मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

मौसमको चुनौती उछिन्दै गोकर्णेश्वरमा गुञ्जियो नेपथ्य

आइतबार, ३१ चैत २०८१, २० : १५
आइतबार, ३१ चैत २०८१

काठमाडौँ । पश्चिमी भेगमा सुरु भएको वर्षालाई हावाहुरीले बगाउँदै ल्याइदिएपछि शनिबार सबेरैदेखि एकाएक काठमाडौं उपत्यका अँध्यारो बन्न पुग्यो।

त्यसपछिको लगातार झरीले खुला आकाशमुनि तयार पारिएको नेपथ्यको मञ्च र त्यहाँभित्रका विद्युतीय संयन्त्रलाई जोगाउने चुनौती थपियो । अब साँझको कन्सर्ट के होला ? चिन्ता र चासोकै बिच बेलुकीको ओभानोमा गोकर्णेश्वर कन्सर्ट निर्धारित समयमै सुरु भएर भव्य रुपमा सम्पन्न भयो ।

अस्ट्रेलियाको एक महिना लामो यात्रा सकेर हालै फर्केको नेपथ्य यसरी मौसमी प्रतिकूलताबिच पनि स्वदेशका दर्शकमाझ उत्तिकै बलियो उपस्थिति दर्शाउन सफल भयो । 

अनलाइन र स्थानीय टिकट बुथबाट अग्रिम टिकट काटेका दर्शकको उपस्थितीलाई मध्यनजर गर्दै शनिबारको कन्सर्ट सुरु हुनुभन्दा दुई घन्टा अगावै अर्थात् बेलुकी साँढे चार बजे प्रवेशद्वारहरू खुला गरिएका थिए । त्यसपछि नेपथ्यको परम्परालाई निरन्तरता दिंदै निर्धारित समयमै अर्थात् घडीले ठीक साँढे छ बजाउने बित्तिकै कन्सर्ट सुरु भएको थियो । 

ब्यान्ड मञ्चमा उभिनासाथ ‘कोशीको पानी’बाट सुरु भएको गीतहरूको क्रम त्यसपछि लगातार मध्यम र धिमा गतिका लोकरक सिर्जनाहरूबाट अघि बढ्दै गयो । ‘नेपथ्य मेरो सिँगै पुस्ताको प्रतिनिधित्व गर्ने ब्यान्ड हो,’ दर्शकमध्ये चर्चित उपन्यासकार सुबिन भट्टराइको प्रतिक्रिया थियो, ‘यसका गीतहरू सुनिरहँदा म आफ्नो युवा र किशोर कालमा पुगेको महसुस गर्छु । नेपथ्यबारे लेखिएको पुस्तक पढिसकेर पनि होला कन्सर्टले तानेको ।’ 

ब्यान्डको बाह्रौं प्रस्तुति ‘गाउँ गाउँबाट उठ’ देखि भने कार्यक्रम तीव्र गतिका गीतहरूमा प्रवेश गर्‍यो । 

‘यसरी हजारौं दर्शक, स्रोताबिच उभिएर नाँच्दै, चिच्याउँदै कन्सर्टको मज्जा लिँदा बेग्लै रमाइलो हुँदोरहेछ,’ यसअघि बन्द कोठाभित्र बजेका नेपथ्य गीतहरू मात्र सुनेको अनुभव बोकेका र पहिलोपटक सपरिवार कन्सर्टमा उपस्थित भएका उपन्यासकार भट्टराइको भनाइ थियो, ‘नभएको उर्जा पनि आफूमा सञ्चार भएको महसुस गरेँ ।’ 

उता इलामका इन्जिनियर सन्तोष श्रेष्ठ भने तन्नेरी वयमा साथीहरूसँग बसेर क्यासेट प्लेयर बजाउँदै नेपथ्यको गीत सुनेको क्षण सम्झना गर्दैथिए । ‘नेपथ्यका गीतमा सँगै बसेर रमाउने ती साथीहरू अहिले कता गए थाहा छैन,’ सन्तोष थपिरहेका थिए, ‘तर, कन्सर्ट हेरिरहँदा भने एकैछिन भए पनि त्यो समय फर्केर आएको महसुस हुँदो रहेछ ।’ 

कन्सर्ट हेर्नकै लागि उपत्यकाको उत्तरपूर्वी कुनासम्म पुगेका दर्शकहरूको भिडमा विदेशी अनुहार पनि उत्तिकै देखिन्थे । तिनैमध्ये एक वैवाहिक समारोहमा सरिक हुन इस्टोनियाबाट आएकी मारिया इभानोभो पनि थिइन् । ‘मलाई मौलिक पहिचान बोकेका संगीतहरूमा असाध्यै रुचि छ,’ उनले भनिन्, ‘त्यसबाहेक यो कन्सर्टमा गाइएका गीतहरू भित्रि मनैबाट निस्केका आवाज जस्तो लागिरहेको छ ।’ 

अस्ट्रेलियाबाट अध्ययनका लागि आएका जेम्स स्मिथ भने साथीहरूले यो कन्सर्टबारे उल्लेख गरेपछि हेर्नआएको सुनाइरहेका थिए । 

nepaththya

कन्सर्टमा मुख्य गायक अमृत गुरुङले सधैँजस्तै नेपालको सुन्दरताको बयान गर्दै स्वदेशको भ्रमण गर्न दर्शकहरूलाई प्रोत्साहित गरेका थिए। त्यस क्रममा उनले आफ्ना गीतहरू यात्राकै क्रममा संकलन गरिएको जानकारी पनि दिएका थिए । 

‘बिहानैदेखि झरीले गर्दा यत्रो ठुलो आयोजना अब के होला भनेर एकछिन आत्तिएका थियौं,’ स्थानीय आयोजक संस्था ग्राउण्ड अफ इभेन्ट्सका श्याम श्रेष्ठ भन्छन्, ‘तर, नेपथ्यसँगको हाम्रो पहिलो सहकार्य चिताएको भन्दा पनि भव्य प्रस्तुति र उपस्थितिका साथ सम्पन्न भएको छ ।’ 

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्ड दिनेशराज रेग्मीले सघाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप