राष्ट्रिय खेलकुद खेलाडीका लागि कि पदाधिकारीका लागि ?

प्रतिभाशाली खेलाडी उत्पादनको दृष्टिकोणले राष्ट्रिय खेलकुदको निकै ठुलो महत्त्व हुन्छ । देशको सबैभन्दा बृहत् प्रतियोगिता भनेकै राष्ट्रिय खेलकुद हो । म आफै पनि राष्ट्रिय खेलकुद प्रतियोगिताबाटै उदाएको खेलाडी हुँ । चौथो राष्ट्रिय खेलकुदमा स्वर्ण जितेपछि नै मेरो खेलजीवन अगाडि बढेको थियो ।
तर पछिल्लो समय यति ठुलो महत्त्व बोकेको राष्ट्रिय खेलकुदको अवस्था निराशाजनक छ । अहिले आएर फेरि राष्ट्रिय खेलकुदको स्थगित गरिएको छ । खेलाडीहरू पनि निर्धारित समयमै १०औँ राष्ट्रिय खेलकुद आयोजना हुन्छ भन्नेमा आश्वस्त थिएनन् ।
कतिपय सिनियर खेलाडीहरू अन्तिम पटक राष्ट्रिय प्रतियोगिता खेल्छु भन्ने आशा पालेर बसेका छन् । यसरी पटक–पटक मिति सारिँदा उनीहरूको आशामाथि तुषारापात हुने सम्भावना बढेको छ ।
सबैभन्दा ठुलो कुरा मौसमको हो । जेठमा प्रतियोगिता आयोजना गर्ने भनिएको थियो । आम खेलाडीका लागि त्यो विल्कुलै उपयुक्त समय थिएन । प्रतियोगिताको मिति घोषणा गर्नुअघि नै यस विषयमा हाम्रा खेल पदाधिकारीहरूले सोच्नु पर्थ्यो ।
नेपाली खेलकुदमा अफ–सिजन पनि हुन्छ भन्ने कुरा जिम्मेवार अधिकारीहरूले बुझ्नु आवश्यक छ । खासगरी जेठदेखि साउनसम्म नेपाली खेलकुदका लागि अफ–सिजन हो । यो समयमा ठुला खेलकुद प्रतियोगिता आयोजना गर्नु उपयुक्त मानिँदैन ।
जेठमा अत्यधिक गर्मी हुन्छ । त्यसमाथि कर्णाली प्रदेशको सुर्खेत आफैमा निकै गर्मी हुने ठाउँ हो । चर्को गर्मीमा खेलाडीहरूले स्वाभाविक प्रदर्शन गर्न सक्दैनन् । खेलाडीहरूले नै राम्रो प्रदर्शन गर्न सक्दैनन् भने त्यो प्रतियोगिताको कुनै अर्थ हुँदैन ।
त्यसमाथि पूर्वाधारको अभावमा हाम्रा खेलाडीले इन्डोर गेम पनि बाहिर खेल्नुपर्ने अवस्था छ । त्यसैले प्रतियोगिताको मिति घोषणा गर्नुअघि विज्ञहरूसँग छलफल गर्नुपर्छ । यसरी पटक–पटक मिति परिवर्तन गर्दा खेलाडीमा निराशा छाउँछ ।
युवा तथा खेलकुद मन्त्रीज्यूको पछिल्ला अभिव्यक्तिहरू सुन्दा उहाँ आफै पनि पूर्ण रूपमा आश्वस्त हुनुहुन्छ जस्तो देखिएको थिएन । त्यसैले तेस्रोपटक घोषणा गरिएको मितिमा पनि १०औँ राष्ट्रिय खेलकुद आयोजना हुनेमा खेलाडीहरू नै आश्वस्त हुन सकिरहेका थिएनन् ।
खेलाडीलाई प्रतियोगिता नहुँदा भएन भन्ने निराशा छ । तर प्रतिकूल समयमा प्रतियोगिता आयोजना गर्दा पनि त्यसको असर खेलाडीलाई नै पर्छ । ‘नखाऊँ भने दिनभरिको सिकार, खाऊँ भने कान्छा बाको अनुहार’ भन्ने उखान हाम्रा खेलाडीहरूको अवस्थासँग ठ्याक्कै मेल खान्छ ।
अहिलेसम्म १०औँ राष्ट्रिय खेलकुदको छनोट प्रतियोगितासमेत हुन सकेको छैन । भर्खरै मात्र बागमती प्रदेशले वैशाखको पहिलो साता छनोट प्रतियोगिता गर्ने जानकारी सार्वजनिक गरेको छ । अरू प्रदेशले त यतिसम्म पनि भनेका छैनन् ।
यस्तो स्थितिमा जेठमा प्रतियोगिता सम्भव नै थिएन । यति हुँदा पनि हाम्रा खेल पदाधिकारीले अन्तिम समयसम्म प्रतियोगिता जेठमै सम्पन्न हुन्छ भनेर किन दाबी गरिरहे भन्ने कुरा रहस्यमयी छ । अहिले राष्ट्रिय खेलकुद फेरि स्थगित गर्नुपर्ने स्थिति सिर्जना भयो । दूरगामी सोचको अभाव देखियो ।
बृहत् राष्ट्रिय खेलकुदका लागि कम्तीमा तीन महिनाअघि नै छनोट प्रतियोगिता सम्पन्न भइसक्नुपर्छ । यस्तो स्थितिमा छनोट भएका खेलाडीहरूले पनि डेढदेखि दुई महिनासम्म बन्द प्रशिक्षणको अवसर पाउँछन् । जेठमा हुने राष्ट्रिय खेलकुदका लागि वैशाखमा छनोट प्रतियोगिता आयोजना गर्दा छनोट हुने खेलाडीले बन्द प्रशिक्षण र तयारी कहिले गर्ने भनेर खेल पदाधिकारीले पहिले नै सोच्नुपर्थ्यो ।
युवा तथा खेलकुद मन्त्रीज्यूको पछिल्ला अभिव्यक्तिहरू सुन्दा उहाँ आफै पनि पूर्ण रूपमा आश्वस्त हुनुहुन्छ जस्तो देखिएको थिएन । त्यसैले तेस्रोपटक घोषणा गरिएको मितिमा पनि १०औँ राष्ट्रिय खेलकुद आयोजना हुनेमा खेलाडीहरू नै आश्वस्त हुन सकिरहेका थिएनन् ।
फेरि बृहत् राष्ट्रिय खेलकुद किन आयोजना गर्ने प्रश्न पनि आफ्नै ठाउँमा छ । राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने हो । तर, तत्काल कुनै पनि ठुला अन्तर्राष्ट्रिय प्रतियोगिता परेका छैनन् ।
दक्षिण एसियाली खेलकुद (साग) पनि अन्योलमै छ । एसियाली खेलकुद र ओलम्पिक खेलकुदका लागि निकै समय बाँकी छ । यस्तो स्थितिमा १०औँ राष्ट्रिय खेलकुदमा अब्बल प्रदर्शन गर्ने खेलाडीले कुन अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी गर्ने ? प्रश्न अनुत्तरित छ ।
त्यसैले राष्ट्रिय खेलकुद आयोजना गर्दा सम्बन्धित अधिकारीहरूले देशको परिस्थिति, मौसम, अन्तर्राष्ट्रिय खेल क्यालेन्डर, पूर्वाधारको अवस्थाजस्ता धेरै कुरामा ध्यान पुर्याउनुपर्ने हुन्छ । तर, हाम्रो देशमा राष्ट्रिय खेलकुदजस्तो महत्त्वपूर्ण प्रतियोगिता पनि हचुवाको भरमा आयोजना गरिन्छ । यो दुर्भाग्य हो ।
यसअघि १०औँ राष्ट्रिय खेलकुद मंसिरमा आयोजना गर्ने भनिएको थियो । त्यो निकै उपयुक्त समय थियो । तर निर्धारित समयमा प्रतियोगिता आयोजना हुन सकेन । यसका पछाडि धेरै कारण होलान् । हाम्रो देशमा हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप सबैभन्दा ठुलो अभिसाप हो ।
तल्लोदेखि माथिल्लो तहसम्म आफूअनुकूल नेतृत्व भए प्रतियोगिता आयोजना गर्ने । नभए मिति सारिरहने प्रवृत्ति गलत हो । म खेलाडी संघको अध्यक्ष पनि हुँ । अहिले अधिकांश खेलाडीले प्रश्न गरिरहेका छन्–१०औँ राष्ट्रिय खेलकुद हामी खेलाडीका लागि आयोजना गर्न लागिएको हो कि खेल पदाधिकारीका लागि ?’
खेलाडीहरू आफैले यति गम्भीर प्रश्न उठाइरहँदा पनि हामी चित्तबुझ्दो जवाफ दिन सक्ने अवस्थामा छैनौँ । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले जेठमा १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय गर्दा त्यो बैठकमा म पनि आमन्त्रित सदस्यका रूपमा उपस्थित थिएँ ।
मैले बैठकमा खेलाडीका लागि जेठ महिना उपयुक्त हुँदैन, चर्को गर्मीमा राम्रा खेलाडीले पनि स्वाभाविक प्रदर्शन गर्न सक्दैनन् भनेर सुझाव दिएको थिएँ । खेलाडीहरूकै भावनाको प्रतिनिधित्व गरेर बोर्ड बैठकमा मैले सुझाव दिएको हुँ । अहिले आएर त्यो सत्य साबित भएको छ ।
तर, अब छिट्टै १०औँ राष्ट्रिय खेलकुदको उपयुक्त मिति सार्वजनिक गर्नुपर्छ । छनोट प्रतियोगिता र बन्द प्रशिक्षणका लागि आवश्यक समय पनि खेलाडीलाई दिनुपर्छ । लामो समय प्रतियोगितालाई अन्योलमा राख्दा खेलाडीमा निराशा छाउँछ र खेलाडी पलायनको खतरा पनि बढ्छ ।
श्रेष्ठ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपालका अध्यक्ष हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो पेट्रोल र डिजेलको मूल्य
-
पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरमा कति ?
-
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
-
जलविद्युतको बीमालाई डिट्यारिफ गर्ने सहमति कार्यान्वयन गर्न बीमा प्राधिकरणसँग इप्पानको माग
-
प्रधान सेनापतिद्वारा दुई पृतनाको निरीक्षण भ्रमण
-
१२ सयबाट ३२ सय विद्यार्थी पुर्याएर बिदा भए अध्यक्ष दंगाल