मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय
हरिवंश आचार्यसँग कुराकानी

‘देश नै हराएपछि बनाउन गाह्रो हुँदो रहेछ’

आइतबार, ३१ चैत २०८१, २० : ००
आइतबार, ३१ चैत २०८१

लोकप्रिय र बिक्रीमा उच्चतम रेकर्ड राख्न सफल ‘चिना हराएको मान्छे’ का लेखक हरिवंश आचार्य कुशल अभिनेता, गायक र वरिष्ठ हास्य व्यङ्ग्यकार हुन् । पछिल्लो समय उनले ‘महापुरुष’, ‘महाजात्रा’, ‘शत्रुगते’ बाट निकै चर्चा कमाए । ‘बलिदान’बाट हास्यबाहेक विधामा पनि अब्बल कलाकारका रूपमा दरिएका आचार्यले ‘तँ तँ साह्रै बिग्रिस नि बद्री’, ‘जे भो राम्रै भो’लगायत फिल्ममा आफ्नो उत्कृष्ट अभिनय देखाएका छन् । 

उनको अर्को फिल्म आउँदै छन्, २०८२ वैशाख १२ गते सार्वजनिक हुन लागेको चलचित्र ‘भूठान’ । यसमा उनी फरक अवतारमा देखा पर्दैछन् । 

अमेरिकामा सुटिङ गरिएको यस चलचित्रमा कस्तो कथावस्तु समेटिएको छ ? प्रायः हँसाइराख्ने वरिष्ठ अभिनेताले यहाँ कस्तो चरित्र निर्वाह गरेका छन् ? यसै सेरोफेरोमा उनीसँग रातोपाटीले गरेको कुराकानी - 

  • नयाँ अवतारमा आउन लागेको चलचित्र ‘भूठान’ मा कस्तो कथावस्तु छ ? 

भूठान (घर हराएको कथा) संसारभरका आप्रवासीहरूको कथा हो । हाम्रो नजिकैको छिमेकी मुलुक भुटानबाट लखेटिएका नागरिकहरू धेरै वर्ष नेपालमा आश्रय लिएर बस्नुभयो । आफ्नो घर, खेत, देश छोडेर नेपाल बसेको धेरै वर्षपछि उहाँहरूलाई न्युजिल्यान्ड, अमेरिका, अस्ट्रेलियाजस्ता देशमा लगियो । तिनै देशको नागरिकता दिइयो, पासपोर्ट दिइयो । र, नागरिक बनाइयो । भौतिक रूपमा सुख, सुविधा पाउनुभयो होला ।

तर, आफ्नो देशको धर्म, संस्कार, संस्कृति, भाषा छोड्नुपर्‍यो । त्यो उहाँहरूको पीडा हो । मानसिक सुख पाइएन । आफू हुर्केको माटोको सुगन्ध पाइएन । त्यही कथा भूठानमा समेटिएको छ ।

  • ‘चिना हराउनु’ भन्दा ‘घर हराउनुको पीडा’ कति हो कति धेरै हुन्छ है ?

चिना हराउँदा घडी, पला, जन्म मिति सम्झियो भने फेरि लेख्न पाइन्छ । घर हरायो भने पनि अर्को बनाउन सकिन्छ । एउटै मानिसले दुई, चार वटा पनि बनाउँछन् । घर भत्किँदा, बिग्रिँदा अर्को बनाउन सकिन्छ । तर, देशै हरायो भने ? सबैभन्दा ठूलो कुरा देश हो । देश नै हराएपछि बनाउन गाह्रो हुँदो रहेछ ।

  • तपाईंको पुस्तक ‘चिना हराएको मान्छे’ यति चर्चित भयो कि अहिले यसबारे धेरै मिमहरू बनेका छन् । कस्तो लाग्छ ती हेर्दा ? 

कतै टाउको मात्र मेरो हुँदैन, बाँकी जिउ मेरै राखिएको हुन्छ । कतै सिक्री हराएको, कतै इमान हराएको मान्छे भनेर राखिएको हुन्छ । नेताहरूलाई व्यङ्ग्य गरिएको हुन्छ । अस्ति बिचरा उहाँको सिक्री हराएछ । मलाई दुःख लाग्यो । पाइयो कि पाइएन खै ! 

सधैँ दर्शकहरूलाई हँसाइरहनुभयो । गम्भीर कथावस्तु बोकेको चलचित्र ‘भूठान’मा फरक अवतारमा आउनुभयो । यो पात्र निभाउन कत्तिको कठिन भयो ?

जतिसुकै लद्दु विद्यार्थी भए पनि शिक्षक राम्रो भए विद्यार्थीको मनोविज्ञान बुझ्न सक्छ । यो विद्यार्थीलाई कसरी सिकाउँदा उसले सिक्छ भन्ने ज्ञान हुन्छ । चकलेट दिएर हुन्छ कि, फकाएर हुन्छ कि भन्ने कुरा शिक्षकलाई थाहा हुन्छ । चलचित्रमा हरेक कलाकार निर्देशकको विद्यार्थी हो । चाहे उमेरले आफूभन्दा धेरै सिनियर भए पनि ऊ कलाकारको विद्यार्थी हो । 

‘भूठान’ चलचित्रका निर्देशक विनोद जीले मलाई हास्यव्यंग्यको ट्यागबाट बाहिर निकाल्नुभयो । विभिन्न वर्कसप ग¥यौँ । डायलग यसरी बोल्ने भनेर अभ्यास ग¥यौँ । धेरै कुरामा गाइड गर्नुभयो । सुरुमा मलाई प्रोड्युसर अविरल थापाले घरमा आएर स्क्रिप्ट दिनुभयो । यति गहन विषयमा काम गर्न सक्छ भन्ने पत्याएर नै मलाई छान्नुभएको होला । उहाँहरूको गाइडअनुसार काम गरेपछि मलाई सजिलो भयो । 

  • सुरुमा ‘भूठान’ को स्क्रिप्ट हात परेपछि कस्तो लाग्यो ? स्विकार्नुभयो कि समय लाग्यो ?  

मलाई स्क्रिप्ट मन परेपछि खेल्छु नत्र खेल्दिनँ भन्ने सोचेको थिएँ । सुरुमा पढ्दा ठ्याक्कै बुझिनँ । तीन पटक पढेपछि मात्र बल्ल बुझेँ । यसमा काम गर्न पाए राम्रो हुन्छ भन्ने लाग्यो । काम देखाउने ठाउँ छ भन्ने लाग्यो । त्यसपछि चार महिना कपाल र दाह्री काटिनँ । म तयार भएँ । 

  • पारिश्रमिक चित्त बुझ्दो पाउनु भयो ?

एकदमै चित्तबुझ्दो पाएँ । मेरो डिमान्ड रोलमा हुन्छ, पारिश्रमिकमा हुँदैन । प्रोड्युसरले थाम्नै नसक्ने त्यस्तो धेरै डिमान्ड गर्नेमा पर्दिनँ । कति माग्दा ठिक होला भन्ने अन्दाज गर्छु ।

haribansha-acharya (1)

भूठान बनाउने क्रममा उहाँहरूको मिहिनेत, दुःख, कष्ट देखेपछि मैले सुटिङपछि पारिश्रमिक अझ घटाइदिएँ । जब आन्द्रा, भुँडी र मिहिनेत देखेँ । आफैले बुझेर घटाइदिएँ ।

  • सुटिङका क्रममा अमेरिका पुग्नुअघि र पछि भुटानी दाजुभाइहरूलाई भेट्नुभयो होला । अनुभूति कस्तो पाउनुभयो ?

२० दिन अमेरिका बसियो । भुटानी दाजुभाइसँग भेट्दाका यादगार क्षणहरू छन् । अमेरिकाको ओहायोमा ठुलो समुदाय छ । हाम्रो सिनेमामा धेरै सङ्ख्यामा उहाँहरूलाई देख्न सकिन्छ । जो हाम्रै उमेरका हुनुहुन्छ, उहाँहरू घरमै बस्नुहुन्छ । काम गर्नुहुन्न । युवा पुस्ताले काम गर्नुहुन्छ । हामीलाई सय जनाको आवश्यकता पर्दा उहाँहरू आइदिनुभयो । उहाँहरूले हृदयदेखि नै काम गर्नुभएको छ । 

  • भुटानमा जन्मिएर, नेपालमा लामो बसाइपछि अमेरिका पुगेका थुप्रैलाई भेट्नुभयो । आफ्नो देश नहुँदाको पीडा कस्तो हुँदो रहेछ ?

जो सानोमा भुटानबाट नेपाल आउनुभयो, उहाँहरूलाई भुटानको त्यति याद छैन । नेपालकै शिविरमा जन्मिएकाहरू भुटान पुग्नुभएको छैन । उताको सम्झना हुने कुरा भएन ।

सपनाको देश अमेरिका पुगेका भुटानीमध्ये कतिपय धनी बन्नुभएको छ । ठुलो हैसियत बनाउनुभएको छ । जो हाम्रा उमेरका हुनुहुन्छ, उहाँहरूलाई आफूले छोडेको घर, खेतबारी, नातागोता सम्झिएर पीडा हुन्छ । कतिपयले सुसाइड नै गर्नुभएको रहेछ । आफ्नो संस्कृति, भाषा, देश सम्झिएर निकै पीडा हुँदो रहेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र रौले
नरेन्द्र रौले
लेखकबाट थप