मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय
न्यायालय

उच्च अदालतको व्याख्या : प्रेममा सहमतिको सम्बन्ध जबरजस्ती करणी होइन

सोमबार, ०१ वैशाख २०८२, ०९ : ००
सोमबार, ०१ वैशाख २०८२

काठमाडौँ । मुलुकी अपराध संहिता २०७४ ले नाबालिग उमेर १८ वर्षसम्म कायम गरेको छ । संहिताको दफा २१९ (२) ले कुनै महिलाको मञ्जुरी नलिई करणी गरेमा बलात्कार मानिने व्याख्या गरिएको छ । 

सोही उपदफामा किशोरी नाबालिग भएमा भने सहमतिकै सम्बन्ध पनि बलात्कार हुने व्याख्यासहित भनिएको छ, ‘...वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिनेछ ।’

उपदफा ३ (घ)ले त्यसरी नाबालिगसँग सहमतिमै सम्बन्ध राखे पनि जबरजस्ती करणी हुने र करणी गर्ने व्यक्तिलाई १० देखि १२ वर्षसम्म कैद हुने व्यवस्था गरेको छ । 

उक्त कानुनी व्यवस्थाका कारण आपसी प्रेम, अन्तरजातीय विवाह र परिवारको सहमतिविना भएका विवाहका कारण कतिपय व्यक्तिहरूले मुद्दा खेप्नुपरेको छ । 

तर कानुनको उक्त व्यवस्थाको प्रतिकूल उच्च अदालत विराटनगर, इलाम इजलासले प्रेम सम्बन्धमा रहेका प्रेमिल जोडीले आपसी सहमतिमा गरेको करणीलाई जर्बजस्ती मान्न नमिल्ने व्याख्या गरेको हो । 

१७ वर्षकी साइँली (परिवर्तित नाम), सांकेतिक नाम ‘र–३–०–०७८–०७९’ ले पाँचथर घर भई झापामा बस्ने २१ वर्षीय गोपाल अधिकारीविरुद्ध दिएको जबरजस्तीकरणी मुद्दामा उच्चले सफाइ दिँदै सधैँ पीडितको उमेरलाई हेरेर मात्रै पीडितलाई प्रलोभनमा पारी करणी गरेको हुन नसक्ने र त्यस्तोलाई जबरजस्ती भन्न नमिल्ने व्याख्या गरेको हो । न्यायाधीश किरणकुमार पोखरेल र रेखा थापा पाण्डेको इजलासले गरेको फैसलाको हालै सार्वजनिक पूर्णपाठमा भनिएको छ, ‘प्रेम सम्बन्ध रहेको दुई प्रेमिल जोडीले आपसमा सहमतिद्वारा करणी गर्छन् भने त्यसलाई जबरजस्ती मान्न मिल्दैन ।’

पीडितको उमेर १७ वर्ष र प्रतिवादीको उमेर २१ वर्षको रहेको देखिए पनि दुईबिच प्रेम सम्बन्ध रहेको तथ्य देखिएकाले यसरी प्रेमिल जोडीले आपसमा सहमतिद्वारा करणी गरेको देखिएको पूर्णपाठमा उल्लेख छ ।

‘न्याय सम्पादनको क्रममा पीडितको उमेरलाई सूक्ष्मताका साथ हेरिनुपर्छ । सोका बाबजुद सदैव पीडितको उमेरलाई हेरेर नै पीडितलाई प्रलोभनमा पारी प्रतिवादीले जबरजस्ती करणी गरेको निर्क्योल गर्न न्यायोचित हुँदैन अर्थात् प्रस्तुत मुद्दामा पीडितको उमेर १७ वर्ष भए पनि प्रतिवादीले पीडितलाई अनुचित प्रभावमा पारी जबरजस्ती करणी गरेको देखिएन,’ पूर्णपाठमा भनिएको छ, ‘निजहरू बिचको प्रेम सम्बन्धका आधारमा आपसी सहमतिमा करणी लिनदिन गरेको कार्यलाई पीडितको उमेरलाई मात्र आधार मानी निजहरू प्रेम सम्बन्धमा रही आपसी सहमतिमा करणी लिनुदिनु गरेको कार्यलाई अपराधीकरण गर्न न्यायको रोहमा मुनासिब नदेखिँदा प्रतिवादीलाई अभियोग दाबी बमोजिमको कसुर ठहर गरी सजाय गरेको सुरु फैसला कानुनसम्मत देखिएन ।’

उच्चले उमेर नपुगी प्रेममा हुँदा सहमतिमा भएको शारीरिक सम्बन्धलाई करणी नमान्ने फैसला गरे पनि यो कानुन बन्ने गरी नजिर भने बन्दैन । सामान्यतया उच्च अदालतको फैसला बाध्यकारी नजिर बन्ने कानुनी व्यवस्था छैन । उच्चको फैसला बाध्यकारी नहुने भए पनि अन्य समान प्रकृतिका मुद्दाहरूमा यो मार्गदर्शन दिने आधार भने बन्न सक्नेछ ।

यद्यपि, समान प्रकृतिको मुद्दामा सर्वोच्चले पनि यसअघि उमेर नपुगी शारीरिक सम्बन्ध राखेका घटनालाई बलात्कार भन्न नमिल्ने व्याख्या भने गरिसकेको छ । सप्तरीका सन्तोषकुमार यादवले १५ वर्षकी किशोरीसँग विवाह गरेपछि केटीको परिवारले दिएको अपहरण र बलात्कारको मुद्दा जिल्ला र उच्च हुँदै सर्वोच्च पुगेको थियो । उक्त मुद्दामा २०७९ मा सर्वोच्चका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको संयुक्त इजलासले न्यायको रोहमा विवाह र मुलुकी अपराध संहितालाई हेर्नुपर्ने व्याख्या गर्दै प्रेम सम्बन्धपछि सहमतिमा भएको विवाह परिवारका बिचमा कुरा नमिल्दैमा बलात्कार र अपराध भन्न नमिल्ने व्याख्या गरेको थियो ।

  • के हो झापाको घटना ?

साइँली १२ वर्षको उमेरदेखि झापामा फुपू (माइली)को घरमा बस्दै आएकी थिइन् । फुपूले नै उनलाई लालनपालन र पढाउने काम गरिरहेका थिए । त्यसैक्रममा २०७९ वैशाख २२ गते बुधबार कसैलाई जानकारी नदिई घर छाडेर हिँडिन् । भदैनी हराएपछि फोन सम्पर्क पनि नहुँदा माइलीले स्थानीय बुधबारे प्रहरी कार्यालयमा निवेदन दिइन् । वैशाख २३ गते साइँलीको फोन सम्पर्क भयो । उनले आफू बिर्तामोड भएको बताइन् । माइलीले आफूले प्रहरीमा निवेदन दिएको बताउँदै तत्काल घर आउन भनिन् । बिहान १०ः३० बजे उनी प्रेमी गोपालसहित प्रहरी कार्यालय आइपुगिन् ।

गोपाल झापाको बुधबारेमा बसेर कक्षा ११–१२ मा पढिरहेका थिए । त्यसैक्रममा उनी टायम लेस होटलमा काम पनि गर्दै आएका थिए । कक्षा ११ पढ्दादेखि नै साइँलीसँग उनको चिनजान भएको थियो । उनले बयानमा भनेका छन्, ‘कक्षा ११ पढ्दादेखि नै उनीसँग चिनजान थियो । हामी म्यासेन्जरमा बोल्थ्यौँ, कहिलेकाहीँ भेटघाट पनि हुन्थ्यो । उनले मलाई तपाईँलाई माया गर्छु भन्थिन्, मैले पनि असाध्यै माया गर्थेँ ।’

तालुको कपाल झरेकाले कपाल उम्रने सुइ लगाएर २०७९ वैशाख २० गते बुधबारेस्थित सानिमाको घर गएका थिए । त्यस दिन साइँलीको फोन आयो । उनले भाउजूलाई दमकसम्म पुर्‍याउन जाऊँ भनेपछि गोपालले भेट्न बोलाए ।

बुधबारेस्थित एउटा पुलमा उभिएर उनीहरूले कुराकानी गरे । साँझ परेपछि आफूले घर जान भनेको तर फुपूले गाली गर्ने भन्दै साइँली जान नमाने गोपालले प्रहरीसामु बयान दिएका थिए । घर पुगाउन खोज्दा पनि नमानेपछि आफूले बिर्तामोड जाऊँ त्यहीँबाट तिमीलाई पहाड घर पठाइदिन्छु भनेको गोपालले बताएका छन् ।

त्यस रात उनीहरू दुवै एवान होटलमा बसे । गोपालले बयानमा भनेका छन्, ‘कोठाभित्रसँगै बसी कुराकानी गर्दागर्दै मलाई यौन उत्तेजना भयो र मैले साइँलीलाई पनि यौन उत्तेजनामा ल्याइ एकपटक करणी गरेको हुँ ।’

साइँली फुपूको घर फर्किन नचाहेको भए पनि अर्को दिन फुपूले प्रहरीमा उजुरी दिएको थाहा पाएपछि आफूले नै प्रहरी कार्यालय पुगाइदिएको उनले बताएका छन् ।

रातभर हराएकी साइँलीलाई फुपू माइलीले हिजोदेखि कहाँ थिइस् भनेर सोधीखोजी गरिन् । सोधीखोजीको क्रममा गोपाल र साइँली रातभर एक होटलमा सँगै बसेको थाहा भयो ।

त्यसपछि साइँलीलाई गोपालले विवाह गर्छु भनेर ललाइफकाइ घुमाउन लगेको र साँझ ६ बजे झापा, बिर्तामोडमा रहेको ए वन होटल एण्ड लजमा लगी सो रात पटक–पटक करणी गरेको भन्दै परिवारले उजुरी गर्न लगायो । उनले उजुरी दिइन् । उजुरीपश्चात् सोही रात होटलमा काम गर्ने क्रममा प्रहरीले गोपाललाई पक्राउ गर्‍यो ।

उक्त घटनामा जिल्ला अदालत झापाले २०८० माघ ९ गते गोपाललाई १० वर्ष कैदसहित चार लाख जरिवाना र एक लाख क्षतिपूर्तिको आदेश गरेको थियो । जिल्लाले उक्त आदेश गर्दा विवाह गर्ने प्रलोभन देखाइ ललाइफकाइ करणी गरेको र पीडितको उमेर १७ वर्ष भएकाले अपराध संहिता २०७४ को दफा २१९ (१) र (२) बमोजिम कसुर गरेको ठहर गरेको थियो ।

उक्त आदेशविरुद्ध २०८१ जेठ ३ गते उच्चमा पुनरावेदन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

काशीराम बजगाई
काशीराम बजगाई
लेखकबाट थप