मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय
अदालत

निलम्बित न्यायाधीश भुवन गिरीले पाए सफाइ

आइतबार, ३१ चैत २०८१, २० : २६
आइतबार, ३१ चैत २०८१

काठमाडौँ । उच्च अदालत पाटनले न्यायाधीश भुवन गिरीलाई पूर्वपत्नी आरती रावल गिरीले दायर गरेको बलात्कार मुद्दामा सफाइ दिएको छ ।

आइतबार न्यायाधीश लालबहादुर कुँवर र डिल्लिरत्न श्रेष्ठको संयुक्त इजलासले उनलाई सफाइ दिएको हो । जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले न्यायाधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए । त्यसपछि सर्वोच्च अदालतले २०८० चैत २१ गते गिरीलाई थुनामा पठाउने आदेश गरेको थियो ।

जिल्ला अदालतले गिरीलाई तारेखमा छाड्ने आदेश गरेकामा उच्च अदालतले समेत जिल्ला अदालतकै आदेश सदर गरेको थियो ।  त्यसपछि गिरीकी पूर्वपत्नी रावल सर्वोच्च अदालतमा अनसन बसेकी थिइन् । बहस चलिरहँदा इजलासमै विषसमेत समेत गरेपछि सर्वोच्चले गिरीलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको थियो ।

उक्त मुद्दामा जिल्ला अदालत काठमाडौँले २०८१ जेठमा दोषी ठहर गर्दै थुनामा पठाउन आदेश गरेको थियो । जिल्लाले गिरीलाई सात वर्ष कैद र तीन लाख जरिवानाको सजाय सुनाएको थियो ।

जिल्लाको उक्त आदेशविरुद्ध गिरीले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए भने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले पनि सजाय कम भएको भन्दै रिट निवेदन दिएको थियो ।

पुनरावेदन रिटमाथि आइतबार भएको सुनुवाइपछि जिल्लाको आदेश उल्टी गर्दै गिरीलाई सफाइ दिइएको उच्चकी सूचना अधिकारी पार्वती हितानले रातोपाटीलाई बताइन् । सम्बन्ध विच्छेदपछि पनि पूर्वश्रीमतीलाई सहमतिविना शारीरिक सम्बन्ध राखेको भन्दै उनीविरुद्ध मुद्दा दायर भएको थियो ।

जिल्लाले फौजदारी अभियोगमा दोषी ठहर गरेपछि उनले न्यायाधीश पद गुमाइसकेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

काशीराम बजगाई
काशीराम बजगाई
लेखकबाट थप