संविधानमा चित्त नबुझेको कुरा विधि प्रकिया पूरा गरेर संशोधन गर्न सकिन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सार्वभौम संविधानसभाले बनाएको संविधानको खिलापमा गएर केही पनि प्राप्त नहुने भन्दै सबैले संविधानको परिधिभित्र बस्नुपर्ने बताएका छन् ।
काभ्रेको नमोबुद्द नगरपालिका वडा नम्बर १ मा स्वास्थ्य चौकी भवन उद्घाटन, बालमैत्री वडा घोषणा र वडाको प्रशासकीय भवन उद्घाटन गर्दै उनले जे गर्नुपर्ने हो संविधानको परिधिभित्रै रहेर गर्नुपर्ने बताए ।
‘जे गर्नुपर्ने हो संविधानभित्रै बसेर नै आफ्नो कामहरू गर्न सक्नुपर्छ । कसैलाई चित्त बुझेन भन्दैमा संविधानसभाबाट जनप्रतिनिधिले जारी गरेको संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको खिलापमा गएर केही हुँदैन,’ उनले भने, ‘संविधानको प्रभावकारी कार्यान्वयन गर्नुपर्छ । चित्त नबुझेको कुरा छन् भने विधि र प्रक्रियाअनुसार राख्न सकिन्छ । संविधान सशोधन गर्न सकिन्छ ।’
०१७ सालमा गुमेको अधिकार ३० वर्ष लामो संघर्षबाट फिर्ता भएको बताउँदै उनले अहिले प्राप्त अधिकार उसै प्राप्त नभएको बताए ।
अधिनायकवादी व्यवस्थामा नागरिक अधिकार कुण्ठित मात्र नभई विकासको काम समेत हुन नसक्ने विगतको अनुभव सुनाउँदै गणतन्त्रपछि नागरिक अधिकार सुरक्षित भएको र विकासले गति लिएको बताए ।
अघिल्लो पुस्ताले कष्टकर जीवन बिताउनुपरेको अवस्था बिर्सन नहुने भन्दै विकासको काम क्रमिक रूपमा हुने बताए ।