध्ने बानी बसाल्ने हो भने संवादलाई दुईतर्फी बनाउँछ । आफू र अरूको भावना बुझ्न सक्ने क्षमता विकास गर्नु संवादमा धेरै उपयोगी हुन्छ ।

केही बानीको विकासले संवादलाई आकर्षक बनाउन सकिन्छ । जस्तो ः कुनै कारणले रिस उठेको छ भने तत्काल संवाद नगरी पछि समय मिलाएर कुरा गर्ने, गुनासोबाट संवाद सुरु नगर्ने, समाधानमा केन्द्रित संवाद गर्ने, समस्या भएमा गाली नगरी सुझाव दिने शैलीमा प्रस्तुत हुने बानीको विकास गर्न सकिन्छ । ‘तपाईं गलत हुनुहुन्छ, सधैँ यस्तो गर्नुहुन्छ, तपाईंको बानी ठिक छैन’ जस्ता वाक्यको प्रयोग गर्नबाट जोगिनु अनिवार्य हुन्छ । यसले नकारात्मक ऊर्जा हट्छ र संवाद सकारात्मक मोडमा जान्छ । परिवार, साथी, सहकर्मीसँग दैनिक ५–१० मिनेट गहिरो संवाद गर्ने बानी बसाल्दा राम्रो हुन्छ । संवाद एक पुल हो, जसले मन र मनबिचको दूरी हटाएर सम्बन्ध बलियो बनाउँछ । यसको सही अभ्यासले मानिसको व्यक्तिगत, पारिवारिक, सामाजिक र व्यावसायिक जीवनमा सकारात्मक क्रान्ति ल्याउँछ । 

अन्त्यमा 

संवाद केवल शब्दहरूको आदान–प्रदान मात्र होइन, हाम्रो जीवनलाई रूपान्तरण गर्ने एउटा महत्त्वपूर्ण प्रक्रिया हो । राम्रो संवादको अभ्यासले व्यक्तिको मानसिक, सामाजिक र सांस्कृतिक स्वास्थ्यमा सुधार ल्याउँछ । जसले समग्र समाजमा शान्ति, सहकार्य र समृद्धि वृद्धि गर्छ । जीवनलाई अझ सशक्त र समृद्ध बनाउन मद्दत मिल्छ । 

स–साना घटनालाई संवादमार्फत समाधान खोजिनुपर्छ । यसो गर्नु मानिसको नैसर्गिक बानी हो तर सानै कुरा त हो भनेर कुनै घटनालाई संवादमार्फत समाधान खोजिएन भने त्यसले विकराल रूप लिन सक्छ । पछिल्लो समयमा परिवार, साथीभाइ र सम्बन्धमा आपसी संवाद घट्दै गएको छ । संवादविनाको सम्बन्ध धेरै लामो टिक्दैन । तसर्थ सम्बन्ध बलियो बनाउन संवाद बलियो बनाउनु अनिवार्य छ । जेहोस् अहंकार र घमण्ड कम गरौँ । नयाँ वर्ष २०८२ को शुभकामनासहित सम्बन्ध सुधार गर्न संवादको थालनी गरौँ । खुसीलाई स्वागत गरौँ । 
(लेखक ज्ञवाली वास्तु विज्ञानका सञ्चालक दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरतमणि ज्ञवाली
भरतमणि ज्ञवाली
लेखकबाट थप