बुधबार, १० वैशाख २०८२
ताजा लोकप्रिय
कविता

नयाँ वर्ष

सोमबार, ०१ वैशाख २०८२, १० : ५२
सोमबार, ०१ वैशाख २०८२

नयाँ वर्षको पहिलो बिहान
धर्तीमा घामका किरण भेट्नुभन्दा पहिले
मैले भेटेँ— ललनप्रसाद
मेरो मर्निङवाकको साथीलाई ।

कुनै दिन 
म उठ्न ढिलो भएँ भने
ऊ पहिले मिसकल गथ्र्यो
अनि कल नै गथ्र्यो
र, अझै चालचुल सुनेन भने
ढोकामा ढ्वाङ्ढाङ पार्न आउँथ्यो
म कुनै बहाना नभेटेर
मेरा सबै बहाना निस्प्रभावी भएपछि 
बाहिर निस्किन्थेँ
हिँडेर अलिक पर पुगेपछि
आलस्यलाई केन्द्रमा राखेर ऊ जोक गथ्र्यो
जोकले धित् नमरेपछि 
र, नजिक सुन्ने कोही छैन भन्ने भएपछि
के के बोल्थ्यो, बोल्थ्यो
नानाभाँती बोल्थ्यो ।

ललनप्रसाद 
मेरो मर्निङवाकको साथी
पोहोर मंसिरपछि हिँड्न छाड्यो
पहिले म अल्छी थिएँ
अब ऊ अल्छी हुन थाल्यो
अनि म उसलाई मिसकल गर्न थालेँ
ढोका ढकढक्याउन थालेँ
उसले 
कहिले ‘जाडो बढ्यो’ भन्यो
कहिले ‘ठण्डी लाग्यो’ भन्यो
कहिले ‘बुढो भइयो’ भन्यो
कहिले ‘हिँडेर के हुन्छ र !’ भन्यो
उसका बहानासँग हार मानेर
अन्त्यमा म एक्लै हिँड्न थालेँ ।

आज नयाँ वर्षको पहिलो घाम देख्नुभन्दा पहिले
हाम्रो मर्निङवाकको रुटमा
तमाम निराशा र अविश्वासलाई टेकेर 
मेरो पहिलेदेखिको साथी
ललनप्रसाद आइपुगेको छ
ऊ के आएको छ
जीवनतिर फर्किएको छ ।

नयाँ वर्षले सबैमा 
ललनप्रसादको जत्तिकै जोस–जाँगर 
फर्काइदिए पुग्छ
ललनप्रसादको जत्तिकै
उमङ्ग र विश्वास जगाइदिए हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ईश्वर पोखरेल
ईश्वर पोखरेल
लेखकबाट थप