मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

नातिनीलाई चप्पल हिर्काउँदा हजुरआमालाई ४ वर्ष जेल सजाय !

आइतबार, ३१ चैत २०८१, १५ : २५
आइतबार, ३१ चैत २०८१

काठमाडौं । आफ्नी १८ वर्षीया नातिनीलाई चप्पलले हिर्काएको आरोपमा टर्कीकी एक हजुरआमा ४ वर्षका लागि जेल जान सक्ने भएकी छन् । यो घटना टर्कीमा भएको हो ।

आसिये कायटान आफ्नी नातिनी भुरालसँग दक्षिणपूर्वी टर्कीको डेनिजलीमा बस्छिन् । नातिनीको बाबुआमा अलग भएसँगै उनले ती नातिनीको हेरचार गर्दै आइरहेकी छन् । तर, गत वर्षको अगस्त ९ मा एउटा नराम्रो घटना घट्छ । 

भुराल कामबाट घर फर्केर आफ्नी ८० वर्षीया हजुरआमालाई साथीसँग बाहिर जान लागेको भनेर भन्छिन् । उनको सुरक्षाका लागि चिन्तित आसियेलाई बाहिर नजान भन्छिन् । 

यो कुराले दुईबिच विवाद बढ्छ । यसैबिच भुराल ढोका खोलेर बाहिर जान खोज्छिन् । तर, आसियेले उनलाई रोक्न घरको चप्पलले हातमा हिर्काउँछिन् ।

यसबाट आक्रोशित भुरालले हजुरआमालाई मोबाइलले हिर्काउँछिन् । यसले आसियेको टाउकोबाट रगत बग्न थाल्छ । यसबाट अत्तालिएकी भुरालले तत्काल एम्बुलेन्स बोलाएर उनलाई अस्पताल लग्छिन् । जहाँ उनको उपचार गरिन्छ ।

तर, यो घरको सानो घटना अन्तर्राष्ट्रिय समाचार नै बन्नेछ भनेर दुवैलाई थाहा थिएन । ‘मेरी नातिनी त्यो साँझ बाहिर निस्कन्छु भन्दै थिइन् । 

मैले उनलाई बाहिर जान नदिन ढोका बन्द गरेँ,’ आसियेले सबाह न्युजलाई भनिन्, ‘जब मैले उनलाई चप्पले हिर्काएँ, उनले पनि मलाई फोनले हिर्काइन् । मेरो टाउकोबाट रगत बग्न थालेपछि उनले मलाई एम्बुलेन्स बोलाएर अस्पताल लगिन् ।’

आसिये या भुराल कोहीले पनि यसबारे प्रहरीमा रिपोर्ट गरेनन् । तर, घटनास्थलमा पुग्ने स्वास्थ्य अधिकारीहरूलाई भने घटनाबारे जानकारी दिइएको थियो । अधिकारीहरूले डेनिजली राज्य अस्पतालमा यसबारे रिपोर्ट फाइल गरे जुन स्थानीय प्रहरीलाई दिइयो ।

त्यसपछि दुवैलाई प्रहरीले सोधपुछका लागि बोलाएको थियो । उनीहरूले बयानका क्रममा यसबारे दुई जनाबिच सहमति भइसकेको र कुनै कानुनी कारबाही अघि नबढाउने स्पष्ट पारे पनि प्रहरीले यसमा सार्वजनिक मुद्दा अघि बढाएको थियो ।

त्यसपछि सरकारी वकिलले ८० वर्षीया हजुरआमाविरुद्ध मुद्दा दर्ता गर्‍यो । मुद्दामा सरकारी वकिलले आसियेले प्रयोग गरेको चप्पललाई ‘हतियार’ को संज्ञा दिँदै नातिनीले आत्मरक्षाका लागि मोबाइल प्रहार गरेको जिकिर गरेका छन् । ८० वर्षीया वृद्धामाथि नातिनीको स्वतन्त्रता हनन गरेको पनि आरोप लगाइएको छ । यसमा अधिकतम १४ वर्षको सजाय हुने व्यवस्था छ ।

गत फेब्रुअरी २५ मा क्रिमिनल कोर्टले आसियेलाई नातिनी स्वतन्त्रता हनन गरेको आरोपमा २ वर्ष ६ महिना र हतियार बोकेको आरोपमा थप २ वर्ष ६ महिना कैद सजाय सुनाएको थियो । पछि, सजायलाई ४ वर्ष २ महिनामा झारियो ।

अहिले आसियेका वकिलले सो आदेशविरुद्ध पुनरावेदन गरेका छन् । यदि पुनरावेदन अदालतले यो सजायलाई सदर गर्‍यो भने उनी जेल जान बाध्य हुनेछिन् ।

‘८० वर्षको उमेरमा अब म जेल जानु ?, त्यो पनि घरको चप्पलले हिर्काएको कारणले । म त्यहाँ कसरी बस्ने होला ?’ आसियेले भनिन्, ‘मलाई थाहा थिएन घरको चप्पल पनि हतियार हो भनेर ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप