बिस्का जात्रा : विक्रम संवतको नयाँ वर्षमा मनाउने हो कि नेपाल संवत् अनुसार ?

इतिहासकारहरूले भन्दै आएका छन् कि ‘बिस्का जात्रा’ लिच्छविकालदेखि चलिआएको को ‘विश्व जात्रा’को संक्षिप्त रूप बनेको हो । ‘विश्व जात्रा’ शब्दको पहिलो उल्लेख भक्तपुरको तौमारी टोलस्थित भैरव मन्दिरको दक्षिणमा रहेको ढुंगाको धारामा ईसापूर्व ५६१ मा नेपाल संवत्मा लेखिएको यक्ष मल्लको शिलालेखबाट भएको मानिन्छ ।
मल्लकालमा र शाहकालको सुरुवातमा समेत ‘विश्व जात्रा’ भनेर चिनिने यो जात्राको नाम ‘विश्व जात्रा’ भनेर अब धेरैलाई थाहा पनि छैन । आजकल नेवाहरूले यसलाई ‘बिस्का जात्रा’ भन्छन् भने अन्य समुदायले यसलाई ‘बिस्केट जात्रा’ भन्ने गर्छन् । संस्कृतिविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठ विश्वयात्राबाटै बिस्का र बिस्केट जात्रा हुन पुगेको बताउनुहुन्छ । विक्रम संवत्को नयाँ वर्षको वरपर मनाइने भएकाले यस जात्रालाई केहीले विक्रम संवत्को नयाँ वर्षको पर्व पनि भन्न थालेको देखिन्छ ।
बिस्का जात्रा र विक्रम संवत्को छुट्टाछुट्टै इतिहास र मिथक छन् । सन् १९०३ मा राणा प्रधानमन्त्री चन्द्रशमशेरले विक्रम संवत्लाई सरकारी कार्यमा प्रयोगमा ल्याएका थिए । यसरी नेपालमा विक्रम संवत्लाई सरकारी संवत्का रूपमा प्रयोग गरिन थालेको शताब्दियौँ अगाडिदेखि नै नेवाहरूले बिस्का जात्रा मनाउँदै आएका छन् ।
नेपाल संवत् अनुसार मनाइने बिस्का जात्रालाई विक्रम संवत्को पर्व भनेर चिनाउन थालेको इतिहास त्यति पुरानो भने होइन । मेष संक्रान्ति भनेर चिनिने वैशाख महिनाको पहिलो दिनलाई नेवाहरूले ‘खाई सल्हु’ भन्ने गर्छन् ।
नेवाहरूले वैशाखको पहिलो दिनलाई नयाँ वर्षको रूपमा मनाउँछन् भन्ने कुनै ऐतिहासिक प्रमाण छैन । मेरो आफ्नै सम्झनामा, सन् १९८० को दशकको सुरुवातसम्म काठमाडौँ उपत्यकामा विक्रम संवत्को नयाँ वर्ष मनाउने खासै धेरै मानिस थिएनन् । त्यतिबेला सरकारी जागिर गर्नेहरूलाई मात्र विक्रम संवत्को नयाँ वर्षबारे केही थाहा थियो । अरूलाई विक्रम संवत्को नयाँ वर्षका बारेमा धेरै थाहा थिएन । उनीहरू विक्रम संवत्को नयाँ वर्षलाई धेरै महत्त्व दिँदैनथे पनि ।
नेपाल संवत् भनेको तिथि र मिति दुवैका आधारमा चलाउँदै आएको संवत् हो भन्ने थाहा पाएका मानिसहरू खासै नभेटिने भएकाले सबैलाई बिस्का जात्रा भनेको विक्रम संवत्को नयाँ वर्षको अवसरमा मनाइन्छ भन्ने भ्रम छ । नेपाल संवत् केवल चन्द्र पात्रो मात्र होइन, सौर्य पात्रो पनि हो भन्ने थाहा नभएकाले पनि मानिसलाई यो भ्रम भएको हो ।
आजकल मानिसहरू नेपाल संवत्लाई चन्द्रमासका आधारमा मनाइने चाडपर्वहरूमा मात्र प्रयोग गर्ने गरेको हामी पाउँछौँ । त्यसै कारण पनि नेपाल संवत् केवल चन्द्रमासमा आधारित पात्रो हो भन्ने गलत धारणा छ ।
इतिहासकार डा. श्यामसुन्दर राजवंशी तथा प्रा. काशीनाथ तमोटले नेपाल संवत् चन्द्र र सौर्य दुवै पात्रोका रूपमा प्रयोग हुने विभिन्न उदाहरण दिएका छन् । विगतमा हामीकहाँ नेपाल संवत्को पात्रो मात्र प्रयोग गरिन्थ्यो तर विभिन्न संक्रान्ति यसै पात्रो अनुसार नै मनाइन्थ्यो ।
बिस्का जात्रा र विक्रम संवत्को छुट्टाछुट्टै इतिहास र मिथक छन् । सन् १९०३ मा राणा प्रधानमन्त्री चन्द्रशमशेरले विक्रम संवत्लाई सरकारी कार्यमा प्रयोगमा ल्याएका थिए । यसरी नेपालमा विक्रम संवत्लाई सरकारी संवत्का रूपमा प्रयोग गरिन थालेको शताब्दियौँ अगाडिदेखि नै नेवाहरूले बिस्का जात्रा मनाउँदै आएका छन् ।
हामीकहाँ विक्रम संवत्को बिल्कुलै प्रयोग नभएका बेलामै विभिन्न संक्रान्तिहरू मनाइने कुराले नेपाल संवत् सौर्य महिनाका आधारमा प्रयोग गरिन्छ भन्ने स्पष्ट छ ।
इतिहासकार डा. महेशराज पन्त नेपाल संवत्ले विक्रम संवत्लाई प्रतिस्थापन गर्न सक्दैन र सरकारी काममा प्रयोग गर्न सकिँदैन भन्ने मान्यता राख्ने व्यक्तित्व हुनुहुन्छ । तथापि उहाँले पनि नेपाल संवत्, शक संवत् र विक्रम संवत्— सबै नै चन्द्र र सौर्य दुवै पात्रोमा प्रयोग गर्ने संवत् हो भन्ने स्पष्ट पार्नुभएको छ ।
अध्येता लुमिन ताम्राकारको संग्रहमा रहेको नेपालभाषाको एक थ्यासफु (हस्तलिखित ग्रन्थ)को यो अंश हेरौँ :
संवत् ९१८ चैत्र ।। रणबहादुर राजाया प्र जा वस विश्व जात्रान ।। विघ्न जुला ।। संक्रांति कुन्हुं यव सि थले यवसिं तोक दुल ।। मध्य पीठ... ... ... ।
अनुवाद : (नेपाल) सम्वत् ९१८ चैत्र ।। रणबहादुर राजा भएको बेला विश्व जात्राका बेलामा ।। विघ्न भयो ।। संक्रान्तिको दिन यवसिं ढाल्ने क्रममा यवसिं टुक्रियो ।। बीचको पीठ... ।
हस्तलिखित ग्रन्थको यो वाक्यले शाह राजा रणबहादुरको शासनकालसम्म यो जात्रालाई ‘विश्वजात्रा’ भनिन्थ्यो भने विक्रम संवत्को त्यहाँ कुनै निसाना थिएन भन्ने देखाउँछ । बरु यो स्पष्ट छ कि केवल ‘संवत् ९१८’ अर्थात् नेपाल संवत् ९१८ मात्र त्यहाँ उल्लेख गरिएको छ । लुमिन ताम्राकारको संग्रहमा रहेको यो पुस्तकमा नेपाल संवत् ७१२ देखिका बिस्का जात्रासँग सम्बन्धित सबै ऐतिहासिक घटनाको टिपोट पनि नेपाल संवत् अनुसार नै उल्लेख भएका छन् । विक्रम संवत्को उल्लेख कतै पनि छैन ।
आजकल मानिसले यस्ता ऐतिहासिक उदाहरण बिर्सिसकेकाले विक्रम संवत् नभएको खण्डमा बिस्का जात्रा वा माघे संक्रान्ति (ध्योचाकु सल्हु) जस्ता चाडपर्व कसरी मनाउने भन्न थालेको पाइन्छ । लिच्छविकाल वा मल्लकालमा पनि नेपालमा विक्रम संवत्को प्रयोग गरिँदैनथ्यो । तर भक्तपुरमा बिस्का जात्रा त लिच्छविकालदेखि नै मनाइँदै आएको हो भन्ने तथ्यलाई बिर्सिएको हुनाले नेपाल संवत्लाई सौर्य पात्रोको रूपमा प्रयोग गर्नु आत्मघाती हुनेछ भन्नेहरू समेत छन् ।
लेखक पूर्णराम मुनकर्मीले आफ्नो पुस्तक ‘संवत् सन्दर्भ छगू दुवाला’ मा मल्लकाल वा त्यसभन्दा पहिले चन्द्रमासका आधारमा चैत शुक्ल पूर्णिमाको तिथिमा बिस्का जात्रा मनाइने उल्लेख गर्नुभएको छ । मल्लकालको अभिलेखमा योसिं चैत्र शुक्ल पूर्णिमाको तिथिमा गरिएको प्रमाण उहाँले पेस गर्नुभएको छ । उहाँको अनुसन्धानले बिस्का जात्रा लिच्छविकालमा वा त्यसभन्दा पहिले किरातकालमा समेत मनाइएको हुन सक्ने देखाउनुभएको छ । उहाँले बिस्का जात्राको विक्रम संवत्सँग कुनै सम्बन्ध नभएको पनि स्पष्ट पार्नुभएको छ ।
लेखक डा. सुभासराम प्रजापतिले आफ्नो पुस्तक ‘संस्कृतिभित्र’मा केही ऐतिहासिक तथ्यहरूसहित मल्लकाल या मध्यतिर बिस्का जात्रा चैत्र शुक्ल पूर्णिमाको वरपरबाट सुरु हुने गरेको बताउनुभएको छ । बिस्का जात्रा मनाउने परम्परा विक्रम संवत्को नयाँ वर्षको अवसरमा मनाइन्छ भन्ने भ्रममा पर्न नहुने पनि उहाको भनाइ छ ।
शक संवत् र विक्रम संवत्मा जस्तै नेपाल संवतमा पनि १२ वटा संक्रान्ति हुन्छन् । पछि आएर नेपाल सरकारले विक्रम संवत मात्र प्रयोग गर्यो जसले गर्दा नेपाल संवत्मा संक्रान्ति भन्ने कुनै चिज छैन भन्ने भ्रम सिर्जना भयो । चन्द्र शमशेरले विक्रम संवत् प्रयोगमा नल्याएका बेलासम्म नेपाल संवतकै मात्र प्रयोग हुने गरेको इतिहास छ । यसले नेपाल संवत्लाई तिथि र मिति दुवैको प्रयोजनमा प्रयोग गरिन्छ भन्ने स्पष्ट रूपमा देखाउँछ ।
विक्रम संवत् नेपालको हो भनी दाबी गर्नेहरूले १९औँ शताब्दीमा खस भाषामा लेखिएको भाषा–वंशावलीमा लेखिएका कथाहरूलाई आँखा चिम्लेर विश्वास गरिरहेका छन्, जुन कुनै इतिहास र तथ्यमा आधारित छैनन् । भाषा–वंशावलीमा उल्लेख गरिएका किंवदन्ती र काल्पनिक कथाहरूका आधारमा इतिहासकारहरुले सांखु गुंबाहाल वज्रयोगिनीमा अवस्थित ढलोटको दीपंकर बुद्धको टाउकोलाई सातौँदेखि ११औँ शताब्दीको बुद्धको टाउको भनेका छन् । त्यसैलाई कतिपयले विक्रमादित्यको टाउको भएको दाबी गर्ने गरेका छन् । यस्तै भाषा वंशावलीकै आधारमा तिनीहरूले त्यहाँ घोपट्याइ राखेको बडेमाको कराईलाई पनि विक्रमादित्यको काल्पनिक कथासँग जोडिरहेका छन् । यस्ता कुराहरूको खण्डन गर्दै वज्रयोगिनीका एक पुजारी अमृतानन्द वज्राचार्यले आफ्नो एक लेखमा उक्त कराई पहिले सम्यक् महादानका बेला दाल–तरकारी पकाउन प्रयोग गरिने कराई भएको र दीपंकर बुद्धको मूर्ति सम्यक् वा पञ्चदानका समयमा स्थापित गरिएको बताउनुभएको छ ।
परापूर्व कालदेखि नै विक्रम संवत् नेपालमा चल्दै आएको दाबी गर्नेहरूमध्ये केहीले नेपालको पहिचान नै विक्रम संवत्सँग जोडिएको भन्न पनि पछि परेका छैनन् । नेपालमा विक्रम संवत् कहिलेदेखि प्रयोग गरिन्थ्यो भन्ने तथ्यगत इतिहास केलाउनुको सट्टा भाषा वंशावलीमा लेखिएका किंवदन्तीलाई नै वास्तविक इतिहास मान्ने गरेकाले उनीहरू अलमलमा परेका छन् ।
उनीहरूले यो पनि तर्क गर्छन् कि हामीलाई नेपाल संवत् र विक्रम संवत् दुवैको आवश्यकता छ, किनकि हामीले विक्रम संवत्लाई सौर्य महिना र नेपाल संवत्लाई चन्द्र महिनाका रूपमा प्रयोग गर्दै आएका छौँ ।
उनीहरूले इतिहासबाट सिक्ने प्रयास कहिल्यै गरेनन् । नेपालमा विक्रम संवत् प्रयोगमा आउनुअघि प्रचलनमा रहेका शक संवत् र नेपाल संवत् दुवै पात्रोहरू सौर्य र चन्द्र महिना दुवैका रूपमा प्रयोग गरिन्थ्यो । नेपालमा विक्रम संवत्को नाम उल्लेख हुनुभन्दा पहिले नै विभिन्न संक्रान्ति मनाइँदै आएको हाम्रो इतिहास छ । त्यतिबेला नेपाल संवतलाई नै चन्द्र र सौर्य दुवै पात्रोका रूपमा प्रयोग गरिन्थ्यो ।
इतिहासकार डा. श्यामसुन्दर राजवंशीका अनुसार— लिच्छविकालमा प्रयोग हुने पात्रोलाई धेरै इतिहासकारले शक संवत भन्छन्, वास्तवमा पुरानो नेपाल संवत् वा लिच्छवि संवत हो, शक संवत् होइन । केही इतिहासकारले लिच्छविकालमा शक संवत् र पछि मानदेव संवत्को पनि प्रयोग भएको दाबी गरे पनि उहाँले लिच्छविकालमा नेपालमा शकपूर्व कार्तिकादि लिच्छवि संवत् मात्रै प्रचलनमा रहेको बताउनुभएको छ । उहाँले शक संवत् ८०१ कार्तिक शुक्ल प्रतिपदा अर्थात् लिच्छवि संवत ८०३ कार्तिक शुक्ल प्रतिपदा एवं सन् ८७९ नोभेम्बर ७ तारिखदेखि नेपाल संवत् प्रारम्भ भएको उल्लेख गर्नुभएको छ । विद्वान् किलहर्नले शक ८०१ असारमा मलमास महिना गणना नगरिएकाले नेपाल संवत् २० अक्टोबर ८७९ बाट सुरु भएको बताएका हुन्, जुन गलत हो भनेर उहाँ बताउनुहुन्छ ।
नेपालमा लिच्छविकालको इतिहासको मुख्य स्रोत धनवज्र वज्राचार्यको ‘लिच्छविकालका अभिलेख’ हो । यसबाहेक डा. जगदीशचन्द्र रेग्मीद्वारा लिखित ‘लिच्छवी–इतिहास’ नामक पुस्तकपछि प्रकाशित भएको छ । लिच्छविकालका सबै अभिलेख धनवज्र वज्राचार्यको पुस्तक ‘लिच्छविकालका अभिलेख’मा संकलन गरिएका छन् । उनले यस पुस्तकमा संकलन गरिएका सबै अभिलेखलाई अपवादविना शक संवत्का रूपमा लिएका छन् । व्याख्या र विश्लेषणमा उनले संशोधन मण्डलको विक्रम संवत्लाई शक संवत्को बराबर लेख्ने परम्परालाई स्वीकार गरेका छन् । उनले लिच्छविकालको कुनै पनि अभिलेखमा विक्रम संवत् लेखिएको कुरा भनेका छैनन् ।
डा. जगदीशचन्द्र रेग्मीले आफ्नो पुस्तक ‘लिच्छवि इतिहास’मा सबै वर्षहरूलाई शक संवत्का रूपमा लिएका छन् । उनले आफ्ना सबै पुस्तकमा शक संवत् बराबर ईश्वी संवत मात्र उल्लेख गरेर विक्रम संवत्को उल्लेख कतै नगरी त्यसको अनौचित्यलाई साबित गरेका छन् ।
ईश्वी संवत् १९०३ मा चन्द्रशमशेरको समयदेखि सरकारले हामीलाई विक्रम संवत् प्रयोग गर्न बाध्य पारेको हुनाले मात्रै हाम्रा लागि यो अपरिहार्य संवत्जस्तो बनेको हो भन्ने कुरा हामीले बुझ्नुपर्छ । केही मानिस तर्क गर्छन् कि हामीलाई विक्रम संवत् व्यवहारमा प्रयोग गर्न जति सजिलो छ, नेपाल संवत् प्रयोग गर्न त्यति सजिलो छैन । व्यवहारमा सजिलो र कठिनाइ भन्ने प्रयोगमा निर्भर हुने कुरा हो । मानिसहरूले आफूले जे गरिरहेका छन् ती मात्रै व्यावहारिक हुन् र जुन गर्दैनन् ती सबै अव्यावहारिक हुन् भन्ने सोच्छन् । सरकारले विक्रम संवतलाई जस्तै नेपाल संवत्लाई पनि प्रयोग गर्न बाध्य पार्यो भने सबैले नेपाल संवत्लाई अपरिहार्य र व्यावहारिक पात्रोका रूपमा सजिलै प्रयोग गर्नेछन् भन्ने हामीले हेक्का राख्नुपर्छ ।
नेपालको सबैभन्दा पुरानो लिखित इतिहास मानिने गोपालराज वंशावलीमा रेकर्ड गरिएका ऐतिहासिक घटनाहरूमा विक्रम संवत्को उल्लेख कतै छैन, केवल नेपाल संवत्को उल्लेख छ । काठमाडौँ उपत्यकामा मल्लकालमा विक्रम संवत्को उल्लेख गरिएको पहिलो अभिलेख हो, पाटन लुंहितीको अभिलेख, जहाँ १४६१ विक्रम संवत् उल्लेख छ । जुन अभिलेखमा नेपाल संवत् ५२४ र शक संवत् १३२६ पनि सँगै लेखिएका छन् । मल्लकालमा आकलझुकल विक्रम संवत्को उल्लेख भए पनि जनस्तरमा यो संवत् प्रचलित थियो भन्ने कुनै प्रमाण छैन ।
पछिल्ला शाह शासकहरूले आफ्नो नाममा ‘विक्रम’ शब्द थपेको बाहेक विक्रम संवत्सँगै आएको ‘विक्रम’ शब्दको नेपालसँग कुनै सम्बन्ध नरहेको कुरा इतिहासकार बाबुराम आचार्य बताउनुहुन्छ । उनले विक्रम विशेषणको कुनै अर्थ नभएको र विक्रम संवत्लाई ‘अवैज्ञानिक’ र विक्रमादित्यलाई अस्तित्वमा नदेखिएको केवल एक दन्त्यकथाको पात्र भएको उल्लेख गरेका छन् । विक्रम संवत्को दन्त्यकथा भारतबाट नेपाल आइपुगेको कुरा उहाँले यसरी बताउनुभएको छ :
हाम्रो राष्ट्रिय संवत्मा विशेषण जोडिएको विक्रम शब्द सार्थक देखिन्न । यो संवत् उज्जयिनीका राजा विक्रमादित्यले चलाएका हुन् भन्ने दन्त्यकथा १२०० वर्ष पहिलेदेखि भारतमा चल्दै आएको छ र यस देशमा पनि त्यो दन्त्यकथा आइपुगेको छ । जुन समय (इसापर्व ५८ वर्ष) मा यो संवत् उठान भएको थियो, यस समयमा अवन्ति देशको राजधानी उज्जयिनीमा राजा विक्रमादित्यको अस्तित्व देखिँदैन । वास्तवमा यस संवत्को उठान राजपुतानामा आवाद भएका मालवगणले गरेका हुन् भन्ने कुरा त्यहाँ पाइएका शिलालेखबाट प्रमाणित भइसकेको छ (श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, पहिलो भाग, विसं २०२४, पेज ३–४) ।
भारतमा उत्पन्न भएको र भारत सरकारले समेत आफ्ना सरकारी कार्यहरूमा प्रयोग गर्न छाडेको विक्रम संवत् नेपालको पहिचानसँग सम्बन्धित रहेको तर्क गर्ने दीर्घराज प्रसाईंजस्ता थुप्रै विक्रम संवत्का भक्तहरू पनि नेपालमा छन् । तर कुनै पनि देशभक्त नेपाली यस्ता मनगढन्ते कुराको पछाडि लाग्नु उचित होइन । देशभक्त नेपालीका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको नेपाल देशकै नामसँग जोडिएको नेपालको मौलिक पहिचान बोकेको नेपाल संवत्को सर्वत्र प्रयोग नै आजको आवश्यकता हो ।
तस्बिर स्रोत : Archieve Nepal-Discover Nepal through its History/ source : The British Museum
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालिगण्डकी डाइभर्सनबारे सर्वोच्च अदालतले के भन्यो ? (पूर्णपाठ)
-
विवाह बन्धनमा बाँधिँदै पूर्वमिस नेपाल अश्मी
-
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवको अपिल
-
संवैधानिक नियुक्ति बहसले १६ मुद्दा हेर्न भ्याइएन, आइतबार पनि तोकियो पूर्ण इजलास
-
आकाश भैरवको १२ वर्षे जात्रा धूमधामसँग मनाइँदै, तस्बिरहरू
-
प्राविधिक प्रहरी हवल्दारहरूको बढुवा तथा पदस्थापन (सूचीसहित)