मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय
आईपीएल प्रिभ्यू

अपराजित दिल्ली पाँच वर्षअघि मुम्बईसँग फाइनलमा भोगेको हारको बदला लिने धुनमा

आइतबार, ३१ चैत २०८१, १६ : ०९
आइतबार, ३१ चैत २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा आइतबार दुई खेल खेलिँदैछ । पहिलो खेल राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच खेलिने छ । सो खेल नेपाली समय अनुसार, दिउँसो १५ः४५ बजे सुरु हुनेछ ।

दोस्रो खेल दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबिच खेलिने छ । उक्त खेल दिल्लीस्थित अरुण जेट्ली स्टेडियममा नेपाली समय अनुसार, राति १९ः४५ बजे सुरु हुनेछ । जारी सिजनको आईपीएलमा दिल्लीले आफ्नो पाँचौँ र मुम्बईले आफ्नो छैटौँ खेल खेल्न लागेका हुन् । 

दिल्ली क्यापिटल्स सन् २००८ मा आयोजित पहिलो संस्करणदेखि नै आईपीएलमा सहभागी हुँदै आएको छ । आईपीएलमा दिल्लीको यो १८औँ सहभागिता हो । तर, दिल्लीले हालसम्म उपाधिको जित्न सकेको छैन । सुरुवाती संस्करणमा दिल्लीको टोली दिल्ली डेयरडेभिल्सको नामबाट सहभागी भएको थियो ।

दिल्ली हालसम्म एकपटक आईपीएलको फाइनलमा पुगेको छ । सन् २०२० मा दिल्ली प्रतियोगिताको फाइनलमा पुगेको थियो । तर, उक्त संस्करणको फाइनलमा दिल्लीको टोली मुम्बई इन्डियन्ससँग पाँच विकेटले पराजित भएको थियो । 

delhi

यसको विपरीत, आईपीएलको इतिहासमा मुम्बई इन्डियन्स सर्वाधिक सफल टोलीमध्ये एक हो । मुम्बई इन्डियन्सले हालसम्म पाँचपटक आईपीएलको उपाधि जितिसकेको छ । मुम्बईका अतिरिक्त चेन्नई सुपर किङ्सले मात्र पाँच पटक उपाधि चुम्न सकेको छ । 

मुम्बई इन्डियन्सले सन् २०१३ मा पहिलो पटक उपाधि जितेको थियो । फाइनलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई २३ रनले पराजित गरेको थियो । सन् २०१५ मा मुम्बईले दोस्रोपटक उपाधि जितेको थियो । फाइनलमा मुम्बईले चेन्नईलाई नै ४१ रनले हराएको थियो ।

त्यसपछि मुम्बई इन्डियन्सले सन् २०१७ मा उपाधि जितेको थियो । उक्त संस्करणको फाइनलमा मुम्बईले राइजिङ पुणे सुपरजायन्ट्सलाई एक रनले पराजित गरेको थियो । आईपीएलको इतिहासमा यो सबैभन्दा कम रनअन्तरको जित पनि हो ।

मुम्बईले सन् २०१९ मा चौथो पटक उपाधि उचालेको थियो । उक्त संस्करणको फाइनलमा पनि मुम्बईले चेन्नईलाई एक रनले नै हराएको थियो । मुम्बईले अन्तिम पटक सन् २०२० मा उपाधि जितेको थियो । मुम्बईले फाइनलमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराएको थियो ।

जारी आईपीएलमा भने मुम्बईभन्दा दिल्लीको प्रदर्शन निकै अब्बल देखिन्छ । दिल्लीले हालसम्म एक खेल पनि हारेको छैन । मुम्बईको प्रदर्शन भने निराशाजनक छ । त्यसैले दिल्लीका लागि मुम्बईसँग सन् २०२० को फाइनलमा भोगेको नमिठो हारको बदला लिने यो उपयुक्त अवसर पनि हो । 

  • दिल्लीको पाँचौँ र मुम्बईको छैटौँ खेल 

आईपीएलको १८औँ संस्करणमा दिल्ली क्यापिटल्सले आफ्नो पाँचौँ र मुम्बई इन्डियन्सले आफ्नो छैटौँ खेल खेल्न लागेका हुन् । आईपीएलको यो संस्करणमा मुम्बईभन्दा दिल्ली निकै बलियो देखिएको छ । दिल्लीले अघिल्ला चारवटै खेलमा जित हासिल गरेको छ ।

आफूले खेलेको सबै खेल जित्ने दिल्ली एकमात्र टोली पनि हो । दिल्ली आठ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । यसको विपरीत मुम्बईको प्रदर्शन भने निकै निराशाजनक छ । मुम्बईले पाँचमध्ये एक खेलमा जित र चार खेलमा हारको नतिजा निकालेको छ । मुम्बई दुई अंकसहित आठौँ स्थानमा छ । 

  • हेड टु हेडमा मुम्बई अगाडि 

आईपीएलमा हालसम्म दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबिच कुल ३५ खेल खेलिएको छ । त्यसमा मुम्बई केही बलियो देखिन्छ । मुम्बईले १९ खेलमा दिल्लीलाई हराएको छ । दिल्लीले भने १६ खेलमा मुम्बईलाई पराजित गरेको छ । 

अरुण जेट्ली स्टेडियममा हालसम्म यी दुई टोलीबिच कुल १२ खेल खेलिएको छ । त्यसमा भने दिल्ली केही अगाडि देखिन्छ । यो स्टेडियममा दिल्लीले सात खेलमा मुम्बईलाई हराएको छ । पाँच खेलमा मुम्बई विजयी भएको छ । 

  • लयमा छन् दिल्लीका बलर मिचेल स्टार्क

जारी आईपीएलमा दिल्ली क्यापिटल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान केएल राहुल हुन् । उनले हालसम्म टोलीका लागि कुल एक सय ८५ रन बनाएका छन् । दिल्लीका लागि सर्वाधिक विकेट लिने बलर भने मिचेल स्टार्क हुन् । उनले चार खेलमा नौ विकेट लिएका छन् । कुलदीप यादवले पनि चार खेलमा आठ विकेट हात पारेका छन् । 

hardik

  • मुम्बईको सर्वाधिक रन सूर्यकुमारको नाममा

आईपीएलको यो संस्करमा मुम्बई इन्डियन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान सूर्यकुमार यादव हुन् । उनले हालसम्म पाँच खेलमा कुल एक सय ९९ रन बनाएका छन् । मुम्बईका लागि सर्वाधिक विकेट लिने बलर भने अलराउन्डर हार्दिक पाण्ड्या हुन् । उनले चार खेलमा १० विकेट लिइसकेका छन् । 

Feature-Image_-Arun-Jaitley-Stadium

  • ब्याट्सम्यानलाई साथ दिने पिच

दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्सबिच आइतबारको खेल हुने अरुण जुट्ली स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल ८९ खेल खेलिएको छ । त्यसमध्ये ४२ खेलमा पहिले ब्याटिङ गर्ने टोली र ४६ खेलमा जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् । एक खेल भने अनिर्णीत रूपमा सकिएको छ । 

  • छैन वर्षाको सम्भावना 

मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबिच खेल हुने दिन आइतबार दिल्लीमा वर्षाको कुनै सम्भावना नरहेको त्यहाँको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिनभर चर्को गर्मी हुनेछ । दिल्लीको तापक्रम २४ देखि ३५ डिग्री सेल्सियसको बिचमा रहने अनुमान गरिएको छ ।

  • सम्भावित टोली 

दिल्ली क्यापिटल्स : अक्षर पटेल (कप्तान), ज्याक फ्रेजर–म्याकगर्क, केएल राहुल, अभिषेक पोरेल (विकेटकिपर), ट्रिस्टन स्टब्स, समिर रिजवी, आशुतोष शर्मा, विपराज निगम, मिचेल स्टार्क, कुलदीप यादव, मोहित शर्मा र मुकेश कुमार ।

मुम्बई इन्डियन्स : हार्दिक पाण्ड्या (कप्तान), रायन रिकेल्टन (विकेटकिपर), विल ज्याक्स, सूर्यकुमार यादव, तिलक वर्मा, नमन धीर, मिचेल सान्टनर, दीपक चाहर, ट्रेन्ट बोल्ट, जसप्रित बुमराह र विग्नेश पुथुर ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप