मन्त्री गुरुङद्वारा ‘घलेगाउँ पर्यटन रजत जयन्ती’ को उद्घाटन

सुन्दरबजार । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङको प्रसिद्ध पर्यटकीय गन्तव्य घलेगाउँमा ‘घलेगाउँ पर्यटन रजत जयन्ती’ कार्यक्रमको उद्घाटन गरेका छन् । घलेगाउँ पर्यटन व्यवस्थापन समितिको आयोजनामा सुरु भएको यो कार्यक्रमले घलेगाउँको २५ वर्षे पर्यटन यात्रालाई स्मरण गर्दै गाउँ पर्यटनको महत्त्व र योगदानलाई उजागर गर्ने उद्देश्य राखेको छ ।
सो अवसरमा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले घलेगाउँको यात्रा दुःख, विकटता र अभावबाट सुरू भएर अहिलेको स्मार्ट भिलेजको यात्रासम्म आइपुगेको बताए । उनले परिवर्तनको मूल रहस्य समुदायको एकता, नेताहरूको अठोट र जनसहभागिता भएको उल्लेख गरे ।
घलेगाउँलाई विश्वले चिनेको ठाउँको रूपमा प्रस्तुत गर्दै यसको उदाहरण देशभर फैलाउन सकिने उनको विश्वास छ । मन्त्री गुरुङले भने, ‘घलेगाउँ नेपालको उत्कृष्ट होमस्टे गन्तव्य हो । यहाँबाट सुरू भएको होमस्टे अभ्यास अहिले देशका विभिन्न जिल्लाहरूमा फैलिएको छ । लमजुङ जिल्ला आज ७७ वटै जिल्लामा गाउँ पर्यटन फैलाउने नेतृत्त्दायी जिल्लाका रूपमा चिनिएको छ ।’
गण्डकी अञ्चलमा मात्रै ३०६ वटा होमस्टे दर्ता भएको उल्लेख गर्दै मन्त्री गुरुङले तीमध्ये धेरैजसो सफलतापूर्वक सञ्चालनमा रहेको जानकारी दिए । उनले ग्रामीण पर्यटनलाई मजबुत बनाउने हो भने नेपाललाई पर्यटनको केन्द्रविन्दु बनाउने सम्भावना रहेको बताए ।
नेपालको हरेक गाउँलाई ‘जीवन्त सङ्ग्रहालय’ को रूपमा परिभाषित गर्दै विविधता, प्रकृति र संस्कृतिको यो सुन्दर मिश्रणले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाउन सकिने मन्त्री गुरुङले विश्वास व्यक्त गरे । उनले भने, ‘भाग्य र भविष्य थाहा हुँदैन, तर कसैको अठोट, नीति र कार्यक्रमले नै भाग्य कोर्न सक्छ ।’
यस अवसरमा स्थानीय बासिन्दाहरू, होमस्टे सञ्चालक, जनप्रतिनिधि तथा विभिन्न सङ्घ–संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रमको आगामी दिनहरूमा विविध सांस्कृतिक कार्यक्रम, पर्यटन छलफल, स्थानीय उत्पादनको प्रदर्शनी र अनुभव आदानप्रदान कार्यक्रम सञ्चालन हुने तयारी रहेको आयोजकले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणघाट-बुटवल सडकमा साना पुल निर्माण सम्पन्न
-
एस्टन भिल्लालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश
-
जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म