उपाधिबाट चुक्यो नेपाल, फाइनलमा कुवेतसँग तीन रनले हार्यो

काठमाडौँ । नेपाली टोली हङकङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिबाट चुकेको छ । नेपाली टोली आइतबार खेलिएको रोमाञ्चक फाइनल खेलमा कुवेतसँग तीन रनले पराजित भएको हो ।
टस हारी ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ७४ रन बनाएको हो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १९.३ ओभरमा अलआउट हुनुअघि एक सय ७१ रनमात्र बनाउन सक्यो ।
हारको निकट पुगिसकेको नेपाललाई बसिर अहमद र नन्दन यादवले जितको आश दिएका थिए । नेपालले ९२ रनको कुल स्कोरमा आठ विकेट गुमाइसकेको थियो ।
त्यसपछि बसिर अहमद र नन्दन यादवले टोलीको स्कोरलाई एक सय ६४ रनको स्थितिसम्म पुर्याएका थिए । तर, १८.४ ओभरमा नन्दन यादव ३७ रन बनाउँदै आउट भएपछि नेपाल उपाधिबाट बञ्चित भएको थियो ।
नन्दनले केवल १४ बलमा चार छक्का र दुई चौका हिर्काएका थिए । बसिर अहमद भने अन्तिम विकेटका रुपमा ८० रन बनाउँदै पेभेलियन फर्किए । बसिर अहमद आउट हुनुअघि नेपाललाई जितका लागि चार बलमा चार रन आवश्यक थियो ।
ललित राजवंशी शून्य रनमा अविजित रहे । बसिर अहमद र नन्दन यादवका अतिरिक्त ओपनर आसिफ शेखले मात्र नेपालका लागि दोहोरो अंकमा रन बनाउन सके । विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले २१ रन बनाए ।
उनले ११ बलको सामना गरी एक छक्का तीन चौका हिर्काए । नेपाली टोलीका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । लिग चरणको खेलमा उत्कृष्ट प्रदर्शन गरेका ओपनर कुशल भुर्तेल फाइनलमा केवल तीन रन बनाउँदै आउट भए ।
कप्तान रोहित पौडेल पनि सात रनभन्दा अगाडि बढ्न सकेनन् । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले त खातासम्म खोल्न सकेनन् । कुवेतका बलर अनुदीप चेन्थामराले तीन विकेट लिए । यासिन पटेल र नविनराज राजेन्द्रनले पनि दुई/दुई विकेट हात पारे ।
त्यसअघि कुवेतका लागि ओपनर ब्याट्सम्यान रविजा सन्दरुवानले अर्धशतकीय पाली खेलेका थिए । रविजाले ६३ रन बनाए । उनले यसक्रममा केवल ३६ बलको सामना गरी चार छक्का र ६ चौका हिर्काए ।
अर्का ओपनर क्लिन्टो एन्टोले पनि २७ रन जोडे । नेपाली टोलीका बलर सोमपाल कामी र नन्दर यादवले दुई/दुई विकेट लिए । करण केसी र कुशल भुर्तेलले पनि एक–एक विकेट हात पारे ।
लिग चरणमा नेपाल पहिलो र कुवेत दोस्रो हुँदै प्रतियोगिताको फाइनलमा पुगेका थिए । लिग चरणमा नेपालले तीनमध्ये दुई खेलमा जित हात पारेको थियो ।
नेपाल र हङ्कङबिचको खेल भने वर्षाका कारण अनिर्णित रुपमा सकिएको थियो । कुवेतले भने तीनमध्ये दुई खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । लिग चरणको खेलमा नेपालले कुवेतलाई पनि ६ विकेटले हराएको थियो ।
जारी शृंखलामा आयोजक हङ्कङ तेस्रो भयो । तेस्रो स्थानका लागि आइतबार नै खेलिएको खेलमा हङ्कङले कतारमाथि एक रनको रोमाञ्चक जित हासिल गर्यो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ८८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कतारले भने निर्धारित ओभरमा पाँच विकेट गुमाए एक सय ८७ रनमात्र बनाउन सक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
धनगढी हाफ म्याराथनको उपाधि सेनाका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने