बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विभिन्न स्थानमा सवारी दुर्घटना :  ८ जनाको मृत्यु

सोमबार, ०१ वैशाख २०८२, १५ : ४६
सोमबार, ०१ वैशाख २०८२

काठमाडौँ । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ । दार्चुला, चितवन, पाल्पा, हुम्ला लगायतका जिल्लामा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।  

दार्चुलाको नौगाड गाउँपालिका–५ सौकेबगरस्थित सडकमा बा.३ क २३९९ नम्बरको पानी बोक्ने ट्याङ्करको ठक्करबाट सोही ठाउँ बस्ने ५५ वर्षीय हरिशसिंह ऐरीको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै चितवनको खैरहनी नगरपालिका–९ सिमलटाडी चोकस्थित सडकमा युपी ४० टी ३९५६ नम्बरको ट्रकले ना.४४ प १३५८ नम्बरको मोटरसाइकललाई आइतबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक खैरहनी नगरपालिका–१ बस्ने ६४ वर्षीय केशवबहादुर कर्माचार्यको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैगरी चितवनको भरतपुर महानगरपालिका–४ साप्कोटा चोक नजिकै बा.प्र.०६.००१ च ०३४९ नम्बरको कारको ठक्करबाट पैदलयात्री पर्सा सखुवा प्रसौनी गाउँपालिका–२ बस्ने २५ वर्षीय लालबाबु पासवानको सोमबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको जानकारी दिएको छ । उता, पाल्पाको रामपुर नगरपालिका– ३ ओइरीघाटस्थित सडकमा लाम्टाङबाट ओइरीघाटतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००४ प ८०३९ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा स्कुटर चालक सोही ठाउँ बस्ने ७५ वर्षीय पदमबहादुर ठाडाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै हुम्लाको चंखेली गाउँपालिका–२ लोती भन्ने स्थानमा प्रदेश–२–०३–००१ क ०९७५ नम्बरको स्काभेटर आइतबार राति दुर्घटना हुँदा स्काभेटरमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय परबल कामी र ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको श्री मष्टा प्राथमिक स्वास्थ्य चौकी पिप्लाङमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्काभेटर चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ । उता सिराहाको सुखीपुर नगरपालिका–२ सुखिपुर बरियारपट्टीस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट सोही ठाउँ बस्ने ७० वर्षीया कोमलदेवी यादवको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी भैरहेकाे बताएकाे छ ।

गोरखाको गोरखा नगरपालिका–९ ठिगुरेश्वारास्थित सडकमा काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा.८८ प ९७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा चालक भिमसेन थापा गाउँपालिका–६ अश्राङ बस्ने २६ वर्षीय केशव पाण्डेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल गोरखामा उपचारको क्रममा मृत्यु भएको हो ।  साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि वीर अस्पताल काठमाडौँ रिफर गरिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप