मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय
फैसला कार्यान्वयन

सरकारले जफत गर्‍यो वायुसेवा निगमका पूर्वअध्यक्ष चतुर्वेदीको जग्गा, सेयर र नगद (सूचीसहित)

आइतबार, ३१ चैत २०८१, १७ : ००
आइतबार, ३१ चैत २०८१

काठमाडौँ । सरकारले वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको जग्गा, सेयर र नगद जफत गरेको छ । सर्वोच्च अदालतको २०६८ भदौ २१ गतेको फैसला बमोजिम चतुर्वेदीको जग्गा, सेयर र नगद जफत गरिएको हो । 

तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले चतुर्वेदीलाई भ्रष्टाचारी ठहर गर्दै १ करोड ३९ लाख जरिबाना, विभिन्न चल/अचल सम्पत्तिको जफत र डेढ वर्ष कैद हुने फैसला गरेको थियो ।

फैसला बमोजिम गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले चतुर्वेदी उनको परिवारका सदस्यको बैंक खातामा रहेको नगद, विभिन्न कम्पनीका सेयर र जग्गा जफत गरेको हो ।

फैसलामा चतुर्वेदीको नगद सम्पत्तिमध्येबाट ७७ लाख ५९ हजार ८ सय ३८ रुपैयाँको स्रोत नखुलेको उल्लेख थियो । 

स्रोत नखुलेको नगदमध्य रातोपाटीलाई प्राप्त कागजातअनुसार चतुर्वेदीको एसबीआई बैंकमा रहेको ५७ हजार ६६२ रूपैयाँ ६५ पैसा, नेपाल बैंक लिमिटेडमा रहेको ३२ हजार १२७ रूपैयाँ ३४ पैसा जफत गरिएको छ । उनकी श्रीमती आशाको नाममा नेपाल बैंक लिमिटेड काठमाडौँमा रहेको ३९ हजार २४१ रूपैयाँ २६ पैसा र हिमालयन बैंक लिमिटेड वीरगञ्जमा रहेको खातामा रहेको ७४ हजार ९६१ रूपैयाँ ३६ पैसा जफत गरिएको छ । 

त्यस्तै छोरी अदितीको एभरेष्ट बैंक लिमिटेड, न्युरोडको खातामा रहेको १० लाख रूपैयाँ र छोरा अभिषेकको कृषि विकास बैंक लिमिटेड रहेको खाताको ५० हजार १०८ रूपैयाँ २४ पैसा सम्पत्ति व्यवस्थापन विभागले जफत गरेर सरकारी खातामा ल्याएको हो । अख्तियारले चतुर्वेदीविरुद्ध मुद्दा दायर गरेपछि रोक्का गरेका यी बैंक खातामा भएका रकममा जम्मा भएको ब्याज पनि जफत गरिएको विभागले जनाएको छ । 

chaturbedi 1

त्यस्तै विभागले चतुर्वेदीको नेपाल मेडिकल कलेज काठमाडौँमा रहेको ३० हजार कित्ता सेयर, शिखर पेन्ट्स काठमाडौँमा रहेको पाँच हजार कित्ता सेयर र छोरा अभिषेकको ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा रहेको ३० हजार कित्ता सेयर पनि जफत गरेर सरकारको नाममा ल्याइएको जानकारी दिएको छ । 

विभागले ती सेयरबाट बढे/बढाएको सम्पत्तिसमेत जफत गरिएको जनाएको छ । 

chaturbedi share

काठमाडौँ कोटेश्वरमा रितेज चतुर्वेदी र दिपेन्द्र टण्डनको संयुक्त नाममा रहेको कित्ता नं. ६५ को २ रोपनी ९ आना १ पैसा ३ दाम र कोटेश्वरकै कित्ता नं. ७९१ को २ आना १ पैसा जमिनमध्ये उनको भागमा पर्ने आधा जमिन जफत गरी कसुरजन्य सम्पत्ति विभाग/सरकारको नाममा नामसारी गरेर लालपुर्जा ल्याइसकिएको विभागले जनाएको छ । 

Kathmandu Jafat

 

अदालतको फैसला बमोजिम २०६८ भदौ २८ गते आफैँ अदालतमा उपस्थित भएर जेल गएका चतुर्वेदी ११ महिना ६ दिन पछि जेलमुक्त भएका थिए । उनले सर्वाेच्च अदालतले ठहर गरेबमोजिम १ करोड ११ लाख जरिबाना नगदसमेत बुझाएका थिए ।

चतुर्वेदी २०७८ असोज २१ गते काठमाडौँ–७ बुलबुलेमा निर्माणाधीन आफ्नो घर अगाडि मृत भेटिएका थिए । 

nirnaya 2

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप