बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय
राजनीति

वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने

सोमबार, ०१ वैशाख २०८२, ११ : ४३
सोमबार, ०१ वैशाख २०८२

काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले लोकतन्त्र दिवसका दिन वैशाख ११ गते एक लाख युवालाई काठमाडौँमा उतारेर शक्ति प्रदर्शन गर्ने भएको छ । 

नेकपा एमाले युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेवेका अनुसार देशभरका कम्तीमा एक लाख युवाहरू वैशाख ११ गते काठमाडौँमा भेला हुनेछन् । 

‘लोकतन्त्रको ‘सेलेब्रेसन’ गर्ने हो । त्यसमा देशभरका एक लाख युवाहरू सहभागी हुन्छन्’, थेवेले भने, ‘कार्यक्रममा युवाहरूलाई सम्मान गर्ने र स्पेस दिने काम हुन्छ ।’

काठमाडौँको भृकुटीमण्डप वा टुँडिखेलमध्ये कुनै एक ठाउँमा कार्यक्रम गरिने थेवेले जनाए । युवासंघका उपाध्यक्ष कृष्णहरि केसीले युथ समिटमा युवाका एजेन्डाका बारेमा छलफल हुने बताए । ‘युवाहरूका एजेन्डा,समस्या र सम्बोधनका बारेमा छलफल हुन्छ’, केसीको भनाइ छ । 

युवा उत्सवका नाममा एमालेले युवाहरूलाई काठमाडौँमा बोलाएर शक्ति प्रदर्शन गर्न लागेको हो । 

‘म देशभरबाट युवाहरूलाई वैशाख ११ गते काठमाडौँमा हुने युवा महोत्सवमा सरिक हुन आह्वान गर्दछु,’, एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री आलीले शुक्रबार बुटवलमा भनेका थिए, ‘त्यस युवा सम्मेलनबाट प्रतिक्रियावादी र अराजकतावादीले आफ्नै आँखाले देखुन्, आफ्नै कानले सुनुन्, युवा शक्ति के हो र एमाले शक्ति कस्तो हो भन्ने ।’ 

युवाहरूको महोत्सव कुनै विचार गोष्ठी र सम्मेलन नभएर ‘सम्मिलन’ भएको पनि ओलीको भनाइ छ । 

२०६२÷०६३ को जनआन्दोलनपछि वैशाख ११ गतेका दिन तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भएकाले लोकतन्त्र दिवसका रूपमा मनाउने गरिँदै आएको छ । 

सात राजनीतिक दल र तत्कालीन विद्रोही नेकपा माओवादीसमेतको सहभागितामा २०६२–६३ को ऐतिहासिक जनआन्दोलन उत्कर्षमा पुगेपछि जनताको शक्तिका सामु वैशाख ११ गतेका दिन निरङ्कुश राजतन्त्रले घुँडा टेकेको थियो । 

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित प्रतिनिधिसभाको पुनः स्थापना गर्दै राजनीतिक दलले कोरेको मार्ग चित्रअनुसार अगाडि बढ्ने घोषणा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप