मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

सियरा लियोनको राष्ट्रपति भवनमा आगलागी

आइतबार, ३१ चैत २०८१, १३ : २५
आइतबार, ३१ चैत २०८१

फ्रिटाउन । सियरा लियोनको मध्य फ्रिटाउनस्थित राष्ट्रपति भवनभित्र शनिबार आगलागी भएको प्रत्यक्षदर्शी र सरकारले बताएका छन् । आगलागीका समयमा राष्ट्रपति जुलियस माडा बायो घटनास्थलमा नभएको बताइएको छ । 

राष्ट्रपति बायो एक सम्मेलनमा भाग लिन हाल टर्की भ्रमणमा रहेका छन् । अग्निनियन्त्रकहरूले पाँच घण्टापछि आगो नियन्त्रणमा लिएको दमकल सेवाका एक वरिष्ठ अधिकारीले एएफपीलाई बताए ।

आगलागीबाट कोही पनि हताहत नभएको तर भवनमा रहेका कागजपत्र र फर्निचर जलेर नष्ट भएको अधिकारीहरुले बताएका छन् ।  स्टेट हाउसको तेस्रो र चौथो तल्लामा विस्फोट भएको र दोस्रो तल्लामा रहेको राष्ट्रपतिको कार्यालयमा भने केही नभएको सूचना मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय समयअनुसार अपराह्न ४ : ०० बजे  (स्थानीय समयअनुसार १६ः ०० बजे) सुरु भएको आगलागीको कारण खुल्न नसकेको बताइएको छ । सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोमा ठूलो सेतो भवनको माथिल्लो तलाको झ्यालमा आगोको ज्वाला र बाक्लो कालो धुवाँको मुस्लो देखिएको छ ।

स्थानीय बासिन्दा मोहम्मद कामाराले एएफपीसँग भने, ‘शनिबार साँझ भवनको झ्याल र माथिल्लो तलाबाट धुवाँ र आगो निस्केको देखिएको थियो ।’ प्रहरीले भवन वरपरका सडकलाई घेराहालेर सुरक्षाकर्मी र सैनिक परिचालन गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप